देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देश पुरानो अवस्थमा फर्किन सक्दैन-मोहनविक्रम सिंह

देशान्तर


नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सबै मिलेर अहिलेको व्यवस्थालाई झनै बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । अहिले व्यवस्थामाथि प्रहार भइरहेको उल्लेख गर्दै उनले सबै मिलेर संविधान संशोधनमार्फत देशलाई अग्रगमनको दिशामा लैजान जोड दिए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले महामन्त्री सिंहसँग उनको पछिल्लो साहित्यिक कृति जलजला र समसामयिक राजनीतिक विषयमा गरेको कुराकानीको सम्पादित अंश ।


मैले तपाईंलाई साहित्यकार भनेर चिनौँ कि राजनीतिज्ञ भनेर ?

सुरुदेखि नै मेरो राजनीति र साहित्य दुवै कुरामा रुचि रहेको छ । राजनीतिमा २००७ सालमा आएँ । त्यतिबेलादेखि नै मेरो साहित्यप्रति रुचि रहेको छ । त्यसैले मेरा दुवै धाराहरू जीवनमा सँगसँगै अघि बढ्ने गरेका छन् । त्यस अर्थमा मलाई कुन रूपमा चिन्ने भन्ने कुरा पाठक र समालोचकहरूमाथि निर्भर रहने कुरा हो ।

जलजला’ उपन्यास बजारमा आइसकेपछिको प्रतिक्रिया के पाउनुभएको छ ?
मेरो उपन्यास जलजला बजारमा आएपछिको प्रतिक्रिया उत्साहवद्र्धक छ । धेरैतिरबाट समर्थन प्राप्त भएको छ । राजनीतिक सहकर्मी वामपन्थीहरूबाट र अर्कोतिर साहित्यकारहरूबाट पनि उत्साहजनक समर्थन प्राप्त गरेको छु ।

जलजला उपन्यासको कथावस्तु र मूल सन्देश के हो ?
यसमा सुरुमै लेखिएको छ, यो प्रेमको कथा हो । त्योभन्दा पनि विश्वको दर्शन हो । यसमा दुवै पक्ष समावेश भएपछि प्रेमका सम्बन्धमा यस उपन्यासले उच्च रूपमा व्याख्या गरेको छ । उपन्यासमा भनिएको छ, संसारमा सबैभन्दा उच्चतहको प्रेम भनेको आमाले सन्तानलाई गर्ने हो । त्यो प्रेम नै संसारको सर्वश्रेष्ठ प्रेम हो । किनभने आमाले आफ्ना सन्तालाई प्रेम कुनै स्वार्थ वा कारणले होइन, निःस्वार्थभावले काम गर्छन् । जुन प्रेम निःस्वार्थभावले गरिन्छ, त्यो नै सर्वश्रेष्ठ हो । त्यसका साथै प्रेमी–प्रेमिकाहरू र पछि पति–पत्नीहरूले एक–अर्कालाई निःस्वार्थ रूपले प्रेम गर्छन्, त्यसको पनि उच्च महत्व छ । यद्यपि व्यवहारमा त्यस्तो हुँदैन । कैयौँको प्रेम स्वार्थमाथि आधारित हुन्छ । त्यसका साथै उपन्यासले अर्को प्रेमको पनि चर्चा गरेको छ । आमाको सन्तानप्रति र प्रेमी–प्रेमिकाबीचको प्रेम व्यक्तिका रूपमा हुन्छ । त्योभन्दा उच्च प्रेम हो, सम्पूर्ण समाजको प्रेम नै सबैभन्दा माथिल्लो प्रेम हो । उपन्यासले खालि पार्टीका कार्यकर्ताहरूको मात्र होइन, यसमा प्रेमी–प्रेमिकाले आफ्नो सम्पूर्ण जीवनलाई क्रान्तिका लागि समाजको हितका लागि बलिदान गरेको देखाइएको छ ।

