भक्तपुर । ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने नाराका साथ भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव जारी छ । महोत्सवमा मध्यपुर थिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेसा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिएको छ । महोत्सव आजसम्म चल्नेछ । महोत्सवको उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार उदघाटन गरेका थिए । बालकुमारी मन्दिर परिसरमा भएको उद्घाटन समारोहमा बोल्दै सिंहले कला संस्कृतिले सम्पन्न मध्यपुर थिमिभित्र रहेका मूर्त, अमूर्त सम्पदाहरूलाई महोत्सवले विश्वसामु ल्याउन सहयोग गर्ने बताए । मौलिक खाना, कला–संस्कृति लगाएत परम्परागत सीपको जगेर्ना गर्नुका साथै जीवन्त राख्न यस्तो महोत्सवले टेवा पुराउने विश्वास पनि सिंहले व्यक्त गरे ।
सो अवसरमा संघीय सांसद दुर्लभ थापाले कला संस्कृतिले धनी नगरको रूपमा मध्यपुर थिमि अग्रस्थानमा आउने बताए ।
कार्यक्रममा सांसद सन्तोष परियार, बाग्मति प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, पूर्व मेयर मदनकृष्ण श्रेष्ठ लगायतले बोलेका थिए ।
मध्यपुर थिमिलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पु¥याउने उद्देश्य महोत्सवको रहेको मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बताए ।
स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार र उत्पादनलाई प्रवद्र्धन गर्ने, यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै ती समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्य पनि महोत्सवको रहेको छ ।
थिमि शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश र बोडे हुँदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई प्रदर्शनीस्थलको रूपमा प्रस्तुत गरिएको छ । महोत्सवका क्रममा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहेको छ ।
महोत्सवमा स्थानीय कला, संस्कृति, परम्परा र हस्तकला प्रवद्र्धन गर्न विभिन्न प्रदर्शनी गरिएको छ । महोत्सवमा सांस्कृतिक नाच, बाजागाजा, नेवारी भेषभूषा र परम्परागत सामाग्रीहरू, खानेकुरा र पुस्तक प्रदर्शनी समेत गरिएको छ ।
महोत्सवमा माटोको भाँडाकुँडाको प्रवेशद्वार, भैरवको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने व्यक्तिको प्रतिमूर्ति, बुद्धको अस्तुको दर्शन, नेपाली मुद्रा तथा सिक्काको प्रदर्शनी, माटोको करिब ५ फिट अग्लो सुकुन्दा, ५३ थरिका गेडागुडीको प्रदर्शनी, नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार र अन्य पर्वहरूमा खाने भोजको करिब ३५ प्रकारका खानेकुरा प्रदर्शनी, सामूहिक ब्रतबन्धको प्रतिकात्मक प्रदर्शनी, तरकारीको प्रवेशद्वार, विभिन्न देवदेवताका खट प्रदर्शनी महोत्सवको आकर्षण रहेको छ ।
प्रतिक्रिया