देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ बहसमा सामेल हुन पनि दर्शकले ‘द्रौपदी’ हेर्नुपर्छ: निर्माता ज्ञवाली

देशान्तर


काठमाडौं । चैत ८ गते प्रदर्शनमा आउने चलचित्र ‘द्रौपदी’को ६ दिनअघि सार्वजनिक भएको टिजरले दर्शकको मन जितिरहेको छ । यो समाचार तयार पार्दा सम्म १ मिनेट ३८ सेकेन्डको उक्त टिजरले चार लाख भन्दा माथिको भ्युज पाएको छ । टिजरमा आएका कमेन्टहरू हेर्दा चलचित्र प्रतिक्षीत बन्दै गएको देखिएको छ ।
डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीका विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको चलचित्रको ब्याकग्राउन्ड दृश्यहरू मनमोहक र रमणीय देखिएका छन् । टिजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा बनेको देखिने यस चलचित्रले एक अग्र्यानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ । चलचित्र ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको बुझिएको छ ।


चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ( सुवास ), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्यको अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा, संवाद गीत तथा निर्देशन आचार्यकै रहेको छ । चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ । इन्द्रकला अहिले द भ्वाइस अफ नेपालको प्रतियोगी पनि हुन् । उनले ब्लाइन्ड अडिसनमा चारैजना कोचको कुर्सी घुमाउन सफल भएकी छिन् ।
ऋतु आचार्य र सुवास ठडराई सहनिर्माता रहेको आरबी मुभिजमा बनेको चलचित्रका निर्माता आचार्य र प्रकाश ज्ञवाली हुन् । ज्ञवालीको यो लगानी र अभिनय रहेको पहिलो चलचित्र हो । उनका परिवारमा कलाकारितासँग जोडिएका कोही नभएको, तर आफू चलचित्र र कलाकारितामा जोडिएको एक्लो सदस्य भएको ज्ञवालीले बताए । तिनाउ इन्टरनेसलन हस्पिटल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा व्यवसायी निर्माता ज्ञवालीले कथावस्तु मन परेकाले चलचित्र निर्माणमा हात हालेको बताए । प्रस्तुत छ– तिलोत्तमा ३ जानकीनगर बुटवल रूपन्देही निवासी ज्ञवालीसँग देशान्तरले गरेको कुराकानीको सार संक्षेप ।
चलचित्र क्षेत्रमा कसरी आउनुभयो ?
पहिलेदेखि यो क्षेत्रमा रुचि थियो, अभिनय गर्न सक्छु म पनि भन्ने आत्मविश्वास अनि भित्री चाहना पनि थियो यो द्रौपदीका कारण जु¥यो ।
‘द्रौपदी’भन्दा पहिले अभिनय वा निर्माणतर्फ हात हाल्नुभएको थियो ?
नेपाली सिनेजगत्लाई माया गर्ने मान्छे हो । म तर ‘द्रौपदी’भन्दा अगाडि कुनै अभिनय वा निर्माणमा कतै पनि जोडिएको थिएन । यो नै पहिलो हो ।
अरूमा लगानी गर्न सक्नुहुन्थ्यो ‘द्रौपदी’मै किन गर्नुभयो ?
यसका निर्देशकसँग पहिलेदेखि राम्रो चिनजान थियो, त्यसकारण विश्वास गर्न पनि सजिलो भयो । त्योबाहेक यसको कथा चरित्र चित्रण अनि छायांकनस्थल सबै मन परेकोले मैले मनपरेको काम छुटाउन हुन्न भन्ने ठाने अनि ।
सुटिङको अनुभव कस्तो रह्यो ?
डोल्पाजस्तो रमणीय हिमाली क्षेत्रका पर्दामा नआएका ताजा स्थलहरूमा हाम्रो चलचित्र सुटिङ गरिएको छ । असाध्यै रमाइलो लाग्यो, सुटिङअवधिभर । त्यस क्षेत्रमा छुट्टै आनन्द आउने, तर हिमाली क्षेत्र भएकाले सबै कलाकारलाई लैजान ल्याउन भने अलिक कठिनाइ भएको थियो, तर त्यहाँका स्थानीय असाध्यै मिलसार र सहयोगी हुनुहुँदोरहेछ । हामीलाई सुटिङ सकाउन भने गाह्रो भएन ।
टिजर सार्वजनिक भएको छ, प्रतिक्रिया राम्रै पाएको छ, कस्तो लागिराछ ?
टिजर सार्वजनिक भएपछि म असाध्यै उत्साहित भएको छु । दर्शकहरूले राम्रो फिडब्याक दिनुभएको छ । मनमा पोजेटिभ भाइब्स आइराको छ । आशा छ, चलचित्र सबैले मन पराउनुहुनेछ ।
चलचित्रको गीत र ट्रेलर कहिले सार्वजनिक गर्नुहुन्छ ?
टिजर सार्वजनिक भएको एक हप्ता हुन लागेको छ । अब अर्को हप्ता गीत सार्वजनिक गर्ने हाम्रो तयारी छ । चलचित्र चैत ८ मा रिलिज हुने भएकाले सम्भवतः हामी फागुनमा ट्रेलर सार्वजनिक गर्छौं, टिममा छलफल हुँदै छ ।
चलचित्रमा तपाईं कुन भूमिकामा देखिँदै हुनुहुन्छ ?
म स्वास्थ्यकर्मी भएकाले कतिपयलाई स्वास्थ्यकर्मीकै भूमिका होला भन्ने लाग्न सक्छ, तर चलचित्रमा मेरो भूमिका चरित्रका हिसाबले बलियो छ । त्यसकारण अहिले नै यही भनेर खुलाउनु भन्दा चलचित्रमा हेर्दा अझै मज्जा आउँछ । त्यसैले थोरै सस्पेन्समै राखौँ कि !
अन्तमा ‘द्रौपदी’ दर्शकले किन हेर्ने ?
पहिलो त डोल्पा जान चाहेर पनि जान नभ्याउनुभएका आन्तरिक र बाह्यपर्यटकले डोल्पाका रमणीय स्थलहरू पर्दामा हेरेर प्रत्येक्ष पुगेझैँ आनन्द लिन पाउनुहुन्छ । दोस्रो, कर्णालीको भूगोलभित्रका आमनागरिकको कथा व्यथा समस्या र अवस्थालाई नजिकबाट बुझ्न सक्नुहुन्छ । तेस्रो, नेपाली समाजमा रहेका परम्परागत मान्यता संस्कार र संस्कृतिबारे जानकार हुन सक्नुहुन्छ । र चौथो ती संस्कार र संस्कृतिलाई समयसापेक्ष परिवर्तन गर्नुपर्छ वा कायमै राख्दा उचित हुन्छ भन्ने देशव्यापी नयाँ बहसमा सामेल हुन पनि दर्शकले ‘द्रौपदी’ हेर्नुपर्छ ।