देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलमाथि इरानको मिसाइल आक्रमण

देशान्तर

काठमाडौं। इरानले गए रातिदेखि इजरायलमाथि आक्रमण शुरू गरेको छ। इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको जानकारी मिडिया रिपोर्टहरूले दिएका छन्। यद्यपि, अहिलेसम्म यस आक्रमणबाट ठूलो क्षति नभएको दाबी गरिएको छ। तेल अविवमा दुई जना सर्वसाधारण घाइते भएका छन् भने इजरायलले नागरिकहरूलाई बम सेल्टरमा सुरक्षित रहन आग्रह गरेको थियो।

यी आक्रमणहरू ३० मिनेटसम्म चलेका थिए। इरानले इजरायलमाथि यो आक्रमण हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युको बदला स्वरूप गरेको बताएको छ। इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरी नसरल्लाहलाई मारेपछि इरानले बदला स्वरूप यो कदम चालेको दाबी गरेको छ। इरानले यो सुरुवात मात्रै भएको र थप आक्रमण हुनसक्ने चेतावनी दिएको छ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले इरानको आक्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। इजरायलले उपयुक्त समय र स्थानमा इरानविरुद्ध कारवाही गर्ने योजना रहेको बताएका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई पूर्ण सहयोग गर्ने घोषणा गरेका छन्। उनले उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गर्दै इजरायलमाथि इरानको आक्रमणको समीक्षा गरेका छन्। बैठकमा इजरायलमा रहेका अमेरिकी नागरिकको सुरक्षाका उपायबारे पनि छलफल भएको छ।

युरोपका प्रमुख देशहरू फ्रान्स, बेलायत, जर्मनी र युरोपियन युनियनले इरानको आक्रमणको विरोध गरेका छन्। यसअघि, अप्रिलमा पनि इरानले इजरायलमाथि हमला गरेको थियो, तर अमेरिकी सहयोगमा इजरायलले इरानी मिसाइल र ड्रोन आक्रमण असफल पारेको थियो।