देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहिबार सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो

देशान्तर

काठमाडौं – सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीवारको सेयर बजार दोहोरो अंकले घटेको छ।

बुधवार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीवार १४.७० अंकले घटेर दुई हजार पाँच सय ५६.९६ बिन्दुमा झरेको छ। बिहीवार बजारमा तीव्र उतारचढाव देखिएको थियो। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ।

बुधवार दुई अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीवार जम्मा दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज सबैभन्दा बढी कारोबार गर्ने अधिकांश वाणिज्य बैंक छन्।

बिहीवार सानिमा, माछापुच्छ्रे, नबिल र सिद्धार्थ बैंक बढी कारोबार गर्नेको अग्रस्थानमा रहेका छन्। जसमध्ये सानिमा बैंकको सबैभन्दा बढी अर्थात २७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, दोश्रो स्थानमा रहेको माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँ, तेश्रोमा रहेको नबिलको ९ करोड ६४ लाख र सिद्धार्थ बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

दोहोरो अंकले घटेको बजारमा पनि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बिहीवार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.८७ प्रतिशतले घटेको छ।

बुधवारको तुलनामा संस्थाको सेयर मूल्य १७.६० रुपैयाँले घटेर प्रतिकित्ता दुई सय ८२ रुपैयाँमा झरेको छ। बजारमा म्युचुअल फण्ड र अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन्।