देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचौं संस्करणको लिटिल आइडल नेपालको प्रशिक्षण जारी

देशान्तर


काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं संस्करणमा प्रवेश गरेको छ । बालबालिकाको क्षमता विकास, रचनात्मकता निखार र शैक्षिक अभिरुचि प्रोत्साहन गर्न लक्षित यो प्रतियोगिताको पुषको पहिलो सातामा भने बालबालिकाको सिर्जनशिलतालाई प्रोत्साहन गर्ने उदेश्य अनुरुप बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
यस प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका र अन्य क्षेत्रका विभिन्न विद्यालयका ५० जना बालबालिकाले सहभागिता जनाएका छन् । दशैं–तिहारको बिदालाई सदुपयोग गर्दै आयोजित यस कार्यक्रमले बालबालिकालाई प्रयोगात्मक सिकाइ, मनोरञ्जन र रचनात्मकताका माध्यमबाट उनीहरूको क्षमतालाई उजागर गर्ने अवसर प्रदान गरिरहेको छ ।

प्रतियोगिताको प्रारम्भिक चरणमा बालबालिकाले गीत, नृत्य, नाटक र चित्रकलाजस्ता विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । २२ जना जुनियर र १२ जना सिनियर प्रतियोगीहरूले क्रमशः आ–आफ्नो प्रस्तुति गर्दै अगाडि बढिरहेका छन् । कार्यक्रमको निर्णायक प्यानलमा मनिष शाक्य, एन्जिला भट्टराई, अनिशा ओली, वेनिश मगर र विशालदेव भण्डारी रहेका छन् । निर्णायकहरूले बालबालिकाको प्रस्तुति मूल्यांकन गर्दै उनीहरूलाई सुधार र प्रोत्साहनका उपायहरू सुझाइरहेका छन् ।

प्रतियोगिताका क्रममा सामुदायिक प्रहरीको सहकार्यमा बालबालिकाका लागि सवारी साधन प्रयोग, ट्राफिक नियम र जेब्राक्रसको उचित प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । यसले बालबालिकालाई सडक सुरक्षा र सामाजिक उत्तरदायित्वबारे ज्ञान प्रदान गरेको छ । यस्तै, बालबालिकालाई नेपालको सांस्कृतिक सम्पदाबारे बुझाउन विभिन्न ऐतिहासिक क्षेत्रको भ्रमणसमेत गराइएको छ । यसले उनीहरूलाई नेपालको इतिहास, सम्पदा र सांस्कृतिक महत्त्वबारे थप जानकारी प्राप्त गर्न प्रेरित गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल चरण पुष १३ गते सम्पन्न हुनेछ । यो प्रतियोगिताले बालबालिकाको रचनात्मकता निखार्न र शैक्षिक क्षेत्रमा उनीहरूको आकर्षण बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजको छ । आयोजकले यसलाई राष्ट्रियस्तरमै अद्वितीय प्रयासको रूपमा लिएको छ ।