काठमाडौं । कास्की र काठमाडांै जिल्ला अदालतमा थुनछेक बहसपछि सहकारी ठगी मुद्दामा तत्कालका लागि कसुरदार हैनन् भन्न नसकिने ठहरसहित धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले शुक्रबार उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेकोमा थप कागजात संलग्न गर्नुपर्ने भएपछि समयअभावका कारण उक्त दिन दर्ता हुन नसकेको मुद्दा आज आइतबार अदालत खुल्नेबित्तिकै दर्ता गर्ने तयारी भएको छ ।
यसअघिका दुई मुद्दामा पीडितका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरूले लामिछानेले उन्मुक्ति पाउन सक्ने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् भने रवि पक्षका अधिवक्ताहरूले मुद्दा कमजोर भएको दाबी गर्दै आएका छन् । सुप्रिम सहकारीको ठगी प्रकरणमा त्यसबेला बहालवाला उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने र गोर्खा मिडिया प्रालिलाई उन्मुक्ति दिने गरी वैशाखमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अहिले पूरक अनुसन्धान गरी उनीविरुद्ध अभियोग दाबीसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइएको हो । अहिले लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग अदालत लैजाने तयारी गरिएको छ । बिहीबार थप अभियोग लगिएको थियो भने शुक्रबार पूरक अभियोग लैजाने सरकारी वकिल कार्यालयको तयारी थियो । लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ । उनीहरू दुवैजनालाई चार करोडमाथि बिगो कायम गरिने बताइएको छ । प्रहरीले अनुसन्धान सकेर एक साताअघि नै जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
अभियोगपत्र दायर भएपछि अदालतमा आफैँ उपस्थित हुने लामिछानेको तयारी छ भने कास्की अदालतबाट लामिछानेसँगै धरौटीमा रिहा भएका जोशी सम्पर्कविहीन छन् । दुवैलाई कास्की प्रहरीले रिहा गर्दा आफैँ काठमाडौं प्रहरी वा अदालतमा उपस्थित हुने सर्तमा रिहा गरेको थियो । जोशी अदालतमा हाजिर नभएपछि बाहिरै रहेर काठमाडौं जिल्ला अदालतमा हाजिर हुने सुविधा दिएकोप्रति प्रश्न उठ्न थालेको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
सुप्रिम सहकारीको एक अर्ब दुई करोड रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका अध्यक्ष बुटवल उपमहानगरपालिका वार्ड नं. ८ का ओमप्रकाश गुरुङ भने पुर्पक्षका लागि थुनामा छन् । मुद्दा दायर गरिएका २८ जनामध्ये पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ । अरू प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । रुपन्देहीपछि चितवनको सहारा र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवैजनाविरुद्ध मुद्दा चलाउने तयारी छ । दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पु¥याएको बताएका छन् ।
यता, गत बुधबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतबाहिर निस्कनेक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भएको थियो । कुटपिट नियोजित भएको र रास्वपाका कार्यकर्ता भएको वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप छ । घटनाको कानुनसँग सम्बन्धित संघसंस्था र जनस्तरबाट पनि विरोध भएको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्किने क्रममा हातपात भएको हो । कुटपिटमा संलग्न एकजना ललितकुमार केसीलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । प्रहरीले उक्त घटनामा संग्लन अरू व्यक्तिको पनि खोजी गरिरहेको छ । पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ । प्रहरीका अनुसार उनले आफू घरजग्गा कारोबारी रहेको बयानमा बताएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध व्यक्ति हुन् कि होइनन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थप गरेको छ ।
यो समाचार छापामा प्रकाशन हूदा सम्म जोशी सम्पर्कविहीन। आइतवार उनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया