देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सरकार ढल्नुपर्ने कारण छैन’- आचार्य

देशान्तर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढल्नु पर्ने कुनै कारण नै नभएको बताएका छन् । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले आचार्यसँग वर्तमान सरकारको सन्दर्भ, मंसिर १६ गते सम्पन्न उपनिर्वाचनको नतिजा र कांग्रेसको १५औँ महाधिवेशनको विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंशः


हालै सम्पन्न उपनिर्वाचनको नतिजाले नेपाली कांग्रेस उत्साहित हो ?
नेपाली कांग्रेसले पछिल्लो महासमितिको बैठकबाट चुनावअघि गठबन्धन नगर्ने निर्णय लिएको थियो । त्यो सन्दर्भलाई हेर्ने हो भने हामीले प्राप्त गरेको नतिजा उत्साहजनक रह्यो । नेपाली कांग्रेस एक्लै पनि भिन्न पहिचासहित चुनाव लड्न सक्षम छ, एक्लै चुनावमा जानु पर्छ भन्ने कुरालाई स्थानीय तहका सबै साथीहरूले अनुमोदन गर्नु भएको छ । विगतमा भन्दा यस पटक पार्टीका साथीहरूमा एकता र उत्साह देखियो ।

कीर्तिपुरमा जित्दा अन्यत्र हार्नु भयो फेरि ?
कतिपय ठाउँमा उम्मेदवारी चयन गर्ने विषयमा धेरै ढंगले विचार पु¥याउनु पर्छ भन्ने कुराको सन्देश प्राप्त भयो । जहाँ स्थानीय स्तरकै साथीहरू आपसमा बसेर सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्नुभएको छ अथवा, पार्टीभित्रका साथीहरूका विभिन्न पक्षलाई अलि सुक्ष्म रूपले अध्ययन गरेर टिकट वितरण भएको ठाउँमा हामीले चुनाव जितेका छौँ । कतिपय ठाउँमा चुनाव नजित्दा पनि पहिलाको भन्दा अहिले प्रतिशतका हिसाबले भोटमा प्रगति गरेका छौँ । एकातिर सबै स्थानमा रुख चिन्हमा भोट हाल्न पाउने कुराले एक खालको उत्साह थप्यो भने अर्कोतर्फ उम्मेदवार चयनमा अब पार्टीले वैकल्पिक विधितर्फ पनि सोच्नु पर्छ भन्ने सन्देश प्राप्त भएको छ ।

टिकट वितरणको ढर्रा त पुरानै छैन र कांग्रेसमा ?
२०७९ को निर्वाचका बेला टिकट वितरणको व्यवस्था जुन विधान अन्तर्गत गरेका थियौँ, अहिले पनि हामी त्यही विधान अन्तर्गत चलेका छौँ । यसबीचमा विधान संशोधन नभएकाले विधि र प्रक्रिया फरक हुने कुरा भएन । तर अब चाँडै विधान अधिवेशनको समेत काम गर्ने गरी महासमिति बैठक बोलाउने कुरा भइरहेको छ, त्यसमा विधान परिमार्जनका कुराहरू आउँछन् । त्यसबेला टिकट वितरण र मूल्यांकन प्रणालीबारे व्यापक बहस र छलफल हुनेछ । विधान संशोधनपछि हामी नयाँ प्रक्रियामा जान्छौँ ।

अहिले पार्टी कुन अवस्थामा छ ?
पार्टीमा गुटहरूको निर्माण विशिष्ट परिस्थिति र कारणले हुने रहेछ । २०५९ सालमा नेपाली कांग्रेसको दुखद् विभाजनले निर्माण गरेको समूह, उपसमूहमा आधारित भएर गुटहरू निर्माण हुने क्रम भयो । पछि नेपाली कांग्रेस एक भइसकेपछि पनि त्यसका अवशेषहरू प्रशस्त बाँकी रहे । तर अहिले त्यो सन्दर्भ रहेन । अहिले हामी नयाँ सन्दर्भमा छौँ । शेरबहादुर देउवा २ पटक सभापति भइसक्नु भयो, विधानअनुसार अब फेरि उहाँ सभापति हुनुहुन्न । उहाँ आफैँले पनि त्यो ‘रेस’मा छैन भनिसकेपछि हिजोको जस्तो गुट अब रहेन । अब नयाँ ढंगले पार्टीभित्र वैचारिक ध्रुवीकरण हुन्छ । त्यो भनेको हिजोका गुटउपगुट भत्किने कुरा हो ।

