नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले अहिलेको सरकारले अध्यादेशबाट मुलुक चलाउन खोज्नु देशकै लागि दुर्भाग्य भएको बताएका छन् । केही नेताहरूले सरकारले गरेका गलत कुरालाई खबरदारी गर्दा विरोध गरेको रूपमा बुझ्ने गरेको तर्फ संकेत गर्दै अहिलेको यो गठबन्धन सरकारलाई असफल हुने छुट नभएकाले आफूहरूले सधैँ सचेत मात्रै गराएको उल्लेख गरे । उनै कोइरालासँग वर्तमान सरकारको कार्यशैली, जनतामा छाएको निराशा र नेपाली कांग्रेसको महाधिवेशन समयमै होला जस्ता विषयमा रहेर देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ः
सरकारको कामलाई कसरी समीक्षा गर्ने ?
यो सरकार बाध्यकालीन अवस्थामा बनेको हो । सबैलाई एउटै ठाउँमा आउनुपर्ने बाध्यता बनेपछि नै यो सरकार बनेको हो । जसरी पहिला राजनीति चलेको थियो, त्यसबाट जनता निरास थिए । नेपाली कांग्रेस र एमाले संसद्का दुई ठूला दल मिलेर सरकार बन्यो भने, जनतालाई राहत हुन्छ भन्ने आशा थियो । निर्वाचनअगाडि पनि मैले भनेको थिएँ, पार्टीहरू एक्लै–एक्लै चुनाव लड्नुपर्छ, संविधानमा केही समस्या छ भने एमाले र कांग्रेस मिलेर सरकार बनाउने र संविधान संशोधन वा अप्ठ्यारा छन् भने परिवर्तन र परिमार्जन गर्नुपर्छ भनेको थिएँ । हिजो हामीले भनेको ठाउँमा सरकार त आएको छ, तर पनि सरकार जसरी अगाडि बढ्नुपर्ने थियो, त्यो गइरहेको छैन । जनताले जति आशा र भरोसा गरेका थिए, त्यो अनुसार सरकार नचलेको अवस्था छ ।
किन निराशा चिर्न नसकेको यो सरकारले, दुई ठूला दल मिल्दा त सबै कुरा गर्न सक्नुपर्ने होइन र ?
गर्नुपर्छ, गर्नुपर्ने थियो र अझै पनि गर्नुपर्छ । यो सरकारलाई असफल हुने छुट छैन । यो सरकार पनि असफल भयो भने जनतामा निराशा र आक्रोश बढ्नुका साथै दल र नेताप्रति जनताको विश्वास उड्छ । त्यसैले यो सरकारले गति लिनैपर्छ । अझै पनि लिने सम्भावना छ, लिएन भने देश र जनताका लागि भयानक खतरा हुन्छ ।
अहिलेको निराशालाई आशामा बदल्नका लागि के–के गर्ने त, कांग्रेसको पनि त जिम्मेवारी होला ?
निराशालाई आशामा बदल्नका लागि सरकारले, मन्त्रिमण्डलले नीतिगत भ्रष्टाचार जति पनि छ, त्यसको निष्पक्ष छानबिन गर्नुपर्छ । यो छानबिन गर्दा पार्टी नहेरौँ, आफ्नो र अर्को पार्टी भन्नै पर्दैन । सुरुआत नै आफैँबाट गर्दा झनै राम्रो हुन्छ । मैले यो कुरा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि राखेको छु । हाम्रा मन्त्रीहरूका बारेमा प्रश्नहरू उठेका छन्, यदि त्यो साँचो हो भने त्यसमा हामीले छानबिन गरौँ । दोषी भए सजाय पाउनुप¥यो, निर्दोष छ भने ‘क्लिन चिट’ लिनुप¥यो । तर, दुई–चारजना व्यक्तिलाई लागेको आरोपकै आधारमा सिंगो पार्टीले नै कलंक बोक्नुहुँदैन । त्यसको नीतिगत भ्रष्टाचारको छानबिन हुनुप¥यो । जनताले जुन आवाज अहिले बोलिरहेको छ, जनता निराश र दलहरूप्रति जुन आक्रोशित छन्, त्यसलाई सुनेर समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ । यो सरकारले व्यक्तिगत, दलगत र परिवारवादबाट माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्छ । यसलाई दीर्घकालीन योजना र तत्काल गर्नुपर्ने कामहरू तुरुन्त प्रारम्भ गर्नुपर्छ, यसमा ढिला गर्ने छुट अब छैन । राजनीति जनताका लागि हो, अहिले राजनीति जनतका लागि देखिएको छैन । पछिल्लो केही समयदेखि राजनीति आफ्नो र आफ्नो परिवारका लागि, आफ्नो पार्टी पनि नभई गुटका लागि भइरहेको छ । योभन्दा माथि उठेर देश र जनताका लागि राजनीति गरेको भनेर यो सरकारले प्रमाणित गर्नुपर्छ । यति गर्न सकियो भने जनतामा अहिले रहेको निराशालाई आशामा बदल्दै विश्वास जगाउन सकिन्छ ।
यो सरकारप्रति कांग्रेसमा विरोध सुरु भएको हो ?
