देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चामा सत्ताका लागि छटपटी

देशान्तर


काठमाडौं । सत्ताच्युत भएपछि प्रधानमन्त्री हुँदा भन्दा प्रतिपक्षीदलको नेता भएर जनतामा जान पाउँदा खुसी रहेको र अहिले सत्तामा छँदा भन्दा रिल्याक्स भएको बताउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ताबाहिर बस्दाको छटपटी कति छ भन्ने कुरा माघीयताका तीन–चार दिनका लगातारका घटना केलाउँदा पर्याप्त हुन्छ ।
माघ १ गते सुकुटेमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको आयु धेरै नभएको दाबी गर्दै चाँडै ढल्ने दाबी गरेका थिए ।
‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ’, प्रचण्डले भनका थिए, ‘हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मिति नै तोक्न त मिलेन ।’


माघीको भोलिपल्ट माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रतिपक्षी राजनीतिक दलको छलफलमा प्रचण्डसहितका नेताहरूले तत्काल संसद्् अधिवेशन आह्वान गर्न माग गरेका थिए । बैठकमा माओवादी केन्द्र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल आम आदमी पार्टीलगायत पार्टीका नेता सहभागी थिए ।
सोही दिन प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको जोडबलमा विगत ६ महिनायता निष्क्रिय रहेका चार पार्टी सम्मिलित समाजवादी मोर्चाको बैठक बस्यो । प्रचण्ड प्रधानमन्त्री हुँदा सत्ता जोगाउन समाजवादी मोर्चा रणनीतिक रूपमा प्रयोग भएको थियो । अहिले पनि प्रचण्डले मोर्चालाई टेको बताएर सत्ता प्राप्त हुन्छ कि भन्ने मनसाय कायमै राखेका छन् । मोर्चामा आबद्ध नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले त मोर्चाको भेउ नै पाउन सकेका छैनन् । मोर्चालाई सक्रिय बनाएर सरकारमाथि दबाब बढाउने रणनीति प्रचण्डको छ ।


मोर्चाको बैठक बसेको दुई दिनपछि चितवनको एक कार्यक्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रको भावनाविपरीत काम गरिरहेको र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको भनाइ राखेका थिए । उनले देश राजनीतिक दुर्घटनामा जाने खतरा रहेको बताएका थिए । उनको भनाइलाई एमालेका नेता गोकुल बास्कोटाले सत्ताबाट हट्नुपर्दाको झोँकका रूपमा टिप्पणी गरेका थिए । बाँस्कोटाले ‘सत्ताबाट हट्नुपर्दाको झोँक सिस्टममाथि मिल्छ ?’ भन्दै प्रश्न गरेका थिए । ‘कमरेड सुप्रिमोले सरकार मात्र नभई सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन् । बढेमान नेताले सत्ता खुस्केको झोँक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ?’ ‘प्रमाण त छैन तर शंकाको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै ?’ भन्दै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई यति सजिलै व्यवस्थामा खतरा आउँछ ? भन्ने सोधेका पनि थिए ।


चितवनबाट फर्केको भोलिपल्ट ६ वटा विपक्षी दलको पत्रकार सम्मेलनमा प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउँदै सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने भनाइ राखेका थिए । पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु नै उपयुक्त हुने बताएका थिए । उनको बोलीमा लोली मिलाउँदै सरकार असफल भएको जिकिर गरे । उनले ०८७ सालसम्म किन टिकाउनुप¥यो ? भन्दै ०८७ मा संविधान संशोधन गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रश्न गरे ।


‘संविधान संशोधन त प्रधानमन्त्री आफैँले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादि आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रूपमा सरकारमा बसिसकेको आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताका आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’
प्रचण्डले यसो भने पनि कांग्रेस–एमाले गठबन्धनभित्र आन्तरिक रूपमा खेल्न सकिन्छ कि भन्ने प्रचण्डको भित्री मनसाय छिपेको छैन । उनी कांग्रेसप्रति नरम र एमालेप्रति कडा सुनिँदै आएका छन् । मोर्चालाई सक्रिय बनाएर सडक तताउने र विपक्षी दललाई एकै ठाउँमा ल्याएर सदन तताउने प्रचण्ड रणनीति देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।


विपक्षी दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै सरकारले संसद्् अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने दलहरूले चेतावनी दिएका थिए । साथै उनीहरूले सरकारले आफ्ना मागहरू पूरा नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका थिए । संसद््लाई छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
जनताको हितप्रतिकूल सरकारका निरंकुश गतिविधिका कारण आमजनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भइरहेको विपक्षी दलको आरोप छ । उनीहरूले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि विगतमा अघि बढाइएको भ्रष्टाचारको फाइल बन्द भएको आरोप लगाएका छन् ।