काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै गएपनि आयात र खपत दर आरोलो लागेको छैन । मूल्य वृद्धिबाट उपभोक्ता प्रताडित छन् भने उच्च मूल्य राखेर विक्री गर्दा समेत ठूलो घाटा सहनुपर्दा नेपाल आयल निगम वित्तीय जोखिममा छ । पेट्रोलियम पदार्थको बढ्दो समग्र अर्थतन्त्रमा नै धक्का दिने जोखिम देखिएको छ ।
यसैकारण अर्थतन्त्र र वाणिज्य मामिलाका जानकारहरुले पेट्रोलियम पदार्थको खपत घटाउने गरी गृहकार्य थाल्नुपर्ने बताउन थालेका छन् । सरकारले केही अवधिका लागि बाध्यकारी र प्रोत्साहनमुलक व्यवस्थाहरु गर्न सक्ने उनीहरुको भनाइ छ ।
नेपाल आयल निगमको नयाँ तथ्याङ्कअनुसार हरेक दिन १ अर्ब २३ करोड ३५ लाख रुपैयाँको डिजेल, पेट्रोल र खाना पकाउने ग्याँस आयात गर्छ । कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य थप बढ्ने प्रक्षेपणका कारण यस्तो खर्च अझै बढ्ने निगमको अनुमान छ ।
यही बेला वस्तु आयातमा बढेको बढ्यै छ, विदेशी मुद्रा सञ्चिति कमजोर अवस्थामा पुगेको छ । भुक्तानी सन्तुलन बिग्रिएका कारण पेट्रोलियमले अर्थतन्त्रलाई थप गम्भीभरतातर्फ धकेल्ने जोखिम रहेकाले अब विकल्प सोच्नुपर्ने विज्ञहरु बताउँछन् ।
रुस र युक्रेन युद्धका कारण सृजित पछिल्लो अवस्थाले कच्चा तेलको मूल्य अझै बढ्ने अनुमान गरिएको छ । रुसकै दाबीअनुसार कच्चा तेलको मूल्य तीन सय डलर पुग्यो भने उत्पन्न हुने भयवह अवस्थाका लागि भने नेपाल अझै तयार देखिंदैन् ।
अत्यवश्यक दैनिक प्रयोगको वस्तु खाना पकाउने ग्याँसको विकल्पमा विद्युतीय चुल्हो सहितका उपकरण उपलब्ध छ । तर त्यसको प्रयोग बढ्न सकेको छैन ।
निजी सवारीको आयात बढिरहेकाले पेट्रोलको खपत पनि त्यही दरमा बढ्दैछ । पेट्रोलको प्रयोग निजी सवारीका बढी हुने भएकाले हालको अवस्थामा पेट्रोल खपतलाई निरुत्साहन गर्न सकिने अवस्था पनि छ ।
नेपाल आयल निगमको नयाँ तथ्याङ्कअनुसार नेपालीले पेट्रोल र ग्याँसमा मात्रै दैनिक ५३ करोड ३५ लाख रुपैयाँ खर्च गरिरहेका छन् ।
निगमले गत साता भारतीय आयल कर्पोरेसनबाट खरिद गरेको मूल्यअनुसार डिजलमा दैनिक ७० करोड, पेट्रोलमा दैनिक ३२ करोड २० लाख र खाना पकाउने ग्याँसमा २१ करोड ३५ लाख रुपैयाँ खर्च हुन्छ ।
पेट्रोल डिजेल खाना पकाउने ग्याँस जम्मा दैनिक खरिदमा बाहिरिने रकम ३२ करोड २० लाख ७० करोड २१ करोड ३५ लाख १ अर्ब २३ करोड ३५ लाख
दैनिक पेट्रोलियममा बाहिरीने रकम । स्रोतःनेपाल आयल निगम
निगमका नायव कार्यकारी निर्देशक एवम् आर्थिक विभाग प्रमुख नागेन्द्र साहकाअनुसार नेपालमा दैनिक २० लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजलको बिक्री हुन्छ ।
अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर १६.२८ रुपैयाँ घाटा परिरहेको छ भने सार्वजनिक सवारी, उद्योग र आयोजनाहरुमा बढी प्रयोग हुने डिजलमा ११.७८ रुपैयाँ घाटा छ । ग्याँसमा मात्रै निगमले एक सिलिन्डरमा ६६५.३४ रुपैयाँ घाटा सहिरहेको छ ।
प्रतिक्रिया