देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चित्लाङमा देखेँ देवकोटा र भिक्षु


पूर्व–पश्चिम नजिकै उभिएका हरिया डाँडाहरू
बीचमा उत्तरबाट दक्षिण क्रमशः ओरालो लागेको धरातल
दुवैतिर मलिलो तरकारी फाँटहरू
बीचमा परापूर्व कालदेखिको बाटो
प्रकृतिले कुनै नदीलाई बग्न बनाएको जस्तो
तर नदी होइन, मानव आगमनको प्रवाह अटाई–नअटाई
चित्लाङको त्यो हिँडुवा बाटोमा
भेल आएको बेला नदीले फाँटतिर फैलिएजस्तो
शिवरात्रिको बेला मानव प्रवाहको भेलले
ती फाँटहरू करिब ढाकेका
कुनै एकादेशको कथा होइन यो
त्यो देखेका, भोगेका केहीले हालै चित्लाङमा सुनाए

रक्सौलबाट काठमाडौं आउनेहरू या जानेहरू
कलकत्ता होस् या बनारस
पटना होस् या अलाहाबाद
जंगबहादुरको बेलायत भ्रमण होस् या चन्द्रशमशेरको
सिकार खेल्न हौस्या घुमघाम गर्न
आफ्नै मुलुकको अन्य भागबाट
काठमाडौं आउने जानेहरू
रक्सौलबाट चारकोसे झाडी हुँदै अमलेखगन्ज,
भीमफेदी अनि चित्लाङ भएर थानकोट
बल्ल मात्र नेपालको रिमझिम देख्थे
काठमाडौंभित्र नेपाल अटाएको बेला

किरात शासक हिँडे यो बाटोबाट
मानदेव र अंशुवर्मा हिँडेको
सम्राट अशोक हिँडे,
उनकी छोरी चारुमतीको ओहोरदोहोर नेपाली नै बिहे गरेपछि
नेपालको एकीकरणको परिकल्पना चन्द्रागिरिमा
यही बाटोबाट उक्लेर पृथ्वीनारायण शाहले गरे
हारेका राजा रणजित मल्ल रोएर यही बाटो काशीवास गए
रणबहादुरको बनारस पलायन र आगमन मुख्तियार हुन्
धपाइएका सत्ताच्युत राजा राजेन्द्र र सत्ता फिर्ताको बगावत
सबै यही बाटोबाट, केवल यही बाटोबाट
खड्ग, देव र रुद्रलाई डाँडा कटाएको बाटो पनि यही रह्यो

काठमाडौंको शासकले मोटर गाडी चढ्न
गरिबले मोटर बोकेर यही बाटोबाट उकाले
राशन र शासनको उकाली ओराली
बेहोरेको चित्लाङले
म्यानामा चढेकी महारानी, बडामहारानी
घोडामा चढेका श्री ५ र श्री ३ को प्यास र वास
चित्लाङले धेरैपटक भोग्यो

आज मैले देवकोटाले पानी पिएको गुर्जुधारा देखे
अझै बहिरहेको छ त्यो ढुंगेधाराबाट अबिरल पानी
त्यहीँ बसेर उनले ‘यात्री’ कविता लेखेको कुरा सुने
गुर्जुधारा सँगैको वास बस्ने त्यो घरको फोटो पनि देखे
गुर्जुधाराकै एउटा घरमा झुन्ड्याइएको अवस्थामा
जहाँ भवानी भिक्षु बसेका थिए
बस्नु त्यति महत्वपूर्ण थिएन
जति त्यहाँ बसेर ‘त्यो फेरि फर्केला?’ ्
लेखेका उनले
मिथक र सत्यको सेरोफेरोमा
कति उक्ले, कति ओर्ले चित्लाङ भएर
कति सत्य, कति मिथक, मिसिएका छन् इतिहास बनेर

साउने भेल आउँदा मात्र पानी देखिने भीमफेदी खोलाबाट
जाडोमा हिउँ पर्ने चन्द्रागिरि उक्लिँदा
चित्लाङको तल्लो र माथिल्लो पाटीमा
वास बस्नेहरूको सुसेली
अनि गाडी बोकेर थानकोट पु¥याउने ती गरिबको जिन्दगानी
अहिले शासकको स्विस बैंकको ब्यालेन्स बढाउन
गरिबहरूले नै ऋणका भारी बोकिरहेका
गरिबले गाडी बोके पनि ऋण बोके पनि
शासकको आमोद प्रमोदको नियति नै सँगालेका
अहिलेको परिष्कृत स्वरूपहरूलाई हेर्दा
चित्लाङको हिँडुवा बाटो नै
बदलिएको छ अहिले मुस्किलले गाडी चल्ने धुलाम्मे बाटोमा
बाटोमा पहिरो गइरहेका छन्
नेपालीको छातीभित्र झन् ठूलो पहिरो गइरहेको
खै ! अरू के नै परिवर्तन आएको छ र शिवाय गफको उत्पादन वृद्धि ?
गफ जतिसुकै तन्त्र, मन्त्र र गणतन्त्रको किन नआएको होस् ।