देवकोटाले महापण्डितलाई भने – तिम्रो ‘गिदी छ साथी !
मेरो मुटु ।’
गिदी अपुग छ भने मुटुले मात्र पुग्दैन
गिदी र मुटु – कुन ठूलो कुन सानो; कुन बढी महत्वपूर्ण ?
कस्तो संयोजन उत्तम हुने हो ?
मान्छेको सर्वांगीण अभिव्यक्तिका लागि
चैतन्य स्वरूपको अभ्युदय हुनका लागि
यत्रो सेरोफेरो ओगटेको विज्ञान लाचार छ
जति नयाँ पत्ता लगाउँछ, उति पिलन्धरे
विज्ञान परको ज्ञान झन् अज्ञान छ
पण्डित बन्ने एउटा कुरा हो
तर विवेकी बन्ने नितान्त अर्को
पण्डित बन्न गाह्रो छ, अति गाह्रो
फलाम पचाएसरह षट्शास्त्र पचाउनुपर्छ
तर त्योभन्दा गाह्रो विवेकवान् बन्न सक्नुमा छ
लाभहानिको भागदौडमा जकडिएको यो दुनियाँदारीमा
फाइदा समात्ने हतारमा आफू उभिएको धरातलीय संवेदना बिर्संदा
न पण्डित खरो निस्किन सके यहाँ, न विवेकी
केही शास्त्र पचाएका महापण्डित, मूर्ख पण्डित, अर्ध पण्डित
किताबखानामा दर्ता भएका विषयगत कर्मकाण्डीहरू
जागिर धानेर जिन्दगी बिताउँदै या बिताएका
स्वघोषित महान् बुद्धिजीवीहरू ती
आफूभन्दा धेरै अग्लो अहंको टाकुरा उक्लेर
आत्मरतिको घाम तापेर सपना बुनिरहेका
गिदी र मुटु
गिदीसँगको संयोजन नमिले
मुटुले प्रेमको न्यानो महसुस गर्न सक्छ र ?
भ्यालेन्टाइन डेको गुलाबको फूलले के महक बोक्न सक्छ ?
धर्तीको स्पर्शदेखि गिदीमा पञ्जीकृत स्मृतिका चाङहरू
यदि कमजोर भए या हराउँदै गए भने
ढुकढुकीले सँगालेका संवेदनाहरू बाँच्न सक्छन् ?
तर पनि प्रियतमाको ढुकढुकी सुन्ने बानी परेकाले हो कि !
मलाई पनि लाग्छ – जे हो मुटु हो, जे छ मुटु छ
खुराकको ओहोरदोहोर जीवन बचाउने
संवेदनाको आवतजावत आकाश अटाउने
क्षणभंगुर जीवनको प्रत्येक क्षण बदलिरहेका
त्यहाँ कहिले औँसीको रात
नदेखिएको म रोइरहेको
कहिले पूर्णेको उज्यालो
आल्हादित भएर नाचिरहेको
सपनाका कति ताराहरूको रिमझिम
हेर्दाहेर्दै कति ताराहरू झरे
मुटुदेखि मुटुसम्मको यात्रामा गन्तव्य हराएको मान्छे
जीवनमा जे बोले मुटुबाट नै बोले
जीवनमा जे लेखे मुटुबाट लेखे
ब्रह्माको मुखबाट निस्केको ओमकारको आवाज
बीज मन्त्र हो ब्रह्माण्डको
यो मुटुका स्पन्दनले मात्र महसुस गर्न सक्छ
प्रतिक्रिया