काठमाडौं । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् ।
विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । आज एक सय ७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दैछन् । यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ । जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ । मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । यस्तै फ्लाई दुबईले दैनिक उडान गर्ने उनले बताए । नेपाल एयरलाइन्सले सातामा तीन पटक काठमाडौँ–भैरहवा–दुबई उडान गर्नेछ । तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ । तिवारीका अनुसार कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ । उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्नसक्ने क्षमता रहेको बताए । भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् ।
प्रतिक्रिया