कथालाई नेपालदेखि युरोप हुँदै अन्तरिक्षसम्म पु¥याउनुभयो, आम पाठकले बुझ्छन् ?
यसमा नेपाल, भारत, युरोप हुँदै अन्तरिक्षसम्मको प्रेमलाई माथि उठाउन प्रयत्न गरेको छु । उपन्यासको सुरुमै एउटा वाक्य लेखेको छु । ‘व्यक्ति र विश्व’को बीचमा घनिष्ठ सम्बन्ध हुन्छ । दुवै एक–अर्कासँग मिलेका हुन्छन् । त्यही अर्थमा हामीले विश्वलाई हेर्नुपर्छ । उपन्यास पनि त्यही दार्शनिक मान्यतामाथि आधारित छ । व्यक्ति व्यक्तिमात्र होइन, विश्व पनि हो । विश्व विश्वमात्रै होइन, त्यो व्यक्ति पनि हो भन्ने कुरा उल्लेख गरिएको छ । यही दार्शनिक मान्यताको आधारमा यो उपन्यासको सम्पूर्ण संरचना तयार पारिएको छ । उपन्यास नेपालका धेरै भागहरूमा पुग्छन्, भारत, कुमाउदेखि लिएर युरोप र अन्तरिक्षसम्म पुग्छ । यसैगरी ज्ञात अज्ञात विश्वलाई पनि यसले समेट्ने प्रयास गरेको छ । यसैका आधारमा उपन्यासका पात्र र कथानलाई पनि त्यही आधारमा प्रस्तुत गर्न खोजिएको छ ।

कथानकको मुख्य पात्र ‘जलजला’ तर उनी नै कम देखिनुको मुख्य कारण के होला ?
उपन्यासमा तपाईंले पढ्नुभयो भने मुख्य पात्र जलजलाको भूमिका एकदमै कम छ । जलजला र अजितको प्रेमको चर्चा छ । अजितको भूमिका अझ त्योभन्दा पनि कम छ ।
अजित त अझ पहिलो र अन्तिम अध्यायमा मात्रै देखिन्छन् ?
हो । त्यसैले जलजला र अहितको प्रेम छ । पहिलो अध्यायमात्रै देखिन्छन् र त्यसपछि उनीहरूको कहीँ भेटघाट हुँदैन । खालि चर्चामात्रै हुन्छ । त्यसरी हेर्दा प्रेम त्यहाँ अदृश्य छ । त्यो भएर पनि सबैतिर व्याप्त छ । किन भने उनीहरूको प्रेम सम्बन्ध प्रत्यक्षरूपमा न जोडिए पनि चर्चा भने भइरहन्छ । उनीहरू भावनात्मक रूपले मात्रै जोडिएका छन् ।

उपन्यासमा उल्लेख गरेको अष्टमातृका भनेको के हो ?
अष्टमातृका भनेको हिन्दू देवीको रूपमा चर्चा गरिएको हो । अष्टमातृकाहरू, जस्तो काठमाडौं, भक्तपुरमा अष्टमातृकाको पूजा गरिन्छ । वास्तवमा उनीहरू हिन्दूदेवी मात्र होइनन्, प्राचीनकालदेखि अर्थात् पूर्व हिन्दूकालदेखि नै उनीहरूको पूजा हुँदै आएको छ । त्यो नारीको पूजा हो । आमाको अर्थात् मातृको पूजा हो । यो विश्वव्यापी रूपमा छ । यद्यपि पछि गएर नारीलाई पुरुषको अधीन बनाइदियो । एकप्रकारले भन्ने हो भने दासी बनाइदियो । त्यही पनि समाजमा प्राचीनकालदेखि आमाको पूजा हुँदै आएको छ । त्यसलाई हामी अष्टमातृकाको रूपमा लिन्छौँ । हिन्दूहरूमा कैयौँ देवीहरूको पूजा गरिन्छ । त्यसको यसमा चर्चा गरिएको छ । त्यसैले यसमा नारीलाई उच्चरूपमा सम्मान गरिएको छ ।

