काठमाडौं । बीपी कोइराला नेतृत्वको प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर ‘कालो दिवस’का रूपमा मनाइँदै छ ।
विसं ०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालालगायत नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बीपीलगायत नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायत नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो ।
सोही जेलमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’लगायत उपन्यास रचना गरेका थिए ।
पुस १ गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं ०६१ भदौ २४ गते सो बन्दीगृहलाई बीपी संग्रहालयका रूपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।
आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाएका छन् ।
प्रतिक्रिया