नेपाली कांग्रेस, सत्तामा होस् अथवा विपक्षमा, दुवै अवस्थामा मुलुकको प्रमुख तथा निर्णायक शक्तिमा रहेको छ र कालान्तरसम्म पनि उसको त्यो स्थान र स्थिति यथावत् रहने निश्चित किन छ भने उसलाई त्यहाँबाट विस्थापित गरेर स्थापित हुन सक्ने अर्को वैकल्पिक शक्ति जन्मिए पनि स्थापितचाहिँ हुन सकेका छैनन् ।
२००७ सालको क्रान्तिपछि कांग्रेसका विकल्पमा दुई जुम्ल्याहा शक्ति उत्पन्न भए । ती थिए– नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय गोरखा परिषद् । राजनीतिका भाषामा तिनलाई, क्रान्तिकै कोखबाट जन्मेका प्रचण्ड उग्रवादी वामपन्थी तथा घोर दक्षिणपन्थी प्रतिगामीका द्योतक मानिएको थियो । त्यसैले तिनलाई कांग्रेसको वैकल्पिक शक्ति मानेर अनेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले उचाल्ने र पछार्ने गरेका थिए ।
क्रान्तिले विस्थापित गरेका राणाहरू आपसमा संगठित भएर कांग्रेसका कमीकमजोरीमा खेल्ने मात्र होइन, उनीहरूलाई राजनीतिक दलकै अखडामा पछार्ने र आफ्नो गुमेको स्वर्ग पुनः प्राप्त गर्ने सपना साकार तुल्याउन कम्मर कसेर लागेका थिए । पहिले खुकुरी दल र पछि गोर्खा परिषद्मा रूपान्तरित भएर कांग्रेसमाथि सशस्त्र आक्रमणमा उत्रेका राणाहरू पहिलो चरणमा काठमाडौंलाई आतंकित तुल्याउन र कांग्रेस दिल्ली सम्झौताको सन्तान भएकाले त्यो राष्ट्रघाती हो, त्यसलाई उखेलेर फाल्नुपर्छ भनेर मैदानमा उत्रिएको थियो ।
उता, कम्युनिष्ट पार्टीले पनि काठमाडौंका टोलटोलमा कोणसभा गरेर दिल्ली सम्झौता धोका हो, अपूर्ण क्रान्ति मान्दैनौँ भन्ने नारा बुलन्द गर्दै प्रतिगामी गोर्खा परिषद्लाई सघाउन पुगेको थियो । नेपाल कम्युनिस्ट पार्टी र नेपाल गोरखापरिषद्, दुई अलग पार्टी थिए र उनीहरूका लक्ष्य र कार्यक्रम पनि बेग्लै थियो । तर, दिल्ली सम्झौताका सवालमा दुवैको चोचोमोचो ठ्याक्कै मिलेको थियो । त्यो भनेको दिल्ली सम्झौता धोका हो, अपूर्ण क्रान्ति मान्दैनौँ ।
कालान्तरमा गोरखापरिषद्ले बलपूर्वक सत्ता कब्जा गर्ने रणनीति परिवर्तन गरेर राजनीतिक प्रतिस्पर्धामै कांग्रेसलाई पराजित गरेर आफ्नो विजयको झन्डा गाड्ने खेलमा उत्रियो । कांग्रेसभित्रको अन्तरकलह र राजा त्रिभुवनको निधनपछि राजा महेन्द्रले धनी राणाहरूलाई उचालेर कांग्रेसलाई तह लगाउने मात्र होइन, राणा शासन फर्काउने र त्यसको नाम पञ्चायत व्यवस्था राख्ने, अनि राणाका प्रधानमन्त्रीको ठाउँमा आफूलाई स्थापित गर्ने चाल चलेको कुरा तब थाहा भयो, जब उनले जननिर्वाचित संसद्् भंग मात्र गरेका होइनन्, जनादेशप्राप्त सरकारका प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, विरोधी दलका नेता, सांसद्लाई या त जेलमा अथवा भारतमा निर्वासित हुन बाध्य तुल्याएका थिए ।