उपन्यासमा पञ्चायतकालको कुरा गर्नुभएको छ, अहिलेको समयलाई कसरी जोड्ने ?
उपन्यासको समयकाल अत्यन्त संक्षिप्त छ । करिब एक दशकको समय । २०४१ देखि आएर २०४८ सलमा समाप्त हुन्छ । यद्यपि सम्पूर्ण विश्वको व्याख्या गर्ने प्रयत्न गरिएको छ । जीवनका विभिन्न विषयहरूमाथि प्रकाश पार्ने प्रयत्न गरिएको छ । यसमा पञ्चायतकाल पनि पूरै छैन । पञ्चायतकाल २०४६ सालमा सकिए पनि उपन्यासमा सिद्धिएको छैन । पञ्चायती राज भन्ने शीर्षक नै छ । त्यतिबेला कसरी शोषण हुन्थ्यो, हत्या, बलात्कार र भ्रष्टाचार हुन्थे भन्ने विषयमा प्रकाश पार्न प्रयत्न गरेको छु । त्यसमा सुगन्धा आउँछिन् । सुगन्धाको मनमा यो बसेको हुन्छ कि, नेपाल एउटा हिन्दू राज्य हो, राजासँग थुप्रै पैसा हुन्छ, त्यसकारण उनले भ्रष्टाचार गर्दैनन्, त्यो शान्तिको देश हो भनेर उच्च सम्मान र भावनाका साथ नेपाल आएकी हुन्छिन् । तर उनले सोचेको भन्दा भ्रष्ट र तल्लो तहको अवस्था देख्छिन् । त्यतिबेलाका पत्रपत्रिकाको आधारमा पञ्चायतको चित्र प्रस्तुत गरिएको छ ।

तपाईंले जलजला नाम राख्नुको विशेष अर्थ केही छ ?
उनी पार्टीकी पेसेवर कार्यकर्ता हुन् । त्यतिबेला हामीले उनलाई रोल्पाको थवाङमा काम गर्न पठाउँछौँ । थवाङको छेउमा जलजला छ । त्यसैका आधारमा उनको नाम राखिएको हो । यद्यपि उनको वास्तविक नाउँ विद्या ढकाल थियो । जलजला झोरीसँग उनले जोडिएकी छिन् । त्यसका कैयौँ चर्चाहरू गरिएको छ । जलजलाको प्राकृतिक सौन्दर्यको उच्च रूपमा चर्चा गरिएको छ । जलजला भनेको क्रान्तिकारी, पार्टी प्रति बफादार व्यक्तिको रूपमा उनको नाउँ जलजला राखिएको छ । र उनको सम्पूर्ण जीवनले पनि त्यो कुरा प्रमाणित गर्छ । यद्यपि उनको अल्पकालमै उनको मृत्यु भयो ।

अब राजनीतिक प्रसंगमा कुरा गरौँ । अहिलेको राजनीतिक अवस्था ठिकठाक छ ?
हेर्नुस्, अहिलेको राजनीतिक अवस्था ठीक छैन । तर ठीक छैन भन्दै गर्दा पूरै यसलाई हामीले निषेध गर्न पनि मिल्दैन । यदि हामीले यसलाई पूरै गलत ठह¥याउँछौँ भने वास्तविकता हुने छैन । किनभने अहिलेको जुन हामीले अंगीकार गरेको व्यवस्था नेपाली जनताको लामो संघर्षबाट आएको हो । खास गरेर राणा शासनविरुद्ध लामो संघर्ष गर्दा कैयौँ सहिदहरूले आफ्नो बलिदान दिए । उनीहरूले राणा शासनका विरुद्ध लडे । त्यसपछि राजाको शासन कायम भयो । पञ्चायत शासनका विरुद्ध पनि हामीले ३० वर्ष संघर्ष ग¥यौँ । यही सबैको परिणामस्वरूप यो व्यवस्था आएको हो । यसकारण यो ठिक छैन भनेर यसलाई निषेध गरियो भने हाम्रो दृष्टिकोण प्रतिगमन र प्रतिगामी हुन जाने छ । हामीले वास्तवकितालाई नै बुझ्न सक्ने छैनौँ । त्यसैले अहिलेसम्मका उपलब्धिहरूलाई स्वागत गर्दै अझ राम्रो बनाउनका लागि प्रयत्न र संघर्ष गर्नका लागि ‘रिसेट’ गर्नुपर्छ ।
नेपालको राजनीतिमा रिसेट बटन पटक–पटक प्रयोग हुन्छ किन ?
म राणाशासनदेखि नै राजनीतिमा नजिक रहँदै आएको छु । २००७ सालको आन्दोलन र त्यसपछि देशमा विभिन्न समयमा भएका संघर्षहरूको साक्षी रहँदै आएको छु । सात दशकदेखि नेपालको राजनीतिको साक्षीमात्रै होइन, सक्रिय कार्यकर्ताको रूपमा पनि रहेको छु । देशमा जुन छिटो–छिटो परिवर्तन भइरहेको छ । २००७ सालमा राजनीतिक परिवर्तन भयो, २०१७ सालमा देश प्रतिगमनतर्फ गयो । पञ्चायती व्यवस्थाकाविरुद्ध हामीले संघर्ष ग¥यौँ । त्यसपछि बहुदलीय व्यवस्था आयो । त्यसपछि फेरि प्रतिमगन आयो । त्यसकाविरुद्ध पनि हामीले संघर्ष गर्नु प¥यो । अहिले गणतन्त्रात्मक व्यवस्थामा हामी छौँ । देश कैयौँपटक पछाडि पनि जाने गरेको छ भने पछाडि मात्रै रहने काम गरेको छैन । समग्रमा देश अग्रगमनको दिशामा जाने गरेको छ ।
व्यस्थामा पटक–पटक भाइरसहरू देखिए, यसको एन्टीभाइरस के हो ?
विकासको गति नै त्यस्तै हुन्छ । देश सधँै एउटा दिशा र धारामा अगाडि बढ्दैन । यसमा उतारचढाव भइनै रहन्छन् । यसैका आधारमा समाज अगाडि बढ्दै आएको छ । त्यही पनि यसको मूल गति उच्च रूपमा अगाडि बढ्छ । बारम्बार प्रतिगमनकाविरुद्ध गरिएको संघर्षका बाबजुद आएको यो व्यवस्था नेपाली जनता र देशको हितअनुकूल अझै सोचे जति हुन सकेको छैन । तर त्यसको अर्थ निराश होइन । यसको अर्थ अझैं हामीले संघर्ष गर्नुपरेको छ । यसलाई अझ अग्रगमनको दिशामा अगाडि बढाउन प्रयत्न गर्नुपर्छ संघर्ष गर्नुपर्छ ।

