‘भैलिनी आइन् आँगन
गुन्युचोलो मागन
हे औँशी बारो गाई तिहारो भैलो’
आफैँले लेग्रो तानेर भट्ट्याएको यो लोकगीत
अझ ‘हामी त्यसै आएनौँ, बलिराजाले पठाए’ भन्दै
सानो छँदा बहिनीहरूसँग लयमा लय मिलाएर गाएको
त्यो गइसकेको दिन, त्यो हराइसकेको दिन
स्मृतिको हिरण्यगर्भमा विस्मृतिमा पुगिसकेको
औँशीको रातको झन् उज्यालो ती पलहरू
खै ! अनायास मिठोसँग सम्झिन पुगेँ आज
उसको बिहानदेखिको फुरफुर फुरफुरले गर्दा ।
पुतलीजस्ती चलबल चुलबुल
सात वर्षकी पौत्री सुन्दर, अति सुन्दर
बिहानदेखिकै फुरफुर उसको
उ सानी आफूजस्तै सानो फरिया लगाएकी
चिटिक्क परेको गुन्युचोलोमा सजिएकी
उडिरहेकी परीजस्तो दंगदास छे ऊ
अर्कै झिलिमिली दुनियाँ पाएकी छे उसले
पटर पटर बोलिरहने ऊ गम्भीर भएर पुलुक्क हेर्छे
कुमारीको दर्शन गरेर आउँदा झन् केन्द्रीभूत देखिन्छे
तुना बाँधेको चौबन्दी लगाएकी ऊ
अरूसरह वयस्क ठान्छे
फरिया लगाएर फरफर गर्दा ।
कहाँबाट आयो गुन्युचोलोको
यो चलन ?
वैदिक वाङ्मयको १६ संस्कारमा त पर्दैन यो
न व्रतबन्धजस्तो द्विजत्व संस्कार,
न कुनै यस्तै अरू
तर झन् झन् बढेर गएको हाम्रो संस्कृतिमा
अमेरिकादेखि अस्ट्रेलिया हुँदै काठमाडौं
जता पनि सुन्छु म गुन्युचोलो मनाएको
आफन्तहरूको जमघटमा हर्ष उल्लासको साथ ।
आफ्नी आमाको काखमा सिँगारिएर बसेकी
मन्त्रोच्चारणको साथ गुन्युचोलोको पूजा भइरहेको
टोलाएर हेरिरहेको म आमा–छोरीलाई
आलोपालो, आलोपालो गरेर
त्यो क्षण प्रस्टसँग मेरो आँखा अगाडि आयो
जब छोरी काखमा लिएकी ऊ सानी फुच्ची थिई
उसकी आमाको काखमा यसै गरी बसेकी
बहेको समयमा अझै तैरिरहेको म
यो पलभित्रको आलोपालोमा
आइरहेका विगत र वर्तमानका दुई दृश्यहरू
खुसीका छन्, स्मृतिका छन्, आँखा अगाडिका छन्
जे छन् यात्राको निरन्तरतामा – सुन्दर छन्, अनुपम छन्
गुन्युचोलो प्राप्त गरेकी पौत्रीजस्तै
रमाइरहेको म
कारण –
उसको खुसीजस्तै छ मेरो खुसी पनि
प्रतिक्रिया