यसलाई विरोधको रूपमा नलिऔँ । यो सरकारप्रतिको शुभेच्छा र चाहना हो । किनभने हामी यो सरकारले अझै राम्रो काम गरिदिए हुन्थ्यो भन्ने कुरा गर्छौं । जसरी सरकारले गति लिनुपर्ने थियो, त्यसरी यो सरकारले गति लिइरहेको छैन, गति लिनुपर्छ भन्ने हो विरोध होइन । हिजोको दिनमा टुपुक्क बहुमत पुगेको सरकार जो धेरै पार्टी मिलेर बनेको थियो, त्यसले राम्रोसँग काम गर्न सकेन, कर्मचारीतन्त्रले पत्याएन सरकार अस्थायी र अस्थिर भयो भन्ने जुन समस्या थियो, अहिले एमाले र कांग्रेस मिलेर सरकार बनिसकेपछि त्यो समस्या त छैन । यो समस्या नभइसकेपछि हिजोको दिनको सरकार भन्दा छुट्टै र भिन्न तरिकाले जानुपर्छ भन्ने आमजनचाहना हो । त्योअनुसार चलेको छैन । यसलाई विरोध भन्दा पनि जसरी चल्नुपर्ने थियो, त्यो नचलेकोमा चल्नुपर्छ भन्ने हाम्रो सुझाव हो ।
कांग्रेसको सरकारप्रतिको टिप्पणी पनि गुटगत आधारमा भएको भन्छन् ?
कुरा त आइरन्छन् । यसलाई गुटगत भनेर टिप्पणी गर्नु नै गलत हो । कांग्रेसका नेताहरूले अहिले उठाएको आवाजलाई सरकारको विरोधभन्दा पनि यो सरकारलाई असफल हुने छुट नभएकाले सही ‘ट्रयाक’मा जानुपर्छ भनेर नै हो । सत्तामा हुनेले सत्ता चलाउने हो, सत्ताभन्दा बाहिर हुनेले उहाँहरूलाई सचेत गराउँदै गति लिनका लागि झक्झक्याउने हो ।
सातबुँदे सहमतिको जगमा बनेको सरकार, संविधान संशोधन मुख्य एजेन्डा, तर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ सालमा हुन्छ भनेपछि त गठबन्धनकै औचित्य सकिन थालेको कुरा कांग्रेसबाटै आएको छ नि ?
प्रधानमन्त्रीले संविधान संशोधनको मिति ०८७ कुन प्रसंगमा लिनुभयो यसलाई मैले मुख्य रूपमा लिएको छैन । मुख्य कुरा के हो भने संविधान संशोधन गर्नुपर्छ भनेर नै यो सरकार बनेको थियो, तर त्यो काममा नलाग्नु नै खराब कुरा हो । संविधान संशोधनका लागि जुन प्रक्रियाहरू अघि बढाउनुपर्ने थियो, त्यो पनि अघि बढाइएको छैन, यसमा हाम्रो आपत्ति हो । औचित्य सकियो र सकिएन भन्ने कुरा गौण हो ।
संविधान संशोधन सिफारिस गर्नका लागि कार्यदल बनाउने कुरा भएको थियो, त्यो कहाँ पुगेको छ ?
यो सुरु भएको छैन । अघि तपाईंले कुरा गर्नुभएको थियो नि कांग्रेसका नेताहरूले गुटगत तरिकाले सरकारको विरोध गरेको भन्नुभयो नि, हो हामीले संविधान संशोधनको काम अघि बढाउनुपर्छ भन्ने हो ।
अहिलेको आर्थिक अवस्था सबै ठिकठाक छ भन्ने बुझाइ हो यो सरकारको ?
खासै राम्रो छैन । यसमा सन्तुष्ट हुने अवस्था छैन । जसरी जनतामा आशा जाग्नुपर्ने थियो, आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा त्यो आशा जागेको छैन । यी सबै क्षेत्रमा नयाँ आशाको किरण जाग्यो है भनेर जसरी अहिलेसम्म यो सरकारले विश्वास दिलाइसक्नुपर्ने थियो, त्यो नभएकै हो । त्यो देखाउनेतर्फ सरकार लाग्नुपर्छ । यसमा हामी र जनता दुवै आशावादी छौँ सरकारले गति लिनैपर्छ ।
संविधान संशोधनको प्रक्रिया सुरु भयो भने हामीले कुन कुन कुरालाई गर्ने ?
यही नै हाम्रो पनि प्रश्न हो । नेतृत्वले संविधानमा कहाँ कहाँ समस्या देख्यो, कुन कुरा बाधक बन्यो ती कुराहरू पहिचान गरेर निराकरण गर्दै जानुपर्छ । जस्तो अहिलेको संविधानअनुसार हुने निर्वाचनबाट कुनै पनि दलको बहुमत आउँदैन भन्ने कुरा नेताहरूले बताउनुभएको छ । यो कुरा त मैले दुई वर्षअघि केन्द्रीय कार्यसमितिको बैठकमा मैले बोलेको र लेखेर बुझाएको पनि छु । संविधान संशोधन गर्दा समानुपातिकलाई प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा लैजाऔँ, राष्ट्रिय सभाबाट पनि मन्त्रिपरिषद् बन्ने भन्ने व्यवस्था राखौँ अनि प्रत्यक्ष निर्वाचनमा जाँदा बहुमत आउँछ भनेर त्यतिबेला नै भनेको हुँ । यसैगरी अरू समस्या र बाधा नेताहरूले कहाँ–कहाँ देख्नुभएको छ, त्यसका विषयमा छलफल गरौँ र समस्या समाधान गर्दै अघि बढौँ भन्ने कुरा हाम्रो हो । तर, त्यतातर्फ सरकार लागेकै देखिएन ।
तपाईंहरूका दुईजना महामन्त्रीले चुनावमा लोकप्रिय मत पाउनेले सरकारको नेतृत्व गर्ने व्यवस्था गरौँ भन्नुभयो, लोकतन्त्रमा यस्तो हुन्छ र ?
लोकतन्त्रको सुन्दर पक्ष भनेको देशको पहिलो पार्टीले बहुमत पु¥याएर सरकार बनाओस्, पहिलो पार्टीले सक्दैसकेन भने दोस्रो पार्टीले सरकार बनाउने, त्यो पनि सकिएन भने पहिलो र दोस्रो पार्टीले मिलाएर सरकार बनाउने कुरा नै लोकतन्त्रको सुन्दर पक्ष हो । तर विगतका हाम्रा अभ्यास त्यतातर्फ गएको छैन । तेस्रो, चौथो दलले सरकार बनाउँदा पहिलो, दोस्रो पार्टीहरू बाहिर हुने अवस्था छ ।
मैले भनेको जित्नुपरेन, देशभरिबाट सबैभन्दा बढी मत ल्याउने दललाई सरकारको नेतृत्व गर्न दिने कुरा राम्रो हो त ?