त्यसपछि नै हो, राजा त्रिभुवनले घोषणा गरेको संविधानसभाको चुनावको बदला सोझै संसद््का लागि चुनाव गराउने महेन्द्रको घोषणाको अन्तर्य सबैले बुझ्न थालेको । कांग्रेसले पहिले नै बुझेको थियो, उसले संविधानसभाकै चुनावका पक्षमा आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो । तर, जनाधार नभएका दलका नेताहरूले राजतन्त्र भएको देशमा सोझै संसद््का लागि चुनाव गराउनु उत्तम विकल्प हो भनेर राजालाई भ¥याङ ठड्याइदिए । कांग्रेसले पनि राजाको नियत चुनाव नै टार्दै जाने र आफूअनुकूलको व्यवस्था सिर्जना गरेर जाने दिशामा निरन्तर बढ्दै जान लागेको देखेपछि निर्वाचित जनप्रतिनिधिको शासन व्यवस्था कायम गर्न संसद््कै चुनाव सही, जसरी भए पनि चुनाव गराउनुप¥यो, अनि मात्र प्रजातान्त्रिक अभ्यास परिपक्व हुँदै जान्छ भनेर चुनावमा भाग लिन कांग्रेस तत्पर भएको थियोे ।
राजाले सरकारी र दरबारका गरेर र्दुइथरी गुप्तचर आफ्नो सेवामा लगाउने गरेका थिए । ती दुवै संस्थाले संसद्को चुनावमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने कांग्रेस पनि ठूलो दलसम्म हुनसक्ने, तर बहुमत ल्याउन नसक्ने उनीहरूको निष्कर्षमा विश्वास गरेर राजाले चुनाव गराएका हुन्– दलहरूले चुनाव जितेर एउटै पार्टीले बहुमत ल्याउन नसक्ने पूर्वानुमान लगाएर मात्र चुनाव गराउन उनी तत्पर भएका थिए । अर्को शब्दमा भन्नुपर्दा राजालाई कांग्रेसले बहुमत हासिल गर्न नसक्ने चुनाव गराउनु थियो, परिणाम त्यस्तै आउने भएपछि उनी चुनाव गराउन तयार भएका थिए । कांग्रेसले पनि त्यो मौका गुम्न नदिन संविधानसभाको बलिदान दिएर संसद्का लागि हुने चुनाव स्वीकार गरेको थियो ।
प्रजातन्त्रलाई त्यस प्रकार राणा, राजा, कम्युनिस्ट, विदेशी प्रभाव आदि सबैबाट जोगाउन विभिन्न कालखण्डमा कांग्रेसले उनीहरूसित लड्दै आजको अवस्थामा आइपुगे पनि अझै उसले आफ्नो संघर्षको सबैभन्दा कठिन काल, अर्थात् (२०१७ देखि २०४६) सम्मको रेकर्डलाई अद्यावधिक तुल्याउन सकेको छैन । त्यसले गर्दा न नेताको न कार्यकर्ताको अतुलनीय बलिदानको मूल्यांकन हुन सकेको छ ।
कांग्रेस, अहिले पनि प्रजातन्त्रको एकलौटी वारिस हो । उसलाई त्यो स्थान र उचाइमा पु¥याउन असंख्य नेपाल आमाका सपुतले दिएको बलिदान खेर जान सक्तैन । देश, विदेशमा पुगेर ठगीमा महारथ हासिल गरेका जो कसैले नेपालमा पनि केही कालका निम्ति ठग्न र झुक्याउन त सक्लान् तर परिवर्तन गर्न सक्तैनन् । क्रान्ति र परिवर्तनका लागि जनतालाई जगाउने आदर्श र कटिबद्धताको सम्बल चाहिन्छ, त्यो कांग्रेसबाहेक अरू कसैसँग छैन । कम्युनिस्ट हुन् कि भुँइफुट्टा किन नहून्, तिनले नेपाली जनताको ढुकढुकी छाम्न सक्तैनन् ।
प्रतिक्रिया