नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले वर्तमान सरकारले जन अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले उनै बरालसँग समसामयिक राजनीतिक प्रसंगमा रहेर गरेको कुराकानीको सम्पादित अंश ।
केमा व्यस्त हुनुहुन्छ ?
नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा १०० दिने अभियान सुरु गरेको छ । त्यसका लागि पार्टीका साथीहरू जस्तै म पनि यतिबेला डोटी जिल्लामा प्रतिनिधि भएर खटिएको छु । अहिले हामी सांगठनिक गतिविधिमा केन्द्रित छौँ ।
कांग्रेसको १०० दिने अभियान भनेको १५औँ महाधिवेशनको रिहल्सल हो ?
त्यो होइन । हामीले संगठनलाई चुस्तदुरुस्त बनाउनुका साथै कांग्रेस र जनताकाबीचको ‘ग्याप’ छ नि, अहिले जनताले कांग्रेससँग अपेक्षा के गरेका छन् ? उनीहरूका अपेक्षाका बीचमा कांग्रेस पुग्न सक्छ ? र आगामी दिनमा कस्ता कार्यक्रमहरू ल्याउँदा जनताका पिर–मर्काहरूलाई सम्बोधन गर्न सक्छौँ भन्ने उद्देश्य नै अहिलेको अभियान हो । अर्कातर्फ हामीले गरेका काम, गठबन्धनको कुरालगायत विषयमा जनताहरू हामीसँग रिसाएका पनि हुन सक्छन्, त्यसैले हामीले हाम्रा केन्द्रका बाध्यताका साथै अब आउने चुनौतीको बारेमा पनि जानकारी गराउनुका साथै समस्याको समाधानको खोजी गर्ने नीति पनि हो ।
तपाईंले नभने पनि धेरैले यसलाई गुट बलियो बनाउने माध्यमका रूपमा चर्चा गर्छन् ?
सबै गुटको रूपमा मात्रै हेर्नु भएन । ७७ वटै जिल्लामा खटिने साथीहरू, पार्टीका सबै तह र तप्काका, सबै गुटै भन्दा पनि सबै समूहका साथीहरू जानुभएको छ । यसलाई गुटभन्दा पनि संगठनलाई चुस्तदुरुस्त बनाउनका लागि हो । अर्को पाटो के हो भने १५औँ अधिवेशनको पूर्वसन्ध्याको रूपमा भने बुझ्न सकिन्छ । त्यो भनेको अहिले नै को सभापति को महामन्त्री वा अन्य पदाधिकारीभन्दा पनि महाधिवेशनको प्रारम्भिक काम तल्लो तहमा क्रियाशील वितरण नै हो नि । हो अहिले हामीले त्यो काम पनि गरेका हौँ । अहिले हाम्रो अभियानमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम पनि भइरहेको छ ।
अभियानमा कार्यकर्ता भेटिएको छ कि नेताहरूसँग मात्रै हो भेट्ने ?
तपाईंले काठमाडौंमा बसेर प्रश्न गर्दा यस्तो तपाईंले देख्नुभयो । हाम्रो पार्टीको बनोट अनुसार तल्लो तहको इकाई छ । इकाईमा इकाई सभापति छ, कार्यसमिति छ, भ्रातृ संस्थाहरू छन् । कल्पना गर्नुस्, हाम्रो टोल समिति छ । टोल समितिमा मजदुर, किसान, महिला, स्थानीय व्यापारी, युवा विद्यार्थी, गृहिणी महिला, मकै पोल्नेमानिसदेखि हरेक क्षेत्रका व्यक्तिहरू त्यहाँ हुनुहुन्छ । उहाँहरू सबै नेता पनि कार्यकर्ता पनि हुनुहुन्छ । सबै वर्गको प्रतिनिधित्व गरेर बनेको पार्टी नै नेपाली कांग्रेस हो । हामी तल जाँदा नेतासँग मात्रै भेट हुने होइन ।
कांग्रेसमा नेता र नाता प्रधानमात्रै छ भन्ने आरोप लाग्छ नि ?
तपाईंले जसरी नेता र नाता प्रधान भन्नुभयो नि, हामी पनि धेरै परिष्कृत हुन बाँकी होला, हामीमा पनि कमीकमजोरीहरू छन् । तर मौजुदा नेपालका पार्टीहरूमा सबैभन्दा श्रेष्ठ, सबैभन्दा प्रजातन्त्रवादी सबैभन्दा इमानदार सबैभन्दा नेता र नाता प्रधान नभएको पार्टी नेपाली कांग्रेस हो । किनभने हाम्रो पार्टीका ५४ सदस्यले पनि, कांग्रेस पार्टीको कार्यक्रम छ, कांग्रेस पार्टीको सदस्य होइन, त्यसलाई त्यहाँ आउने गेट खुला छ । त्यहाँ आएर उसले हाम्रा सभामा छलफल बैठकमा कुरा राख्न खुला छ । त्यस्तो खुला र पारदर्शी पार्टीलाई आरोप लगाएर सुहाँउँदैन । नेपाली कांग्रेसमा कुनैको तीन–चार पुस्ता लगानी भएको छ । यो देशबाट राणा हटाउन कांग्रेसका कार्यकर्ता लागे, पञ्चायत हटाउन लागे, द्वन्द्वमा विस्थापित पनि भएको छ, गणतन्त्र ल्याउन लागेको छ । यसरी तीन चार पुस्ता लगानी भएको छ । त्यसले गर्दा पुस्तौली रूपमा आउने भयो नि । त्यसलाई नेता र नाता प्रधान मान्नुभएन ।
अभियानका क्रममा तपाईंहरूसँग आममानिसले राख्ने गुनासोहरू के–के हुन् ?
नेपालको राजनीतिक रंगमञ्चमा छिटोछिटो सत्ता र गठबन्धन परिवर्तन भइरहेका छन् । किन हामी यति छिटो परिवर्तित भयौँ । हिजो गठबन्धन गर्न हुन्थ्यो, हुन्थेन आदि इत्यादि संविधान जारी गर्दाका सकसहरू, त्यसपछिको आम निर्वाचनका परिणामहरू यावत् छन् । कांग्रेस पार्टीले गर्छु भन्यो, गर्न सकेन, गर्नका लागि चासो पनि दिएन भन्ने यावत् आरोपहरू खेप्नुपरेको छ । यो आरोपलाई हामीले स्वाभाविक लिइरहेका छौँ । कांग्रेसको कार्यक्रम वा अभियानलाई कुनै एकको हजुरबुवाले लगानी गरेको छ, बुवाको लगानी छ, छोरा अहिले क्रियाशील छ, छोराको सन्तति पनि पार्टीको छाताभित्र जोडिएको छ । निश्चित रूपमा जनतासँग समाजसँग अरूको भन्दा हाम्रो दायित्व बढी छ । जनअपेक्षा के थिए, हिजो एक खालको अवस्था थियो । गाउँमा बाटो, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीको कुराहरू आवश्यकता थिए । ती आवश्यकता पूरा गर्ने गतिमा हामी लाग्यौँ । कति त पूरा पनि भए । तर अहिले फेरि हाम्रा बीचमा नयाँ चुनौती छन् । एउटा गाउँमा करिब करिब सबै पूर्वाधाहरू पुगेका छन् । तर गाउँमा जनता र युवा नै छैनन् । अब हामी गाउँमै बस्ने वातावरण कसरी बनाउने त्यो चुनौतीलाई सामना गरेर त्यसमा सफलता प्राप्त गर्नुपर्ने बेला आएको छ ।
स्थानीयहरूलाई केन्द्रको राजनीतिसँग कति सरोकार हुँदो रहेछ ?
लोकतन्त्रले ल्याएको एउटा सुखद् पक्ष के हो भने, सानो घटना पनि सञ्चारको माध्यमबाट सुसुचित हुने जमाना छ । यसबाट विकट भेगका जनता पनि आंशिक रूपमा जानकार छन् । विकासको चित्र प्रजातन्त्रपछि २०४८ सालपछि २०५१ सालसम्म जुन स्थिर सरकार थियो, त्यो स्थिर सरकारले बाटो खानेपानी, शिक्षा, स्वास्थ्यलगायत तमाम विकासका चित्रहरू कोरेको थियो । त्यो चित्रलाई चरित्रमा ढाल्न जरुरी थियो । नेपाली कांग्रेसभित्रको आन्तरिक मनमुटावले सरकार टिकाउन सकेनौँ, हामीले पनि गल्ती ग¥यौँ । सँगै दुर्भाग्यवश मुलुकमा त्यति नै खेर द्वन्द्व सुरु भयो । यो द्वन्द्वले चित्रलाई चरित्रमा परिणत गर्न दिएन । सयम अवधिका हिसाबले १० वर्ष त्यो द्वन्द्व कायम रह्यो । मुलुकको भौतिक, आर्थिक र सामाजिक विकासका हिसाबले ५०औँ वर्ष पछाडि धकेलियो । त्यतिबेला चित्रलाई चरित्रमा बदल्न नसकेको दायित्व पूरा गर्ने जिम्मेवारी पनि अब हाम्रै हो ।
पछिल्लो पुस्ता नेपाली कांग्रेसप्रति आकर्षित हुन नसकिरहेका बेला किन कांग्रेसको सदस्यता लिने ?
यो मानवीय स्वभाव हो । मानिसले अहिले जुन जीवन बिताइरहेको छ, यो भन्दा उन्नत जीवनको भोग गर्ने अपेक्षा राख्छ । र अहिले मौजुदा अवस्थामा कोही असन्तुष्ट होलान्, हामीबाट पनि काम गर्ने क्रममा कति कमीकमजोरी भएका होलान्, हामी पनि करेक्सन हुन जरुरी छ । तर, अहिले विश्व साँघुरो भएको छ । संसारमा अहिले फेसबुकका रिल होउन वा युट्युबका सट्स होऊन् त्यसमा देखिएका कुराले आममानिस असन्तुष्ट देखिएको छ । त्यसैले उसले आफ्नो अधिकारको विषय उठाएको छ । त्यो अधिकार प्रयोग गर्दै गर्दा मैले जो माथि विश्वास गरेको छु, त्यसको इतिहासदेखि वर्तमान र उद्देश्य के हो भन्ने कुराको अध्ययन नगरी जसरी लाग्ने प्रवृत्ति मौलाउँदा राजनीतिक अस्थिरता, सामाजिक विकृति र विसंगति बढेको छ । अहिले हेर्नुस्, अदालतमा विचाराधीन मुद्दाको विषयमा त म टिप्पणी गदिनँ, तर एकपटक रवि लामिछानेको हठका कारणले नागरिकता असफल भइसकेपछि भएको दोस्रो पटकको चुनावमा जनताले फेरि जिताइदिए । अहिले फेरि उनी निलम्बनमा परेका छन् । यसका पछाडिको मनोविज्ञानलाई हेर्ने हो भने जनतामा व्याप्त उत्तेजना, आवेग र निराशा नै हो । त्यसले जनताको अपेक्षा पूरा गर्नका लागि हामी अब सबै मिलेर संविधान संशोधन गरेर हुन्छ या अन्य कुनै विकल्पका आधारमा हुन्छ, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई राम्रोसँग डेलिभरी दिनका लागि कामहरू गर्नुपर्छ ।
पार्टीले काम गर्नुपर्छ, संगठन बनाउनुपर्छ भनेर हिँड्दै गर्दा तपाईंहरूका भ्रातृसंस्थाहरू त भद्रगोल नै छन् होइन र ?
केही भ्रातृसंस्था अत्यन्त क्रियाशील भएर काम गरिरहेका छन् । तर, जुन–जुन भ्रातृसंस्थाहरू नेविसंघ, तरुण दल, महिलासंघले गर्नुपर्ने थियो, ती अहिले अस्तव्यस्त नै छन् । यसमा माऊ पार्टी र माऊ पार्टीका नेताहरू पनि दोषी नै छौँ । हामीले आफ्नै अरौटे–भरौटे खोज्ने प्रवृत्तिले ग्रसित भयौँ । अहिले हाम्रो अभियानको उद्देश्य पनि के हो भने, यति दिनभित्र सदस्यता वितरण गरिसक, चैत मसान्तपछि तिमीहरूको म्याद थपिन्न भनेर ती भ्रातृसंस्थाहरूलाई अपडेट गराउने पनि हाम्रो जिम्मेवारी हो । अब ती भ्रातृ संस्थाहरूले अधिवेशन गर्न सकेनन् भने मौजुदा कार्यसमिति रहँदैन ।
अब सरकारको कुरा गरौँ
अहिले तपाईंहरूको सरकार ठिकठाक छ ?
सरकारलाई स्थिर बनाउने, चुस्तदुरुस्त बनाउने, जनतामा रहेको बढ्दो निराशालाई आशामा परिणत गर्ने उद्देश्यका साथ यो सरकार बनेको हो । केन्द्रको सरकार फेरिँदा सातवटै प्रदेशका सरकार फेरिने, तीन महिनामै विश्वास र अविश्वासको खेलबाट त मुक्ति पाएका छौँ । अब रह्यो, सरकारले जसरी डेलिभरी दिनुपर्ने थियो, त्यो गर्न सकेको छैन । मौजुदा साधन स्रोतको अवस्था, हाम्रो आर्थिक अवस्था, मुलुकको ढुकुटीको अवस्था, बजारमा उत्पादनको अवस्था, यी विविध कारणले गर्दा सरकारले अपेक्षा गरेअनुसार काम गर्न सकेको छैन । तर फेरि पनि हाम्रो प्रयत्न के छ भने यसैलाई सुव्यवस्थित गरेर डेलिभरी दिनुपर्छ भन्ने अभियानमा छौँ । यो सरकारले केही राम्रा काम पनि गरेको छ । तर महँगी बढेको छ, जनताको चुलोचौको महँगो भएको छ, त्यो बारेमा हामीले प्रयत्न गर्दागर्दै पनि सरकार त्यतातर्फ पुग्न सकेको छैन ।
तपाईंहरू पनि त यो सरकारमा हुनुहुन्छ, यो सरकारलाई घभ्घच्याउनुपर्छ होला ?
हामीले प्रयास नै नगरेको कहाँ हो र ! नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरूलाई हामीले केन्द्रीय कार्यसमितिको बैठकमा बोलाएर यस विषयमा भनेका छौँ । काम गर्न नसक्ने साथीहरूले जति बेला पनि पद छोड्नुपर्छ भनेर हामीले चेतावनी नै दिएका हौँ । तर अझै पनि अपेक्षाकृत परिणाम देखिएको छैन । यसको कारण के हो भने हामीकहाँ साधनस्रोतको सीमितता छ । आन्तरिक बजार मन्दीमा छ । हो, विदेशी मुद्राको सञ्चिती विश्व बजारको हिसाबले निकै स्टान्डर्ड अवस्थामा पुगेको छ । तर, आन्तरिक बजार अस्तव्यस्त छ । मध्यमस्तरीय व्यवसायिकदेखि ठूला व्यवसायीहरू अहिले निकै आतंकित छन् । अहिले मुलुक उटपट्याङवादमा चलेको छ । सहकारीको अवस्था देखिरहनुभएको छ, बैंकहरूको अवस्था पनि त्यही देखिन थालेको छ । अहिले बैंकमा पैसा थुप्रिएको छ । ऋण लिन म गइरहेको छु, तर मागेजति डकुमेन्ट मैले पु¥याउन सकिरहेको छैन । यस्ता खालका कारणले आन्तरिक बजार अहिले सुकेको छ । अहिले हामीले कसरी बजार चलायमान बनाउने भनेर लबिइङ पनि गरिरहेका छौँ ।
कांग्रेस र एमालेको अहिलेको सरकार अन्तर्राष्ट्रिय सम्बन्धमा चुकेको हो ?
मैले त्यसरी हेरिरहेको छैन । नेपालले चीनसँग बीआरआई सम्झौता गरेपछि दक्षिणको छिमेकी भारत कतै हामीसँग चिढियो कि ? कुरा के हो भने कांग्रेस पार्टीले बीआरआई गर्नै हुन्न भनेको होइन, कांग्रेसको अहिले पनि धारणा के हो भने ‘ऋण लिन सक्ने ल्याकतमा छैनौँ हामी ।’ मित्रराष्ट्र चीनको ठूलो र महत्वाकांक्षी परियोजना हो, बीआरआई । त्यही भएर सम्झौतामै ऋणका बारेमा विचार गर्ने हो, अनुदानका लागि आग्रह गर्ने मोडेलमा काम गरेका हौँ । र, अहिले बीआरआई सम्झौतापछि भारत नेपालसँग रिसायो कि भन्ने देखिएको छ । सबैभन्दा पहिला हरेकको अर्जुनदृष्टि भनेको जनता र राष्ट्र हो । जनता र राष्ट्रको हितका पक्षमा काम गर्दाखेरि को रिसाउने को खुसाउने कुरा महत्वपूर्ण होइन । यो जनता र राज्यको पक्षमा काम गर्दा कोही केही समय टाढा भयो होला, अहिले पनि हामीले दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलन कायम गर्नका लागि प्रयत्न गरिरहेका छौँ ।
छिमेकीको मन दुख्दा नेपालमा राजनीतिक उथलपुथल हुन्छ कि भन्ने आकलन पनि त भइरहेको छ ?
अलिकति रिसायो भने आकाशै खसिहाल्छ कि जसरी हामीले प्रचारबाजी पनि गर्ने गरेका छौँ । ऊ हाम्रो असल छिमेकी भएकाले धेरै कुरा लेनादेना छ । तर, हामीले के गर्दा हाम्रो राष्ट्रिय हित हुन्छ, त्यो निर्णय गर्ने अधिकार पनि हाम्रो हो । हामी चीन र भारतको राष्ट्रियतामा आँच नआउने कुरा गर्नका लागि प्रतिबद्ध पनि छौँ ।
चीन र भारतको पछिल्लो सम्झौतालाई हामीले कसरी बुझ्ने ?
नेपाली भूमि प्रयोग गर्ने सन्दर्भमा चीन र भारतले गरेको पछिल्लो सम्झौता एकदमै गलत छ । हामीले भर्खरै चीनसँग सम्झौता पनि गरेका छौँ । यदि चीनले हामीलाई शतप्रतिशत हेर्ने दृष्टिकोण ठिक थियो भने त, भारतसँगको सम्झौता हुँदा हामीलाई पनि त मध्यविन्दुमा राख्थ्यो । भारतसँगको त हाम्रो अझै धेरै पुरानो सम्बन्ध हो । उसको पनि हामीलाई हेर्ने दृष्टिकोण राम्रो हुन्थ्यो भने त हाम्रो भूमि प्रयोग भइरहेको अवस्थामा हामीलाई नै नसोधेरै सम्झौता गरेका छन् । यसलाई चीन र भारत मिलेर छिमेकीलाई हेपेको अवस्था हो । नेपाल यसरी हेपिएर बस्नु हुँदैन । यसलाई समाधान गर्नका लागि अत्यन्तै चतुर कूटनीतिका साथ सरकार लाग्नुपर्छ ।
प्रतिक्रिया