सरसर्ती हेर्दा, महामन्त्रीहरूले भनेको कुरा ठिकै जस्तो पनि देखिएला । तर, हाम्रो संविधानमा अल्पमतको सरकार बन्ने प्रावधान पनि त छ नि ! ठूलो पार्टीले अल्पमतको सरकार बनाएर जान सक्ने व्यवस्था पनि भएकाले त्यो अभ्यास गर्न सकिन्छ । त्योभन्दा पनि बहुमत नै आउने तरिका पनि खोज्न सक्छौँ ।
संसद् बोलाउँदैन सरकार, अनि अध्यादेश ल्याउँछ, कांग्रेस र एमालेले संसद्बाट होइन, अध्यादेशबाट सत्ता चलाउने होइन त ?
यसमा नेपाली कांग्रेसको मिश्रित प्रतिक्रिया आएको छ । मलाई के लाग्छ भने, सरकारले ल्याएको अध्यादेश राम्रै होला, संसद्का दुई ठूला पार्टीको सरकार भएकाले जनताकै पक्षमा राम्रै कुराहरू ल्याएका होलान्, यो ट्रेन्ड विकास भयो भने र भोलि अरू सरकारले पनि यस्तै गरे भने, गलत कुराको नजिर बस्छ । त्यसैले अध्यादेशबाट मुलुक चलाउने कुरा राम्रो होइन ।
अध्यादेशका कारण गठबन्धन त झनै कसिलो भयो भन्नुहुन्छ प्रधानमन्त्री, अध्यादेशमा कांग्रेसको पनि त सहमति देखियो ?
सहमति त देखिए पनि कांग्रेसबाटै असहमतिका स्वर पनि सुनिएका छन् । तर पार्टीले संस्थागत रूपमा निर्णय गरेको अवस्था भने होइन । नेतृत्ववर्ग बसेर त्यसमा निर्णय गर्नुभएको छ । सिंगो पार्टीले निर्णय नगरेका कारण अहिले मिश्रित प्रतिक्रिया आएको हो ।
अध्यादेशबाट जो लाभग्राही हुन् उनीहरूले नै विरोध गरेका छन् त ?
अध्यादेशले परिणाम के दिन्छ त्यतातिर गएको छैन । अध्यादेश ल्याउनु नै गलत हो । अध्यादेशका केही प्रावधानहरूको विरोध भएको कुरा मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएको छु । त्यसरी विरोध हुनु राम्रो पनि होइन । पार्टीको बैठक नबसेकाले पनि यसमा पार्टीको पनि आधिकारिक धारणा आएको छैन ।
कांग्रेसको बैठक कहिले बस्ने ?
अब चाँडै बस्ला, तर अहिलेसम्म मिति भने तोकिएको छैन ।
अहिले नेपाली कांग्रेस पार्टी के गर्दै छ ?
अहिले सरकारमा रहेका साथीहरू सरकारको काममा हुनुहुन्छ भने अरू साथीहरू संगठनको काममा व्यस्त हुनुहुन्छ । कांग्रेस पार्टी अहिले आन्तरिक संगठन निर्माणको काममा सक्रिय नै छ । सरकारमा रहने साथीहरूसँग पार्टीले छलफल पनि गरेको छ । बिहीबार मात्रै सभापति शेरबहादुर देउवाले कांग्रेसबाट सरकारमा सहभागी हुनुभएका मन्त्री र राज्यमन्त्रीसँग छलफल गर्नुभएको छ ।
कांग्रेसका मन्त्रीहरूले एमालेसँगको सत्ता सहकार्य अलि अप्ठ्यारो रहेको छ भन्ने कुरा व्यक्त गरेको पाइयो नि ?
लोकतन्त्रमा मिश्रित प्रतिक्रिया आइहाल्छ । कसैले सजिलो भएको कुरा गर्नुभएको होला भने कसैले गाह्रो अप्ठ्यारो भएको कुरा पनि गर्नुभएको छ होला ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन ०८२ सालमा हुन्छ ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन ०८२ सालमा हुन्छ र हुनुपर्छ । प्राविधिक कारणले ६ महिना धकेलिएला, तर समयमै हुन्छ महाधिवेशन । सभापति शेरबहादुर देउवा र महामन्त्रीहरूले पनि समयमै महाधिवेशन हुन्छ भनिरहनुभएको छ । हामी त्यसमा आशावादी छौँ ।
क्रियाशील सदस्यतामा अलिक अप्ठ्यारो छ भन्छन् त ?