गुट उपगुट भत्किन्छ’ भन्दै गर्दा १४औँ महाधिवेशनमा तपाईं जुन गुटमा हुनुुहुन्थ्यो, त्यो गुट पनि एक ढिक्का हुँदैन भन्ने कुरा हो ?
अरुको गुटउपगुट भत्किन्छ भन्दै गर्दा फलानो गुटउपगुट चाहिँ रहिरन्छ भन्ने होइन । सबै भत्किन्छन् । त्यसपछि नेपाली कांग्रेसको सांगठनिक निर्माणको प्रक्रिया १५औँ महाधिवेशनबाट नयाँ तरिकाले सुरु हुन्छ ।

अहिले डा. शेखर कोइराला र गगन थापाको सम्बन्ध कस्तो छ ?
यो राजनीतिक क्षेत्र हो । उहाँहरू राजनीतिमा हुनुहुन्छ । नेताहरू राजनीतिक एजेन्डाको विषयमा नजिक र टाढा हुन्छन् । उहाँहरूको मात्रै होइन अरु नेताहरूको सम्बन्ध पनि यस्तै हुन्छ । शेखर र गगन एजेन्डा मिल्दा एक ठाउँमा हुन सक्नु हुन्छ, मिलेन भने फरक कित्तामा उभिन पनि सक्नु हुन्छ । उहाँहरू दुई जनालाई मात्रै केन्द्रमा राखेर राजनीतिलाई गर्मागरम बनाउन जरुरी छैन ।

तपाईँहरूको गुट एकजुट नबन्दा सभापति देउवालाई सजिलो भएको टिप्पणी भइरहेको छ नि?
१४औँ महाधिवेशन सकिएपछि हाम्रो गुट एकदमै कमजोर भइसकेकै हो । सामूहिक रूपमा बैठकहरूमा आवाज उठाउने, महासमितिमा सामूहिक छलफल गरेर एजेन्डा लैजाने या पार्टीका महत्त्वपूर्ण घटनाक्रममा सँगै बसेर निर्णय लिने भन्ने कुरा त उतिखेरदेखि नै कमजोर बन्दै आएको हो । यसमा हामीले सँगै बसेर छलफल गरेर समान धारणा बनाउँदा नै पार्टीलाई रूपान्तरण गर्न सकिन्छ है भनेर कुरा उठाएकै हौँ । तर त्यो आवाजले त्यतिखेरदेखि नै सुनुवाई पाएन ।

पहिला त गुटका बैठकहरू बस्थे, अहिले त बस्न छाडे है ?
कुनै निश्चित एजेन्डाका विषयमा छलफल गर्न जो–जो साथीहरू बस्दा पनि हुन्थ्यो । पार्टीलाई नोक्सानभन्दा पनि फाइदा गर्नका लागि बस्ने कुरा जायज नै हुन्छ । पार्टीलाई सुझाव दिनका लागि यस्ता छलफल आवश्यक हुन्थ्यो । पछिल्लो समय खासै प्रभावकारी ढंगबाट भएको छैन ।

अहिले नेपाली कांग्रेस १०० दिने विशेष अभियानमा छ, के हो उद्देश्य ?
नेपाली कांग्रेससले सुरु गरेको १०० दिने अभियानको आवश्यकता किन भन्ने कुरा त जिल्ला जिल्लामा खटाइएका साथीहरूलाई दिएको ‘टिओआर’ले पनि प्रष्ट गर्छ । यो पार्टीका लागि धेरै जरुरी र महत्वपूर्ण थियो र छ पनि । अहिले यो बीचमा कहिले के घटनाक्रम, कहिले के घटनाक्रमले गर्दा एउटै लयमा सबैतिर कार्यक्रम चलाउने स्थिति बनेन । जसले गर्दा पार्टीले अपेक्षा गरे अनुरूप काम भएन कि भन्ने मेरो अनुमान छ ।

