काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष वर्तमान सरकारमा कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई काममा सहयोग नगरेकाले सोचेअनुसार द्रूत गतिमा काम गर्न नसकेको गुनासो गरे । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा उनीहरूले ओलीका सामुन्ने आफूहरू निरीह बन्न परेको पनि उनीहरूले गुनासो गरे । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू पनि मन्त्रीहरूले बेलिविस्तार सुनाए । सरकारमा सहभागी भएका केही मन्त्रीको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको अवस्थामा सभापति देउवाले छलफलका लागि बिहीबार मन्त्रीहरूलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री केपी ओलीको सरकारमा रहेर काम गर्न अप्ठ्यारो परेको स्वयं मन्त्रीहरूले देउवालाई ‘ब्रिफिङ’ गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारमा कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का, खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे, कानुनमन्त्री अजयकुमार चौरसिया, कृषिमन्त्री रामनाथ अधिकारी र वनमन्त्री ऐनबहादुर शाही ठकुरी तथा ऊर्जा राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ र वन राज्यमन्त्रीमा रूपा विक सहभागी छन् ।
कांग्रेसले सरकारमा सामेल मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य रूपमा कार्यकर्तामाझ जान निर्देशन दिएको छ । हप्तामा दुई दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन मन्त्रीहरूलाई निर्देशन दिइएको हो । यस्तै, पार्टीका विभिन्न समितिमा आएका गुनासा सुन्न समेत मन्त्रीहरूलाई निर्देशन दिइएको छ ।
यस्तै कांग्रेसले सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्वपूर्ण विषयमा नियमित छलफल गर्न, विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पु¥याउन सक्रियतासहित कार्य गर्न,
आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउन, चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिन निर्देशन दिएको छ ।
हप्तामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने, बाँकी पाँच दिन सम्पूर्ण रूपमा मन्त्रालयको काममा केन्द्रित हुन, सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्न, पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिन समेत मन्त्रीहरूलाई कांग्रेसले निर्देश गरेको छ ।
प्रतिक्रिया