देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विधिको आसन, जङ्गली शासन !


चित्लाङ पूर्व माथिल्लो डाँडो चन्द्रागिरि
त्यहाँबाट हेर्दा देखिने परैसम्म फैलिएको
हरियोपरियो धानको बाला झुलेको फाँट
लोभलाग्दो काठमाडौँ उपत्यका
एकीकरणको सपना !
साकार ‘अलकापुरी कान्तिपुरी नगरी’
अहिले फाँट घट्दै गएर बनेको कङ्क्रिट–जङ्गल
जे बने पनि, जे भए पनि, शक्तिको समउँचाइ यही हो

फगत आकृति बदलिएको
शासक पङ्क्ति र आसेपासेको सदा झैँ पहिलो प्राथमिकता
कम्पाउन्ड भित्र पूर्ण सुसज्जित घर बङ्गला यहाँ हुनै पर्ने
गाडी हुनुपर्ने, मिलाउन सके साथमा पिसिओ पनि
राजनीतिमा हुनुको आवरण, यो नयाँ अर्थ
गइसक्यो टंक प्रसाद र बीपी युग
प्रधानमन्त्रीबाट हटेपछि सुरक्षाविहीन भएर पैदल हिँड्ने
अनाम, बेमान, बदनाम जुनसुकै नाम राखेर पनि
मिसन, रिलेसन, कमिसनमा आएका यस्ता कति घरहरू
अरूकै नामबाट किन नहोस्,
खरिद बिक्री भइरहेका, नोट आइरहेका
अर्बौंको जग्गाको खरिद
राज्यको के तागत शासकको खरिद स्रोत खोज्ने
गफैको लागि भए पनि
अब त पार्टीले भाडा तिरेको छ भन्न पनि छोडिसके
किनकि ढाक्ने ठाउँ नभएर सबै उदाङ्ग, यी सब उदाङ्ग छन्।

शब्दसँग चिप्लेटी खेलेर
लुटपाट पचाएका निर्लज्जहरू
निरीह बन्दै गएका जनताको लागि
झन् कडा भन्दा कडा नियमहरू
महिनौँ चल्ने निषेधाज्ञाको पोको
यिनीहरूको लागि के नियम, के कानुन
गोजीको सुपारी सरह बनाइसकेका
जहिले चाह्यो झिक्न मिल्ने
जहिले चाह्यो क्वाप्प मुखमा हाल्न मिल्ने
सुशासनको गफ ठटाउनेले लिएको कानुनको हुर्मत
अहिलेसम्म सम्पत्ति विवरण दिएका छैनन्

प्रधान न्यायाधीशले सत्तामा भाग माग्ने
प्रधानमन्त्रीको वरद अभिभावकत्वमा भ्रष्टाचार हुने
राज्य संयन्त्रहरू भोटे कुकुर जस्तो बनाइएका
चार्ज भन्ने बित्तिकै मध्यरातमा चार्ज गर्न दौडिनुपर्ने
अघिपछि शासकसँग फ्वाँ फ्वाँ गरेर बस्नुपर्ने
कानुन लाग्ने नलाग्ने कानुन अनुसार होइन
सत्ताको आवश्यकता अनुसार मात्र
त्यो आवश्यकता अनुसार मुद्दा कमजोर पार्न सकिने
वाइज्जत उन्मुक्ति पाइने
मुद्दा फिर्ता पनि लिन लगाउन मिल्ने
सबै साँचो आफैसँग बाँधेर राखे जस्तो
तह लगाउने जति संयन्त्रहरू छन्
शासकले आफैसँग राख्नुपर्ने
विधिसम्मत रूपमा काम गर्न त्यसलाई छोड्न नमिल्ने
तर विधिको शासनको गफ चाहिँ गरिरहनुपर्ने।

गणतन्त्रको खिर निर्धक्क खानेहरू –
सुन खाने, चिहानको जग्गासम्म खाने,
बिजुली खाने, दूरसञ्चार खाने, नोट खाने, भ्याट खाने
आफै शासक हुँदा नक्कली मोही खडा गरेर जग्गा खानेले
अरू तीन शासकले खाएको अर्बौँको हिसाब लिएर बसेका छन्
राज्यको खर्बौँ रकम गएको छ
तर मुलुकभर निर्माण कार्य प्राय ठप्प
कारण ठेकेदार वा ठेकेदारका मन्त्रीहरू भएर
भाग शान्ति बढाउँदै लैजानुपर्ने हिसाब किताबको मिलानमा
यस क्रममा सुस्त मात्र होइन भाँसिँदै गएको अर्थतन्त्र
जनतालाई २७ खर्बको ऋण बोकाएर
अर्थतन्त्रलाई नै धराशायी गर्दै लगिएको
लुटपाट बढेर समग्र उत्पादकत्व नै ह्रास भएर गएको
लोभप्रदत्त कारणले हाम्रा आर्थिक कुसनहरू ध्वस्त भएका
तर चटके गफ चालु छ – असाधारण काम भएको छ भनेर
एउटै मात्र एजेन्डा विकासको भनेर
सोच नभएको, अनि कामातुरसरहको लुटपाटमा के विकास हुन्छ ?

