देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलिनाको लगनगाँठो : एलिनाको दरार

देशान्तर


काठमाडौं । केही दिनयता नेपाली दुई चर्चित गायिकाहरूको पारिवारिक सम्बन्धका खबरले एक गायिकाका प्रशंसक खुसी छन् भने अर्की गायिकाका प्रशंसक दुःखी भएका छन् । गायिकाहरू हुन मेलिना राई र एलिना चौहान । कुरा सुरु गरौ मेलिनाबाट, चलचित्र र आधुनिक गीत गायनमा सफल एवं चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार काठमाडौंको गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा दुवैतर्फका आफन्त र आफूनिकट केही संगीतकर्मीको उपस्थितिमा प्रेमी ध्रुव गुरुङसँग विवाह गरेकी हुन् । मेलिना र ध्रुवले केही दिनअघि किराँत परम्पराअनुसार इन्गेजमेन्ट गरेका थिए । लमजुङ स्थायी घर भएका ध्रुव पेसाले चिकित्सक रहेको जनाइएको छ । मेलिनाका दर्जनौँ गीत लोकप्रिय छन् । उनले गाएको ‘कुटुमा कुटु सुपारी दाना’ युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतमा पर्छ ।


उनको स्वरमा रहेका ‘माया जदौ’, ‘हुकुम बक्सियोस्’, ‘कम्मरमाथि पटुकी’ जस्ता दर्जनौँ गीत श्रोतामाझ लोकप्रिय छन् । केही दिनअघि मात्र ‘अञ्जिला’ चलचित्रका लागि उनले गाएको नयाँ गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक भएको थियो । मेलिना र ध्रुव केही समयदेखि प्रेम सम्बन्धमा थिए । अब कुरा गरौँ, अर्की चर्चित गायिका एलिनाको । एलिना चौहानको भने पारिवारिक जीवनमा दरार आएको संकेत मिलेको छ । एलिना र उनका श्रीमान् विष्णु सापकोटाबीचको सम्बन्ध बिग्रेको र डिभोर्सकै नजिक पुगेको दाबी गरिएको छ । यता विष्णुले आफ्नो फेसबुक आइडीमा वैवाहिक स्थितिमा ‘एकल’ भनेर उल्लेख गरेका कारण पनि दुवैको सम्बन्धमा दरार आएको प्रस्ट हुने संगीतकर्मीहरूको अनुमान छ । तर, विष्णु र एलिनासँग नजिक रहेक अस्ट्रेलियानिवासी गायक समीर आचार्यले भने एलिनाको कुरामा सत्यता नभएको दाबी गरेका छन् ।

लोकगायिका ज्योति मगरले एलिनाको नाम उल्लेख नगरी एक ‘गायिका बहिनी’ले घरेलु हिंसाको कथा सुनाएको स्टाटस पोस्ट गरेकी थिइन् । तर पछि उनले सो स्टाटस हटाएकी थिइन् । सञ्चारकर्मी प्रकाश सुवेदीले भने आफ्नो कार्यक्रममा प्रसारण गरेको रिपोर्टमा एलिनाको वैवाहिक सम्बन्ध अब धेरै नटिक्ने भविष्यवाणी नै गरिदिएका थिए । अस्ट्रेलियामा बस्दै आएका विष्णुले एलिनासँग गत वैशाखमा लगनगाँठो कसेका हुन् । विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन् । करिब ३–४ महिना अस्ट्रेलिया बसेर नेपाल फर्किएकी एलिना र विष्णुबीच दसैँअघिदेखि सम्बन्ध सुमधुर हुन नसकेको देशान्तरलाई खबर प्राप्त भएको छ । नेपाल आएलगत्तै एलिना ओशो तपोवनमा ध्यान गर्नसमेत पुगेकी थिइन् । यसबारे प्रतिक्रिया लिन एलिनाले प्रयोग गर्दै आएको एनसेल मोबाइल नम्बरमा कल गर्दा सम्पर्क हुन सकेन । एलिनाले गाएका ‘धोकेबाज’, ‘कट्टा हान्दिन्छु’, ‘बरिलै’, ‘मेरो परान’, ‘हेप्नी मलाई’लगायत दर्जनौँ गीत चर्चित छन् ।