अहिले नेपाली लेखन क्षेत्रमा एउटा बहस निकै चर्को बनेको छ– साहित्यकारले विदेशी पैसा खाएर लेखे ।
‘चलेका’ र ‘प्रसिद्ध’ लेखकहरू कृष्ण धरावासी, सीमा आभास, अमर न्यौपानेलगायतले विदेशी डलर खाएर किताब लेखेका भन्ने आरोपसहित उनीहरूमाथि तथानाम गालीगलौजका वर्षा जारी छन् ।
यसले गम्भीर प्रश्न उठाएको छ, नेपाली लेखकहरूमाथि । के लेखकहरू, साहित्यकारहरूले विदेशको पैसा लिएर लेख्नुहुँदैन ? के विदेशको पैसा भन्नेबित्तिकै अछुत हो ? यसरी लेख्नु अपराध वा राष्ट्रहितविपरीतको कार्य हो ?
कुरो उल्लेखित व्यक्तिहरूको मात्र होइन, समग्र देशकै गरौँ । नेपाल अर्थात् हाम्रो देश विश्वमै कम विकसित वा गरिब देशमा पर्छ । आफ्नै उत्पादनले खान नपुग्ने, आफ्नै आम्दानीले विकासका कार्य गर्न नसक्ने, हुँदाहुँदा सिटामोलदेखि पोलियोसम्म विदेशकै भर पर्नुपर्ने अवस्थामा छौँ हामी । साँच्चै भन्दा, विदेशी दातृनिकाय र सरकारहरूले हामीलाई आर्थिक, उपकरण, भौतिक सहयोग नगर्ने हो भने हामी सोमालिया वा इथियोपियापथमा चाँडै पुग्छौँ, यो तथ्य जगजाहेर छ ।
यो तितो यथार्थका बीच हामीमा तथाकथित ‘राष्ट्रियता’ भुलुक्कै उम्लिएको छ । केही स्वनामधन्य लेखक तथा कलाकारहरूका नाममा हामी जिउँदैमा गरुड पुराण लगाउन उद्यत छौँ– यही विदेशी पैसा खाएको नाममा ।
जब देश नै भिख मागेर वा कुनै विदेशी दातृनिकाय वा सरकारको कृपाले, दयाले, सहयोगले चलेको छ भने यस देशका केही नागरिकले तिनै निकायबाट केही रकम लिएर हात–मुख जोर्न किताब लेखे, के बिगारे ? के अपराध गरे ? उनीहरूले अपराधै गरेका भए अर्बौं रुपैयाँ लिने देश अपराधी होइन ?
लेखक, साहित्यकार, कलाकारको अवस्था स्वाभाविक रूपमै हाम्रो देशमा निरीह छ । गरिब र दुःखी भनेर चिनिने अवस्था छ स्रष्टा र कलाकारलाई । देशले, राज्यले त आर्थिक रूपमा कुनै सम्बोधन गर्न सकेको अवस्था छैन । स्रष्टा र कलाकारलाई, उनीहरूले कहीँ कतैबाट धेरथोर रकम लिएर गर्जो टार्दै भाषा, साहित्य र कलाको सेवा गर्नु कसरी अपराध ? कसरी अराष्ट्रिय कुरा ?
हो, यदि उक्त विदेशी रकम लिएर उनीहरूले देशद्रोही काम गरेका भए, राष्ट्रहितविरुद्ध लेखेका भए अवश्य पनि त्यो दण्डनीय हुन सक्थ्यो, निन्दनीय हुन सक्थ्यो । तर, अवस्था त्यो होइन । उनीहरूले आफ्नै भाषा, साहित्य र कलाको संवद्र्धन गरेका छन् । यसमा त उनीहरूलाई आभार भन्नुपर्ने, धन्यवाद भन्नुपर्ने ।
हाम्रो तथाकथित ‘राष्ट्रियता’ हाम्रा केही ‘महानुभाव’हरूमा यसरी नउम्लियोस् । हरेक कुरामा राजनीति नगरौँ ।
प्रतिक्रिया