क्रियाशील सदस्यता वितरणमा केही समस्या आउनुलाई हामी स्वाभाविक मान्छौँ, यस्ता समस्या समाधान हुन्छन् र प्रक्रिया अगाडि बढ्छन् । क्रियाशील सदस्यताको संयोजक महामन्त्री गगन थापा हुनुहुन्छ, उहाँले चैत मसान्तभित्रको समयसीमा दिनुभएको छ, आशा गरौँ, समाधान हुन्छ ।
१५औँ महाधिवेशनमा अब कांग्रेस कस्तो हुन्छ ?
१५औँ महाधिवेशनपछि गतिशील कांग्रेस बन्छ । अहिलेको जस्तो अवस्थामा पार्टी रहनुहुँदैन । नयाँ कांग्रेस, सुधारिएको कांग्रेस जनताको पक्षमा अझ भिड्ने कांग्रेस, हिजोका कमीकमजोरीहरू सच्याएर जनताका आवाजलाई सुन्ने कांग्रेस बन्नुपर्छ र मुलुकको नेतृत्व गर्ने पार्टी बन्छ ।
सच्याउने भनेको नेतृत्व, गुटगत कुराहरू पनि हो ?
गुटगत भनेको लोकतन्त्रमा पक्ष र विपक्ष भएको सुन्दर पक्ष हो । हरेक एजेन्डा र इस्युमा पक्ष र विपक्ष हुन्छ । तर, त्यो स्वस्थ हुनुपर्छ, अस्वस्थ हुनुभएन । समस्या समाधान गरी देश र जनताका लागि काम गर्ने विषयमा, अझ निर्वाचनमा कसले कसलाई सघाउने भन्ने कुरामा गुटबन्दी हुन्छ, गुटलाई व्यवस्थापन गर्दै यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।
गुटकै कुरा गर्दा शेखर कोइराला र गगन थापाबीचको सम्बन्ध राम्रो छैन भन्छन् नि हो ?
राजनीतिमा देउवा गुट, कोइराला गुट, थापा गुट, पौडेल गुट हुनुपर्छ भन्ने मलाई लाग्दैन । गुट भनेको इस्युमा हुनुपर्छ, निर्वाचनमा हुनुपर्छ, निर्वाचनमा कसले कसलाई भोट हाल्छ, त्यो अलग कुरा हो । निर्वाचन सकिएपछि स्थायी प्रकारको गुट हुनुहुँदैन । त्यो त अहिले व्यवहारमा पनि देखिएको छ । विगतमा एकातिर सहयोग गर्ने आज यतातिर, विगतमा यतातिर भएकाहरू आज अर्कोतिर पनि हुनुहुन्छ । स्थायी गुट हुनुहुँदैन ।
१५औँ महाधिवेशनमा कस्तो गुट हुन्छ त ?
वर्तमान सभापति शेरबहादुर देउवाको यो अन्तिम कार्यकाल हो । विधानअनुसार उहाँ फेरि सभापतिको उम्मेदवार हुनु पाउनुहुन्न । उहाँले पनि साथीहरूलाई हस्तान्तरण गर्छु भन्नुभएको छ । निर्वाचनको परिवेशमा इक्वेसन अलग हुनसक्छ ।
अलग हुन्छ भन्नाले ?
अघि जसरी देउवा गुट, कोइराला गुट, थापा गुट, पौडेल गुट भनेर भन्नुभयो, त्यो गुट अब रहँदैन । इक्वेसन फरक हुने अवस्था छ । स्वयं देउवा नै उम्मेदवार नहुने भएपछि चुनावमा अलग तरिकाले ध्रुवीकरण हुन सक्छ । म व्यक्तिगत रूपमा कसैको पनि स्थायी गुट हुन हुँदैन भन्ने मान्छे हो । तर, मुलुकको आवश्यकता, पहिलो पुस्ताका नेताहरू रिटायर्ड हुने अवस्था छ भने युवा र पाका नेताहरूलाई समन्वय गरेर पार्टीलाई अगाडि लैजान डा. शेखर कोइरालाले सक्नुहुन्छ भन्ने कुरामा म दृढ विश्वासका साथ लागेको छु । अहिलेको जोस र होसलाई समन्वय गर्ने कुरा शेखरबाट हुन्छ भन्नेमा विश्वस्त पनि त छु । त म शेखरको अन्धभक्त होइन, उहाँले गलत गर्दा गलतको विरोध गर्ने सामथ्र्य पनि मैले राख्छु ।
१४औँ महाधिवेशनमा प्राप्त गरेको मत अनुसार डा. शेखर चल्न सक्नुभएन भन्ने टिप्पणी हुन्छ ?
यसलाई म प्रस्ट पार्न चाहन्छु । नेपाली कांग्रेस विगत धेरै वर्षदेखि यस्तो अवस्थामा थियो कि, जो सभापति भए पनि निकटम प्रतिद्वन्द्वीबीच ठूलो झगडा थियो । सुशील कोइराला र शेरबहादुुर देउवाको पालामा होस्, गिरिजाबाबु र शेरबहादुरको पालामा होस्, चाहे शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पालामा होस्, त्यहाँ ठूलै झगडा हुन्थ्यो । बैठक बोलाए पनि तीन दिनसम्म चल्न सक्दैनथ्यो, रातारात पार्टी अफिसमा टेबल ठोकाठोक र प्रतिशतको बार्गेनिङ हुन्थ्यो र बैठक पनि राम्रोसँग बस्न नसक्ने अवस्था थियो । तर १४औँ महाधिवेशनदेखि आजको दिनसम्म एक दिन पनि निकटतम प्रतिस्पर्धीका कारणले पार्टीमा मिटिङमा एक मिनेट पनि समस्या कहिल्यै भएको छैन । यो भनेको शेखर कोइरालाको भलाद्मीपन र उहाँमा भएको संस्कार हो । उहाँले भन्नुहुन्छ, ‘म संस्कारयुक्त परिवारबाट आएको व्यक्ति हुँ, म जायज कुराहरू उठाउँछु, राख्छु, तर विद्रोह गरेर सभापतिलाई समस्यामा पार्दिन ।’ त्यो भन्दै गर्दा उहाँलाई हिजो धेरै आरोपहरू पनि लाग्यो । उहाँलाई शेरबहादुर देउवासँग लडेन भिडेन उतै गएर टाँस्सियो भन्ने आरोप लगाउँदै उहाँको कमजोरीको रूपमा चर्चा गरियो । यो शेखरको कमजोरी होइन, पार्टीप्रतिको सदाशयता हो । उहाँ मिटिङको बेलामा पछाडि बस्नुहुन्छ, कहिल्यै उहाँले स्थान खोज्नुभएन, माग राखेर बैठक र पार्टीलाई डिस्टर्ब गर्ने काम गर्नुभएन । यो उहाँको भलाद्मीपन र संस्कार हो । अर्को उहाँले महाधिवेशनमा मत ४० प्रतिशत ल्याए तापनि केन्द्रीय समितिमा सभापतिको पक्षमा ८० प्रतिशतभन्दा बढी होल्ड छ । निर्वाचन जित्ने र भोटको प्रतिशत त अलग कुरा हो । भोट ४० प्रतिशत आए पनि केन्द्रीय समितिको बनोटअनुसार त्यो प्रतिशत छैन । उहाँ पार्टीभित्र धेरै द्वन्द्व गर्ने पक्षमा हुनुहुन्न् ।
शेखर कोइरालाले ०८२ मा नहुने अधिवेशनको तयारी किन सुरु गरेको, देश दौडाहा किन गरेको पनि भन्छन् नि ?