यो अभियानलाई १५औँ महाधिवेशनको आन्तरिक तयारी भनेर पनि बुझ्ने त होला ?
१५औँ महाधिवेशनको तयारी भन्ने हो भने कतिपय मान्छेले १३औँ महाधिवेशनपछि नै तयारी थालेका हुोलान् । कतिपय कुराहरू १४औँ महाधिवेशन सकिना साथ पनि सुरु भएको हुन्छ । पार्टीको क्रियाशीलता र पार्टीका साथीहरूको एकता र मेलमिलापको कुरालाई पार्टीको अधिवेशनसँग लगेर जोड्नु पर्छ जस्तो मलाई लाग्दैन । पछिल्लो समय अधिवेशनका कुराहरू आइरहेका पनि छन्, अहिले काम भन्दा पनि गलत कुराहरूतर्फ केन्द्रित भएको छ भन्ने भान भएको छ ।

अहिले पार्टीमा क्रियाशील सदस्यता वितरण र नवीकरणको कुरा चलिरहेको छ । यी विषय त अधिवेशनसँगै सम्बन्धित होइनन् र ?
सदस्यता वितरण त अभियान चलाएर हुन्छ, त्यो गर्नै पर्छ पनि । पार्टीको आधाकारिक आधार भनेको त सदस्यता नै हो । सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्नेलगायतका कुरा एउटा राजनीतिक पार्टीको लागि त विशेष कर्म नै हुन्छ । एकथरीको मात्रै वितरण भएको भए पो भन्न सकिन्थ्यो, अहिले त सबैथरी साथीहरू सबै जिल्लामा गएर यो अभियान सञ्चालन गर्नु भएकाले पार्टीको क्रियाशिलतालाई महाधिवेशनसँग मात्र जोडेर हेर्न उपयुक्त हुँदैन ।

कांग्रेसमा सदस्यता वितरण भनेको अधिवेशनको वर्ष मात्रै हुन्थ्यो, यसपालि त सुरु नै भइसक्यो । त्यसैले अधिवेशनको तयारी भनिएको हो कि ?
यो विषयलाई पार्टीमा सकारात्मक सुधारको प्रयत्न भएको रूपमा बुझ्न पर्छ । नेपाली कांग्रेसको विधानअनुसार हरेक वर्ष सदस्यताको नवीकरण र नयाँ सदस्यता वितरण गर्न सकिने उल्लेख छ । त्यो अभ्यासमा आएको थिएन । यस पटक ‘हरेक वर्ष सदस्यता वितरणको काम गरौँ’ भनेर प्रयत्न भयो । अहिले पनि सदस्यताको काम भइरहेको छ । केन्द्रीय समितिका पछिल्ला बैठकहरूमा राम्रै छलफल पनि भयो । तर हिजोकै ‘माइन्डसेट’बाट अहिले किन गर्नु प¥यो र भन्ने मानसिकता बाँकी नै छ । तर त्यो होइन है, विधानमा भएको व्यवस्थाअनुसार अघि बढौँ र यसले पार्टीको जीवनलाई लाभ पुग्छ भन्ने कुरा बुझाउने प्रयत्न पार्टी पंक्तिबाट अहिले भइरहेको छ ।

नेपाली कांग्रेसको सदस्यता किन लिने ?
जनतासँग लगेर राजनीति जोडेको, नागरिकको चाहनाअनुसार शासन सत्ता चल्नुपर्छ भन्ने वैचारिक र दार्शनिक पद्धतिको वकालत गर्ने मात्र होइन, निरन्तर संघर्ष गर्ने, जेलनेल लडाइँभिडन्त प्रवास सबै भोगेको पार्टी नेपाली कांग्रेस हो । एउटा सानो कुनै घटनामा मात्रै यसको परीक्षण हुँदैन । पटक पटक जनताका बीचमा अप्ठेरो जिम्मेवारी निर्वाह गर्नु पर्ने कुरामा पनि आफूलाई जनताको बीचमा प्रमाणित गरेर आएको पार्टी हो । र अहिले पनि नेपालमा भएका राजनीतिक दलहरूमध्ये सैद्धान्तिक र वैचारिक हिसाबले भन्नुहुन्छ भने कतै विवाद नभएको, निष्ठामा प्रश्न नउठेको पार्टी कांग्रेस मात्रै हो । जनताले कांग्रेससँग गुनासो गर्दा समयसापेक्ष सुधार पनि गरेको छ । नेपाली कांग्रेस हिजोको पुस्ताका लागि मात्रै थिएन, अहिलेको पुस्ताका लागि पनि उत्कृष्ट छनोट हो । भोलिका पुस्ताको चाहनाअनुसार नै पार्टीलाई रूपान्तरण गरेर अघि जान सक्ने पार्टी कांग्रेस हो । त्यसैले नेपाली कांग्रेसको सदस्यता लिनु उत्तम राजनीतिक चयन हो ।

नेपाली कांग्रेसको महाधिवेशन ०८२ सालमै हुन्छ ?
गर्नु पर्छ । त्यसको तयारीका लागि जुटौं भनिरहेको छु । अहिलेको १०० दिने अभियानमा सदस्यता वितरण र नवीकरणको काम भन्नु नै हामी सबै समयमै अधिवेशन गर्नका लागि लागौँ भन्ने नै हो । सदस्यताको कामहरू जहाँ जहाँ अल्झिएका छन्, त्यही अल्झिन दिइँदैन । त्यो भन्दा अगाडि लैजाने कुरामा केन्द्रले हस्तक्षेप गर्ने अवस्था आयो भने गर्छ है भन्ने कुराहरू सुनिरहनु भएको छ । यसले पनि समयमै अधिवेशन गर्नका लागि समयमै काम पुरा गरौँ भनेको हो ।

१५औँ महाधिवेशन पछाडि कांग्रेस कस्तो बन्छ ?
१५औँ महाधिवेशन पछाडि युवाचेत, सोच, सक्रियता चिन्तन र एजेन्डासहितको नेतृत्व आउँछ । गुटबाट एकदमै जकडिएको अवस्थाबाट बाहिर निस्किएको र अहिलेको भन्दा पनि बढी विकेन्द्रित र उदार पार्टी बन्छ । सदस्यहरू शक्तिशाली भएको र अहिलेका विकृति÷विसंगतिलाई अन्त्य गर्दै जाने किसिमको बलियो व्यवस्था विधानमै प्रबन्ध गरेर अघि बढेको कांग्रेस हुन्छ ।

अब सरकारका कुरा गरौं । सरकार टिक्छ होइन त ?
अहिले नटिकीहाल्नु पर्ने कारण छैन । सरकार नटिक्ने हल्ला त सरकार निर्माण भएकै दिनबाट सुरु हुन्छन् । कहिले त पुरै अवधि सरकार चलिसकेको भए पनि अर्को ढंगका हल्लाहरू बजारमा आउँछन् । तर अहिलेको हल्लामा कुनै सत्यता छैन । यो सरकारमा हामी पनि सहभागी भएकाले राम्रो काम गर्नका लागि उत्प्रेरित गर्ने हो । पार्टीले सिधै सरकार चलाउने त होइन । हामी संसदीय लोकतान्त्रिक प्रणालीमा छौँ । पार्टीले सत्ता सञ्चालकहरूलाई बेलाबेलामा फिडब्याक दिने कामहरू गर्दै जानुपर्छ र बाहिर बजारमा आएका नकारात्मक कुराहरूलाई तथ्यगत रूपमा करेक्सन गर्ने काम गर्नुपर्छ ।