देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाजामा नागरिकको अवस्था ‘असहनीय’ राष्ट्रसङ्घीय प्रमुख

देशान्तर


काठमाडौं । गाजा पट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन्, भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानूनको बर्खिलापमा जारी रहेको गुर्टेरेसले बताएका छन् ।उनले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपङ्तीमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताएका छन् ।
गुटेर्रेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गरेका छन् । यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबीच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गरेका छन् ।

आइतबार गरिएको प्रस्तावमा गाजामा बन्धक बनाइएका चार जना इजरायली कैदी र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबीच आदानप्रदान गर्ने र त्यसपछि १० दिनभित्र युद्धविरामका लागि थप वार्ता गरिने सिसीले कायरोमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । उहाँले यो योजना औपचारिक रुपमा इजरायल वा हमाससमक्ष प्रस्तुत गरिएको हो वा होइन भन्नेबारे भने केही बताएका छैनन्।

इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध युद्ध लडिरहेको र आफ्नो प्रमुख शत्रु इरानमाथि हवाई आक्रमण सुरु गरेको अवस्था र प्यालेस्टिनी भूभागमा कब्जा जमाइरहेको बेला सिसीको यो भनाइ सार्वजनिक भएको हो । इरानी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको दोस्रो पटक इजरायलले बदला लिएको शनिबारको आक्रमणले संयमित हुन विश्वव्यापी आह्वान गरेको छ ।

इरानको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सोमबार बस्ने छ र तेहरानले चार सैनिकको ज्यान जाने गरी भएको आक्रमणको निन्दा गर्न आग्रह गरेको छ । इरानी नेताहरूले आक्रमणले सीमित क्षति मात्र पु¥याएको भन्दै स्वदेश ९इरान० मा युद्धमा आफ्नो उपस्थितिलाई कम महत्व दिएका छन् ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो मन्त्रीमण्डललाई इरान युद्ध नचाहेको तर उपयुक्त जवाफ दिने बताएका छन् ।तेहरानका विदेशमन्त्री अब्बास अरागचीका अनुसार तेहरानले आक्रमण हुनुभन्दा केही घण्टाअघि नै ‘सङ्केत’ प्राप्त गरेको थियो । यसअघि, अमेरिकी समाचार साइट एक्जिओसले इजरायलले ‘व्यापक तनाव बढ्न नदिन’ चेतावनी दिएको जनाएको थियो ।

इजरायलको आक्रमणमा इरानको ऊर्जा पूर्वाधारमा नलागेपछि व्यापारीहरूले राहत महसुस गरेका छन् भने तेलको मूल्य सोमबार पाँच प्रतिशतसम्म घटेको छ। इजरायलले तेहरानसमर्थित लडाकू नेता र एक इरानी कमाण्डरको हत्या गरेको बदलामा इरानद्वारा अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानमाथि आक्रमण गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो अभियान ‘सटीक र शक्तिशाली रहेको र यसले आफ्ना सबै उद्देश्य हासिल गरेको’ बताएका छन् । नेतन्याहूले अक्टोबर ७ मा हमासको आक्रमणको स्मरणार्थ जेरुसेलममा आयोजित स्मृति सभामा बोल्दै गर्दा मृतकका आफन्तको चिच्याहटपछि उनले सम्बोधनलाई केही समय रोक्नुपरेको थियो । इजरायली प्रधानमन्त्रीमाथि गाजामा रहेका बन्दीहरुको रिहाईका लागि पहल गर्न स्वदेश तथा विदेशबाट व्यापक दबाब परेको छ तर उनले आफ्नो हमासविरोधी अभियान तत्काल नरोकिने बताएका छन्।