देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रजातन्त्र सेनानी माथवर सिंह बस्नेतको निधन

देशान्तर


काठमाडौं – प्रजातन्त्र सेनानी, पुर्नजागरण पत्रिकाका संस्थापक संपादक, गणेशमान बाटिकाका अध्यक्ष एवं देशान्तरका स्तम्भकार माथवर सिंह बस्नेतको निधन भएको छ।

अस्ति साँझ ५ बजे बस्नेतलाई मस्तिष्कघात भएको थियो। उपचारका क्रममा उनको आज विहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका क्रममा निधन भएको हो । पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ ।

२००४ साल माघ २६ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा जन्मिएका बस्नेत नेपाली कांग्रेसका एक निष्ठावान कार्यकर्ता थिए । २०२५ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका उनले प्रजातन्त्र पुनःस्थापनाका आन्दोलनमा खेलेको भूमिकाका कारण २०२८ सालमा ९ महिना नजरबन्दमा परे । त्यसपछि २०२९ सालको विद्यार्थी आन्दोलनमा पक्राउ परी तीन महिना हिरासतमा रहेका थिए ।

२०३० सालमा सशस्त्र आन्दोलनकै क्रममा पक्राउ परी जन्मकैदको सजाय भोग्नुपरेका बस्नेत २०३७ सालमा जेलमुक्त भएपछि बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि अभियानमा जुटेका थिए । २०३८ सालदेखि उनले पुनर्जागरण मासिक पत्रिकाको सम्पादन तथा प्रकाशनमार्फत प्रजातन्त्रप्रति आफ्नो अडान कायमै राखेका थिए ।

२०४२ सालको सत्याग्रहमा चार महिना जेल बस्नुपरेका बस्नेतले लौहपुरुष गणेशमान सिंहको जीवनमा आधारित मेरो कथाका पानाहरू शीर्षकको ६०० अंशमा धारावाहिक रूपमा प्रकाशन गरेर पत्रकारिता क्षेत्रमै महत्वपूर्ण योगदान गरेका छन् ।
नेपाली कांग्रेस भक्तपुरको संगठन निर्माणमा पनि अतुलनीय योगदान गरेका बस्नेत देशान्तर साप्ताहिकको अन्तिम पृष्ठको प्रिय अप्रिय नियमित स्तम्भकार थिए ।

देशान्तरको चैत ३ गते आइतबारको अंकका बस्नेतले लेखेको ‘फेला पर्‍यो, हराएको इतिहास ! खुल्यो लोमहर्षक कथा’ शीर्षक नै अन्तिम लेख बनेको छ ।

स्व. बस्नेतले नेपाली पत्रकारिता, प्रजातन्त्र स्थापनाका लागि उल्लेखनीय योगदान पुर्‍याएका छन् । उनको निधनले देशले एक कर्मठ व्यक्तित्व गुमाएको छ।

देशान्तर मिडिया परिवार उनको वैकुण्ठ वासको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछ । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ।