देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाथीभरा मन्दिरसम्म पुग्न केबलकार बन्ने

देशान्तर


काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको योजना अघि बढेको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा शुक्रबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बताए । ‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयरज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयको उल्लेख्य उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं। अब काम द्रुत गतिमा हुन्छ,’ उनले भने ।


पाथीभरा केबलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोसे ढुंगा बन्ने बताउँदै निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए ।
यसअघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । अबको १५ महिनाभित्र केबलकार चढ्न पाइने उनले विश्वास व्यक्त गरे ।
उनका अनुसार पर्यटन प्रवर्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।