केही वर्षयता नेपालमा साहित्य महोत्सवको लहर (लहड ?) चलेको देखिन्छ । देशभर नै यो लहर हो वा लहड जारी छ । यो फागुन महिनामा मात्र करिब १ दर्जन साहित्यका नामका महोत्सव भएका छन्, केही भइरहेका छन् ।
कुनै पनि विधा वा क्षेत्रमा उत्सव, महोत्सव हुनु सुखद् कुरा हो । देश–विदेशका स्रष्टा, कलाकार वा सम्बन्धित विषय क्षेत्रका व्यक्तित्वहरूसँग भेट हुने र एकापसका कला, साहित्य, भाषा, संस्कृतिको आदानप्रदान हुने अपेक्षा गरिने यस्ता कार्यक्रमको आफ्नै वैशिष्ट्य छ, हुन्छ ।
यद्यपि, पछिल्लो समय यस्ता विशेषगरी साहित्य जोडिएका उत्सव, महोत्सवमाथि भने केही विमर्श आवश्यक देखिन्छ । साहित्य मूलतः भाषासँग जोडिन्छ । भाषासँग समाज र संस्कृति जोडिनु स्वाभाविक हो । तर, अहिलेका अधिकांश महोत्सवहरूमा साहित्य जोडिन्छ नाममा, तर भाषाको बहस, भाषाको प्रवद्र्धनको सवाल भने शून्यप्रायः हुन्छ यी महोत्सवमा । उता, राजनीति, व्यापार र अन्य सन्दर्भका सेसनहरूमै महोत्सवको अधिकांश समय सकिन्छ ।
उसो त यस्ता महोत्सवहरूमा लगानी गरिदिने उनै व्यापारी हुन्, जसले आफ्नो फाइदा हेरेरै कहीँ लगानी गर्छन् । यस्ता साहित्य महोत्सवमा लगानी गरेबापत उनीहरूले पाउने ‘रिटर्न’ पनि आकलन गरेकै हुन्छन् । र, आयोजकले पनि सोहीअनुसारको चाँजोपाँजो गर्न बाध्यता हुन्छ नै । तथापि, साहित्यका नाममा गरिएका महोत्सवहरूमा भइरहेका लाखौँ होइन, करोडौँका खर्चको उपलब्धि के ? भन्ने सवाल स्वाभाविक हुन्छ । करोडौँ रूपैयाँ लगानी गरेर गरिने साहित्य नामका महोत्सवबाट नेपाली भाषा र साहित्यको उन्नयनमा के योगदान पुगेको छ ? यी महोत्सवले के कति मात्रामा स्थानीय राष्ट्रिय भाषाका कृति र कृतिकारलाई पहिचान गरी बाहिर ल्याए ? १४० भन्दा बढी जातजाति भएको देशमा १२५ हाराहारी भाषा छन्, ती भाषाभाषीका लागि यस्ता महोत्सव कति सहयोगी बने ? यो प्रश्न टड्कारो छ ।
जब भाषा, साहित्यका नाममा अमूक संस्था, एनजीओ वा कम्पनीको हित मात्र हुन्छ र अमूक व्यक्तिहरूको सिन्डिकेटबाट सीमित व्यक्तिहरू मात्र ‘एक्सपोज’ हुने अवसर दिइन्छ भने त्यसको औचित्य पनि सीमित हुन्छ । त्यो सार्वजनिक महत्वको हुँदैन । त्यसले बृहत् अर्थमा प्रभाव पार्दैन । अमूक व्यापारीका पैसामा अमूक व्यक्तिहरू अमूक होटल वा रेस्टुराँमा बसेर अमूक अमूक अभक्ष खाएर, पिएर भाषा, साहित्यको सेवा भएको ठान्नु बेइमानी हो । यसरी प्रचार गरिनु बदमासी हो । यसर्थ, साहित्य महोत्सवलाई भाषा, साहित्यकै हितमा मात्र उपयोग गर्नेगरी आयोजना गरिनु उत्तम हुन्छ, अन्यथा साहित्य महोत्सवका सबै प्रकारका नौटंकी बन्द गरे फरक पर्दैन ।
प्रतिक्रिया