सुन्दर दिनको पर्खाइमा
कल्पनामा बाँचेको मान्छे
सपनामा हाँसेको मान्छे
बीचबाटै चिप्लिएर गएको समय
त्यही हो जिन्दगानी
हो ! मेरो जिन्दगानी
कल्पनाहरू कति स्वस्थ, कति अस्वस्थ
आफू उभिएको धरातलबाट कति नजिक, कति टाढा
रम्दै बगेर जाँदा पागलपनको मिठास
जति पर धरातलबाट, त्यति वरको स्वर्णिम आनन्द
हो ! यही हो मेरो जिन्दगानी
मैले पनि सपना देख्न पाउनुपर्छ भनेको सुन्दा
शब्द अलंकारबाट नै झंकृत भएको मन
निद्राको काख, सपनाको पखेटा
कहाँ पुगिन स्वर्णिम आनन्दका लागि
सपनाबाट बिउँझेर चारैतिर हेरेँ
उस्तै, सबैतिर उस्तै छ
अझै नगएको तन्द्राबाट आँखा मिचेर हेरेँ
जस्ताको त्यस्तै कुनै परिवर्तन नै छैन
भित्तामा झुन्ड्याएको पुरानो ऐनामा हेरेँ
अझ प्रस्ट देख्न चस्मा लगाएर हेरेँ
चाउरी परेको अनुहार, फुलेका कपाल
त्यो देखेपछि झन् टोलाएँ
म मात्रै परिवर्तित भएको रहेछु
चिप्लिएर गएको समयको प्रवाहमा
निद्राबाट ब्युँझिदा हराएका सपनाहरू
तन्द्राबाट निस्किँदा सम्झिएका कल्पनाहरू
धेरै त हराइसके मैले देखेको सपनाबाट
बाँकी के नै छ र सम्झिने ?
जे हराए त्यसमा पनि केही थिएन
अब त आफैँ हराउन लागेँ आफ्नै थलोमा
बहकिएर पर जाँदा
सपना देख्नु नै अपराध भयो
लहलहाउँदो कल्पना बचाउन
भएभरको विपना सिद्ध्याएँ
यो त झन् ठूलो कसुर भयो
सपना र कल्पनाबीचको यथार्थता
जिन्दगीको उकाली ओराली
पार गर्दै आएको म डाँडामाथिको जुन
आकाश हेरिरहेको उड्न नसक्ने चरोजस्तो
अवकाश जिन्दगानी बोकेर
आफ्नै थलोमा हराउँदै जाँदा
यहीको बगरमा ओत लाग्ने ठाउँ खोजिरहेको छु ।
प्रतिक्रिया