३३ वर्ष अगाडि सरकार हाँक्नेले अर्थतन्त्रको झुटो तथ्याङ् पेश ग¥यो
५६ दिन संसद अवरुद्ध गरे
आज तिनीले नै मिथ्याङ्क पेश गर्नेसँग मिलेर सरकार हाँकेको बेला
निपूर्ण बनेका तथ्याङ्क, मिथ्याङ्क र मानकसँग खेल्ने कलामा
दुई वर्ष किन?
२६ वर्ष अगाडि सरकार हाँक्न आउँदा
११ दिनमा नै जारी गरेको आर्थिक स्थिति प्रतिवेदन
मानकहरू ऋणात्मक हुने त कुरै भएन
सबै समग्र आर्थिक सूचकाङ्क असाधारण
कृषि उत्पादन वृद्धि, औद्योगिक उत्पादन वृद्धि, विकास खर्च बढेको
राजस्व बढेको, मुद्रास्फ्रिती घटेको
व्यापार घाटा घटेको, चालु खाता बढेको विदेशी मुद्राको सञ्चय बढेको
११ दिनमा नयाँ अर्थतन्त्रको उत्पत्ति र विकास
असाधारण समृद्धि बोकेर
मिथ्याङ्कसँग खेलेको निर्लज्जताको पराकाष्ट यो भन्दा के हुने?
शासकले जे बोल्यो त्यो आर्थिक विकास मान्नुपर्ने
विकासको न्यानो महसुस गर्न नपाइने

यो भोगेको नेपाली जनताले के भन्ने शासकको लहडलाई ?
जनतालाई दिगभ्रमित पार्ने रहरलाई ?
अनवरत भएको गफको उत्पादन वृद्धिलाई ?
शासकको म्युजिकल चेयरको अदली बदलीमा हाल बसेका भन्छन् –
के खान्छु र म ?
एउटा रोटी र अलिकति तरकारी
कतिलाई त्यति खाने पनि नसिब छैन
उमेरले गर्दा, औषधिले बचाएको
दीर्घ बिमारीमा पर्दा
तर कुबेर बनेका शासकको धनको भोक कहिले अघाएन।

अन्तले कोरलिदिएका यी
होली वाइनको चुस्कीमा गणतन्त्रको खिर खाइरहेकाहरू
खाँदा खाँदा अजीर्ण भएर ड्याउव ड्याउव गर्दा
सर्वत्र गन्धपुर छ
तर गजब –
हाम्रो प्रधानमन्त्रीलाई गन्ध नै आउँदैन
के रूफ सम्मै गन्ध प्रुफ छन् उनी ?

पानी परेपछि बाहिर आउनै पर्ने
उग्रेपछि पानीमा जानै पर्ने
सधैँको मेटिङ कल उसको
ट्वार ट्वार! ट्वार ट्वार!! ट्वार ट्वार!!!
नेपाली भनाइ छ – ‘अहंकारी भ्यागुताको ट्वार ट्वारै ठुलो’
विधिको शासन र जनताको नाउँको ट्वार ट्वार
अनवरत चलिरहेछ, कहिले नरोकिइकन
जनतालाई नै विकास र समृद्धिको ‘कुहिरोको काग’ बनाएर

बाम बनेर दाम खाने भारु रामहरू
समाजको अगुवा बनेर डलर खाने स्वनामधन्यहरू
विगत सुनाएर मुलुकको वर्तमान मासेर खानेहरू
टन्न मासु खाएर एकादशीको पण्डित्याइँ कति गर्छौ ?

संविधानमा मात्र लेखेर के हुन्छ?
राणाको संविधानमा पनि लेखिएको थियो
व्यक्तिगत स्वतन्त्रता, वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता,
भेला हुने स्वतन्त्रता, छलफल गर्ने स्वतन्त्रता
कानुनको नजरमा सब बराबर भएको घोषणा
तर त्यसको के अर्थ रह्यो र?
लेख्नु हो लेखिदिए जन–चङ्गा उडाउन
न स्वतन्त्रता थियो, न विभेद गयो
हुकुमी शासन नै त थियो त्यो।

हतार हतार कर्मकाण्ड पूरा गराइएको एक थान संविधान –
आधुनिक पद्धतिको सम्पूर्ण जामा लगाइदिएको
के छैन यसमा?
तर सर्वत्र बदनियत पोतेका यी
यसको आत्मा मारेर नाचिरहेका –
कहिले चतुर्मुखी, कहिले तीनमुखी कहिले दुईमुखी, कहिले एक
परिष्कृत हुकुमी शासन नै छ अहिले पनि
ध्वस्त पारिएको राज्य संयन्त्रको नियन्त्रण र सन्तुलन प्रणाली
कसले कसलाई नियन्त्रण र सन्तुलन गर्ने ?
यो घनघोरको प्रतिस्पर्धात्मक भाग शान्तिमा
अनि के को प्रजातन्त्र ?
पार्टीका मुसदण्डले खुल्लमखुल्ला
पुलिस पिट्न थाले
खुला आकाशमुनि जनता पिट्न थाले
अनि के को विधिको शासन ?

हिजोको हुकुमी शासन बदलियो
स्वरूप बदलियो, आकृति र सम्प्रेषण बदलियो
तर लुटपाट बदलिएन
हिजो हाकाहाकी लुट्थे बचेको
तर मुलुक सकेर होइन
आज भ्याएसम्म लुटिरहेका छन् मुलुक नै सकेर
सत्ताको लागि किस्ता किस्तामा नागरिकता नै बाँडेर
नदीनाला दिएर
डलरको लोभमा, सत्ताको मोजमा
प्रभुसत्तासँग सम्झौता गरेर
नाङ्गै बनेर लुटिरहेका छन्
नाम दिएका छन् – ‘नीतिगत’ र ‘कानुन सम्मत’
अनवरतको गफ छ संविधान र विधिको शासनको
तर रूपान्तरण गरेका छन् जनता मारेर दाम कमाउने शासनमा
यसलाई जङ्गली शासन नभनेर के भन्ने ?