देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालका अजय राई पुनः अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

देशान्तर

मोरक्को । नेपालका अजय कुमार राईलाई पुनः इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडरेशन (ITF) को विश्व कार्य समिति सदस्यमा निर्वाचित गरिएको छ। मोरक्कोमा अक्टोबर १३ बाट सुरु भएको ITF को ४६औं वर्ल्ड कांग्रेसको इलेक्टोरल बैठकले राईलाई आगामी पाँच वर्षका लागि (सन् २०२९ सम्म) पुनः निर्वाचित गरेको हो। राई यसअघि सन् २०१८ मा सिंगापुरमा सम्पन्न वर्ल्ड कांग्रेसमा पहिलो पटक विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए।

ITF, जसको मुख्यालय लन्डनमा छ, १२८ वर्ष पुरानो संस्था हो जसको १४९ देशमा सञ्जाल फैलिएको छ। यस फेडेरेशनमा करिब दुई करोड सदस्य रहेका छन्, जसमा नागरिक उड्डयन, पानीजहाज, रेलवे, सडक, बन्दरगाह, पर्यटन, र शहरी यातायात लगायत नौ क्षेत्रका श्रमिकहरू समावेश छन्।

फेडेरेशनले विश्वभरका श्रमिकहरूको हक र अधिकारका लागि अन्तर्राष्ट्रिय श्रमिक संगठन (ILO) र आईकाओ जस्ता संस्थासँग सहकार्य गर्दै कानुनी संरचना निर्माण गर्ने, श्रमिकहरूको हितका लागि गतिविधिहरू सञ्चालन गर्ने र श्रमिक संगठनहरूलाई सशक्त बनाउने कार्य गर्दै आएको छ।

राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा सक्रिय छन् र नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकारको भूमिकामा रहेका छन्। उनले अनौपचारिक क्षेत्रबाट ट्रेड युनियन राजनीति सुरु गरेका थिए र तीन कार्यकालसम्म (१५ वर्ष) नेपाल यातायात मजदुर संघको अध्यक्ष पदमा रहेर नेतृत्व गरेका थिए। राईले अन्तर्राष्ट्रिय स्तरमा नेपाली श्रमिकहरूको मुद्दा उठाउँदै आएका छन्।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राईको यो उपलब्धिलाई नेपाली श्रमिक आन्दोलनको ठूलो उपलव्धीको रूपमा लिएको बताए।

अक्टोबर १९ मा समाप्त हुने यो कांग्रेसमा करिब दुई हजार श्रमिक नेताहरू सहभागी छन्। आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो कार्यकालका लागि महासचिवमा निर्वाचित भएका छन् भने नयाँ निर्वाचित विश्व कार्य समिति सदस्यहरूले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन्।