काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेको हो । अभियानका उपाध्यक्ष एवम लुम्बिनी प्रदेश इन्चार्ज अर्याल, उपाध्यक्ष एवम कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवम कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवम मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छोडेको पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् ।
उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् ।
यता नेकपा पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । यसका लागि गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान ओलीसँग फोन सम्बाद गरेको थिए ।
प्रतिक्रिया