देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खरानीका डल्लाका चल्लाहरू 


विषम कालखण्डको बतासे फुलहरू

खरानीका डल्लाका चल्लाहरू 

कति धेरै फूँ फूँ गर्छौ ! 

कसले कसलाई खोज्ने ?

कसले कसलाई धोका दिने ?

को कसको बेड पार्टनर बन्ने ?

गठबन्धन भत्किने, गठबन्धन बन्ने 

सरकारको अदली बदली 

खोल्ने बन्द गर्ने साँचो मास्टर–की

फाइल रोकिने, अगाडि बढ्ने 

नियुक्ति, खोसुवा 

मुद्दा कमजोर पार्ने, बलियो पार्ने 

हराउने जिताउने

लेनदेनको हिसाब राफसाफ 

बाँकी बक्यौता लेनदेन अनुसार 

अख्तियारमा कुन भ्रष्टाचारीलाई पठाउने 

निर्वाचन आयोगमा कसलाई

अदालतमा कुन खाँटी कार्यकर्ता 

कुन भ्रष्टाचारमा प्रेसर गरेपछि 

सरकार टिक्छ

कुन भ्रष्टाचारमा प्रेसर गरेपछि

सरकार ढल्छ 

कुनमा प्रेसर गरेपछि नोटको वर्षा हुन्छ

अनि कुनबाट पार्टी कार्यालय बन्छ

भित्रकाले मात्र होइन यसमा खेल्ने 

बाहिरी शक्तिले पनि यसैमा खेल्न थालिसके

मानव तस्करी त राजनीतिको अंग बनिसक्यो

यो नै सत्ता राजनीति बन्यो

बेलगाम स्वनामधन्य भ्रष्टाचार 

भ्रष्टाचारको तुलो मुलुकको राजनीति 

भ्रष्टाचार बढी जुन पल्लामा

त्यो माथबरी मान्छे भयो मुलुकको

अनि उसले शंख फुक्न थाल्छ 

स्थायित्व र समृद्धिको एजेन्डा मात्र सरकारको 

अर्को राउन्ड भ्रष्टाचारको लागि 

ए ! कानुन हाँक्ने अपराधीहरू

भ्रष्टाचारको लागि आदेश निर्देश दिनेहरू

तदनुरूप कानुनको अदली बदली गर्नेहरू

तिमीहरू बेनकाब भइसकेका छौ 

यसै गरी भ्रष्टाचारको खेलबाट

सत्ता साटासाटको राजनीति 

कस्तो डरलाग्दो कन्फ्युजन सर्वत्र फैलिएको

वा ! वा !! प्रतिगमन र अग्रगमनको फ्युजन 

विकासे गफको वमन

भ्रष्टाचारको चमन

तोरीको दाना दाना जम्मा गरेर

आना आना कहिले भर्ने ?

बयल गाडी चढेर पाताल कहिले पुग्ने ?

ड्याङ कि ड्याङ हान्ने हो

अब त सोहोर्दा पनि नभ्याउने समय

त्यसैले सट्टापट्टा गरेर रफ्फा डफ्फा मिलाउनु पर्ने

पैसा अपराधीसँग छ राज्य मारेको

चोर माथि चाकर गर्ने संयन्त्र सेटिङ, ट्युनिङ 

भ्रष्टाचार गर्ने नयाँ नयाँ स्वरूपको आविष्कार 

ऐन कानुन, नियम निर्देशिका बदलेर नहुनेमा 

आफ्नै श्रीमतीसँग नक्कली डिभोर्स गर्ने

यी लोभी पापी लुच्चाहरू! चित्रगुप्तको सामना गर्ने ?

कहाँ गर्ने ? कसरी गर्ने ? 

यी सब दिग्भ्रमित कुरा गरेर 

कसलाई दिग्भ्रमित गर्न खोजेको ?

यी गफ गर्ने कुराहरू कति गर्दै जान्छौ 

अब त सब जगजाहेर भएका छन्

कहिलेसम्म नाटक गर्छौ ? नाटक देखाउँछौ ?

युवाको कहिले नटुंगिने कतारलाई

समाजवादको बाटोको मुलुक भनेर

तीन करोडको घडी लगाएर 

स्विस बैंक बेलेन्स बढाएर

ए बाम पुड्केहरू ! कति अग्लो नाटक गर्छौ ? 

सगरमाथाभन्दा अग्लो 

हरेक दिन जमिनध्वज हुँदै गएर

वाकपटुताबाट निकालेको कुहिरो भित्र 

जति लुटे पनि नदेखिने हुने राजनीतिक सामथ्र्य 

अब छैन, आहारा जति सबै खाने ऐ सर्वहारा !

सब छ्याङ भइसक्यो 

पूर्वाहुतीले जगाएको चेतनाको पुञ्जले

तर अझै वाकपटुताको कुहिरोको बहममा 

लुटपाटसँगको समागम आतुर

कति नाङ्गै निर्लज्ज दौडिरहन्छौ ?

आसुर मति र गति लिएर