काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएका थप ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको छ । परिचयपत्र प्राप्त गर्नेमा नेपाली भाषा, जातीय, र क्षेत्रीय चलचित्रका निर्माता, निर्देशक, कलाकार, तथा प्राविधिकहरू समावेश छन् ।
बोर्डमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल र बोर्डका अध्यक्ष दिनेश डीसीले परिचयपत्र वितरण गरेका हुन् । डीसीले नेपाली चलचित्रकर्मीहरूको निरन्तर योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको बताएका छन् । यसैबीच, चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा ऐतिहासिक कदमस्वरूप पटकथा संग्रहालयको औपचारिक सुरुवात गरेको छ । सोही दिन मन्त्री गुरुङले पटकथा संग्रहालयको औपचारिक सुरुवात गरेका हुन् । बोर्डले यो कदमलाई ‘नेपाली चलचित्रको इतिहासलाई जोगाउने उद्देश्य’ भनेको छ । यो संग्रहालयले नेपाली चलचित्रका पटकथाहरूलाई सुरक्षित राख्नेछ । सो कार्यक्रममा हालको लागि ६ जना निर्माता, लेखक तथा निर्देशकले आफ्ना एक–एक चलचित्रका पटकथाहरू हस्तान्तरण गरेका थिए ।
‘बोक्सीको घर’की निर्मात्री तथा अभिनेत्री केकी अधिकारी, ‘अन्तराल’ लेखक तथा निर्देशक दीपा बस्नेत, ‘नांगो गाउँ’ लेखक तथा निर्देशक दीपेन्द्र लामा, ‘दुई नम्बरी’ निर्माता किरण नेपाली, ‘चिसो मान्छे’ लेखक तथा निर्देशक दीपेन्द्र के खनाल, ‘कबड्डी ४’ निर्देशक तथा निर्माता रामबाबु गुरुङ र ‘छक्का पञ्जा ५’ निर्माता तथा निर्देशक दीपाश्री निरौलाले पटकथा बोर्डलाई प्रदान गरेका हुन । बोर्डले पटकथाहरूलाई डिजिटल अभिलेखको रूपमा तयार पार्ने योजना बनाएको छ । कार्यक्रममा बोर्डका अध्यक्ष डीसीले नेपाली चलचित्रको प्रचारप्रसारलाई अझ सशक्त बनाउन रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, र गोरखापत्रमा निःशुल्क प्रचारको व्यवस्था मिलाएको साथै, चलचित्र हलहरूको अवलोकन र ड्रोन लाइसेन्स वितरणका लागि एकद्वार नीति बनाउने योजना रहेको बताएका थिए ।
सो अवसरमा ७२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको थियो । साथै, बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार मंसिर १२ गते आयोजना हुने घोषणा गरेको छ ।
प्रतिक्रिया