कम्प्युटर प्रणाली र डेटा विज्ञानमा भइरहेको विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले पनि विभिन्न क्षेत्रहरूमा प्रभाव विस्तार गरिरहेको छ । एआई प्रविधिको प्रयोगले एफएम रेडियो स्टेसनहरूमा पनि काम गर्न सहयोग पु¥याएको छ । एफएम स्टेसनहरूले कसरी एआई प्रविधिको प्रयोग गरेका छन् र एआईको अवसर र चुनौतीका बारेमा आजको आलेखमा चर्चा गर्नेछु ।
एफएम स्टेसनमा एआई प्रविधिको प्रयोग सन २००० मा कान्तिपुर एफएमले कोडा सफ्ट्वेयरको सुरुवातसँगै गरेको थियो भने सन् २००५ मा इमेज एफएमले डीआरएस २००६ सफ्ट्वेयरको सुरुवातसँगै गरेको थियो । हाल उपत्यकामा रहेका केही एफएमहरूले कार्यक्रम निर्माणदेखि सम्पादनसम्मका लागि एआई प्रयोग गरिरहेका छन् ।
स्मार्ट भ्वाइस असिस्टेन्टका रूपमा एफएम स्टेसनहरूले आफ्ना श्रोतासँग अन्तरक्रिया गर्न भ्वाइस बोटहरू प्रयोग गरिरहेका पनि छन् । वार्षिक क्यालेन्डर अनुसार एआईबाट सोही दिनको विशेष कार्यक्रम सञ्चालन गर्न एफएम रेडियोहरूलाई एआई अति नै उपयुक्त साबित हँुदै गइरहेको छ ।
एआई प्रविधिले एफएम रेडियो उद्योगमा कार्यक्षमता र उत्पादकत्वमा वृद्धि गराई रहेको छ भने कार्यक्रमहरूको तालिका र समयअनुसार दोहोरिइरहने सन्देशहरू प्रसारणमा पनि एआई उपयोगी साबित भएको छ । एआई प्रविधिले श्रोताहरूको प्राथमिकताअनुसारको सामग्री प्रसारण गर्न प्राविधिकलाई सुझाब दिइरहेको हुन्छ । स्टुडियोमा फोन गरिरहने श्रोताले कस्तो संगीत सुन्न बढी रुचि गर्दछ भन्ने आधारमा एआईले श्रोताको प्राथमिकता बुझेर प्राविधिकलाई सुझाव दिन्छ ।
नेपालमा हाल विज्ञापन बजारमा देखिएको मन्दिमा एफएम स्टेसनको सम्पूर्ण संरचनालाई स्वचालनमा लैजान सकिएमा सञ्चालन खर्च घटाउन सकिने भएकाले नेपालका रेडियोहरूमा एआईको उपयोगको अनिवार्यता बढ्दै गएको छ । एआईको उपयोग एफएमहरूमा व्यापक गर्न सकियो भने प्रसारण सामग्रीको गुणस्तरीयता पनि वृद्धि गराई एफएम स्टेसनको समग्र गुणस्तरीयता नै वृद्धि हुने देखिन्छ । केही दक्ष प्राविधिक भएका काठमाडौंका एफएम रेडियो स्टेसनहरू एआई प्रयोग गरेर समाचार, विज्ञापन र छोटो समयका लागि आवश्यक पर्ने कार्यक्रमका सामग्री निर्माण गरिरहेका पनि छन् । एआईले बहुभाषिक सामग्री प्रदान गर्न ठूलो योगदान पु¥याएको हुँदा नेपालीजस्तै अन्य क्षेत्रीय भाषामा प्रसारण गर्न प्रयोग भएका सामग्री टेक्स्ट–टु–स्पिच प्रविधिले धेरै सहज बनाएको छ ।
एफएम रेडियो स्टेसनको वेबसाइट वा मोबाइल एपमा रहेका एआई–निर्भर च्याटबोटले श्रोता प्रतिक्रिया व्यवस्थापन गर्न ठूलो सहयोग पु¥याइरहेको पनि छ । महँगो साउन्ड प्रोसेसर किन्नु्पर्ने बाध्यतालाई हटाउँदै ध्वनि सम्पादन प्रक्रियामा कृत्रिम बुद्धिमत्ता प्रविधिले सहयोग पु¥याई गुणस्तरीय सामग्री बनाउन सहयोग पु¥याएको छ ।
नेपाली समाजमा धेरै जात र भाषा रहेको हुनाले हरेक भाषाको सम्मान गर्न पनि एआई अनिवार्य बन्दै गएको छ । त्यसैले गर्दा नेपालको हालको आर्थिक अवस्थामा विभिन्न भाषा संस्कृतिको सम्मान गर्दै गुणस्तरीय एफएम कार्यक्रम सञ्चालन गर्न साथै सञ्चालन खर्चमा किफायतीपन ल्याउन पनि नेपालका एफएमहरूमा एआई प्रविधि उपयोग गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ भने सरकारले ल्याएको नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगमा एवं अभ्याससम्बन्धी अवधारणा पत्र २०८१ ले सञ्चारगृहमा एआईको उपयोगिता अझ प्रस्ट पार्नुपर्ने देखिन्छ ।
(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येयता हुन् ।)
प्रतिक्रिया