देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले के गर्‍यो निर्णय ?

देशान्तर

काठमाडौं । सरकारले शुक्रबार काठमाडौंका तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषीउपर कारवाही गर्ने निर्णय गरेको छ ।

शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौँ असान्त भएपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बसेको थियो ।

‘पूर्वराजाहरुका समर्थकहरुद्धारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा नीजि, सार्वजनिक एवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय साथै संंचार गृहहरुमा भएको तोडफोड, आक्रमण र तोडफोड गरी एवम अन्तार्राष्ट्रिय विमान स्थल जस्तो संवेदनशिल क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यान लिनेजस्ता अमानवीय र गैरकानुनी कार्य भएकोप्रति नेपाल सरकार घोर भत्र्सना गर्दछ,’ सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ।

उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको सुनाए । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि उनले बताए । मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःख व्यक्त गरेका छन् ।

शुक्रबार बेलुका बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।

काठमाडौँको तीनकुने, जडिबुटी, कोटेश्वर क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि आकस्मिक बैठक बोलाइएको हो ।