उहाँले म सभापतिको उम्मेदवार हुँ मलाई भोट दिनुहोस् भन्दै हिँड्नुभएको छैन । नेताहरू त सधैँ जिल्ला गइरहने कार्यकर्तासँग भेटिरहने कुरा त भइरहन्छ । पछिल्लो समय सुदूरपश्चिमको कुरालाई सोध्नुभएको होला, उहाँ एउटा कार्यक्रममा जानुभएको हो, त्यहाँ उहाँलाई जिल्लाका नेताहरू भेट्न आए । त्यसमा कसैले सभापतिको विषय सोध्दा उहाँले जवाफ दिनुभएको हो । उहाँ सभापति बन्नलाई, देशको नेतृत्व गर्नकै लागि हिँडेको नेताले, होइन हुँदैन भन्ने त कुरै भएन नि ।
धेरैले १४औँ महाधिवेशनमा सँगै रहेका गगन अहिले शेखरसँग छैनन् भन्छन् नि ?
यो राजनीतिक कुरा हो । १४औँ महाधिवेशनमा शेखर कोइरालाको महामन्त्रीको उम्मेदवार गगन थापा हुनुहुन्थ्यो । शेखर दाइले चुनाव हार्दै गर्दा महामन्त्रीमा गगनजीले जित्नुभयो । उहाँ महामन्त्री भएर काम गरिरहनुभएको छ । शेखर दाइको अहिले पनि गगनजीसँग राम्रो सम्बन्ध छ । बाहिर सञ्चारमाध्यममा आएका कुरामा मलाई त विश्वास लाग्दैन् । शेखर–गगन मात्रै होइन, अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि राम्रो सम्बन्ध छ । उहाँहरूका बीचमा धेरैपटक पार्टीलाई कसरी अहिलेको भन्दा राम्रो बनाउने भन्ने विषयमा छलफल भइरहेका छन् । त्यसैले १५औँ महाधिवेशनमा शेखर–गगन छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धामा उत्रिन्छन् भन्ने कुरा मलाई विश्वास लाग्दैन । अहिलेका दुई महामन्त्री गगन र विश्वको प्रस्ताव र वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा डा. शेखर कोइराला नै अबको सभापति बन्नुहुन्छ, यो कुरा तपाईंले लेखरै राख्दा हुन्छ ।
अन्त्यमा, तपाईंको जिल्लाको जनप्रतिनिधि रास्वपाको सभापति रवि लामिछाने प्रकरणमा पछिल्ला घटनाहरूलाई कसरी हेर्नुहुन्छ ?
रवि लामिछानेका समर्थकले जसरी हुलहुज्जत गरेर काठमाडौं जिल्ला अदालतअगाडि देखाएको रबैया एकदमै गलत हो । अदालतबाट न्याय पाइन्छ, न्याय मरेको छैन भन्ने अनि हुलहुज्जत गर्ने आफ्नो विपक्षमा बहस गर्ने वकिललाई अदालतपरिसरमै हातपात गर्ने कुरा गलत हो । अर्को कुरा रविलाई अनुन्धानमा लाँदै गर्दा हजारौँ मानिसहरू सडकमा उत्रिने हो भने भोलि एमाले र कांग्रेसका नेताहरूलाई अनुसन्धानमा लैजाँदा अहिलेको भन्दा दुई गुणा बढी सडकमा उतारेर के अदालत घेर्न जाने ? यस्तो संस्कार विकास हुँदै गयो भने राम्रो हुँदैन । हिजो आएको नयाँ पार्टी नयाँ संस्कार भन्दै गर्दा पुरानोभन्दा पनि पश्चगामी संस्कार अपनाउनु गलत हो । अब सरकारले आफ्ना पार्टीमा भएका अरू रविजीहरूलाई पनि छानबिनमा ल्याउनुपर्छ । अब जुनसुकै पार्टीमा भए पनि उहाँहरूविरुद्ध प्रश्न उठेको छ भने छानबिन गर्नुप¥यो । गल्ती गर्नेले कारबाही भोग्नुपर्छ । यस्तो भयो भने मात्रै जनतामा आशा जाग्छ ।
प्रतिक्रिया