तपाईंहरूले नै होइन, लोकतन्त्रको उत्तम विकल्प नै लोकतन्त्र भनेको, अब फेरि कोसँग संघर्ष गर्ने ?
प्रत्येक कालमा जब जब गलत चिजहरू आउँछन्, त्यसकाविरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता हुन्छ । आज जुन सासन चलिरहेको छ, ती चलाउने हाम्रा साथी, नेता र कार्यकर्ताहरू नै हुन् । जो सँग मिलेर देशलाई अग्रगमनमा लैजानका लागि संघर्ष गरेका थियौँ, तर अहिले तिनै मान्छेहरूमा विकृति आएको छ । उनीहरूले देश र जनताको हितमा काम गर्नुभन्दा पनि व्यक्ति र परिवारवादमा रमाइरहेका छन् । हो उनीहरूकाविरुद्ध हामीले संघर्ष गर्नुपर्छ ।

गणतन्त्रमा खराबी छ, भन्दै राजावादीहरू उफ्रिएका छन्, के पुरानै अवस्थामा फर्किने हो त ?
राजावादीहरूले केही प्रयत्न गर्दै आएका छन् । २००७ सालमा बीपीमाथि हमला गराउन खोजिएको थियो भने, राजाले पञ्चायती व्यवस्था ल्याए त्यो पनि टिकाउन सकेनन् । यसैगरी ज्ञानेन्द्रले १९ महिने निरंकुश शासन चलाए पनि उनी पनि सफल भएनन् । जति–जति पश्चगमन शक्तिहरूले देशलाई पछाडि फर्काउन चाहन्छन्, त्यति देश अगाडि बढेको इतिहास छ । ज्ञानेन्द्रले बहुदलीय व्यवस्था समाप्त गरेर निरंकुश सासन गर्न खोजे परिणाम त उनकै लागि उल्टो भयो र गणतन्त्र आयो । अहिले फेरि पछाडि धकेल्न उनीहरू लागेका छन् भने देश झन् अगाडि जानेछ ।
संविधान संशोधन गर्दा सबै समस्या समाधान हुन्छ ?
संविधान संशोधनको कुरा हामीले पनि गरिरहेका छौँ । हाम्रो देशले संघीयता धान्न सक्दैन, खारेज गर्नुपर्छ भनेका छौं । संघीयताविरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने योजना बनाएका छौँ । संविधान संशोधनका विषयमा सबै राजनीतिक दलहरूका आ–आफ्नै एजेन्डा भएकाले सबैका बीचमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्छ ।