काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
दुबईको सारजाह क्रिकेट रंगशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ । प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १३१ रनले पराजित भएको थियो ।
एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए ।
समूह ‘बी’ मा नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतिक्रिया