काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए । संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको र संशोधन दुईवटा दलले मात्रै गर्ने बिषय नभएको उनको भनाई थियो । संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए । सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताए ।
यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै कांग्रेस र एमालेबीचमा भएको सहमति अनुसार २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्ने बताए । दुई दलबीचमा कुनै समस्या नरहेको र सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उनले स्पष्ट पारे । राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै उनले संसदीय छानबिन समितिले गरेको निर्णय सरकारले कार्यान्वयन गरेको बताए । कानुनी रूपमा अनुसन्धान सुरू गरिएको बताउँदै उनले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु भएको भन्दै त्यस्तो गर्न नहुने बताए ।
सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने पनि बताए ।
प्रतिक्रिया