देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१०० दिने अभियानको प्रतिनिधिहरु जिल्ला पुग्दै

देशान्तर

काठमाडौं ।नेपाल कांग्रेसले संगठन सुदृढीकरण गर्ने दावीसहित गत सोमबार (असोज ७ गते)बाट सुरु गरेको १०० दिने अभियानका लागि खटिएका अधिकांश केन्द्रीय प्रतिनिधिहरु जिल्ला र क्षेत्रहरुमा पुगिसकेका छन् । गत साताको भारी वर्षाका कारण राजमार्गहरु अवरुद्ध भएकाले पहाडी र दुर्गम जिल्लामा भने प्रतिनिधिहरु पुग्नेक्रम जारी छ । विशेषतः कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणलाई प्रमुख उद्देश्य बनाई खटाइएका केन्द्रीय प्रतिनिधिहरुले वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्लाका संयन्त्रहरुको बैठक पनि नियमित गराउने दायित्व पनि उनीहरुलाई दिइएको कांग्रेसका एक महामन्त्रीले देशान्तरलाई बताए । त्यसबाहेक भातृ र शुभेच्छुक संगठनहरुको क्रियाशीलता बढाउन पनि उनीहरुलाई भनिएको उनले बताए । कांग्रेसले सदस्यता वितरणलाई आफ्नो सबभन्दा ठूलो कार्यक्रमको रुपमा बढाउने उद्देश्यका साथ यो १०० दिने अभियान चलाएको देखिन्छ । अधिकांश जिल्ला समितिहरुले क्रियाशील सदस्यता नवीकरण र वितरणमा उदासिनता देखाएको निक्यौलका साथ प्रतिनिधिहरु पठाइएको केन्द्रीय कार्यालयको दावी छ । प्रतिनिधिहरुलाई तोकिएको सबै कार्य गरी प्रतिवेदन अनिवार्यरुपमा बुझाउन पनि भनिएको पार्टी मुख्यालयले देशान्तर बताएका छ ।

सयदिने अभियानमा सदस्यता विशेष अभियानका रूपमा ‘सदस्यता घर आँगन अभियान’ सञ्चालन हुने छ । क्रियाशील सदस्यता पत्र पुगे÷नपुगेको अभिलेख राख्ने, सदस्यता पत्र वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्नेछ । ‘क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए÷नभएको, प्राप्त भएर पनि वितरण भए÷नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि बढाउने, जुन तहमा क्रियाशील नवीकरण सदस्यता फारम रोकिएको छ, सो खुलाई कुनै समस्या भए फुकाउने र वितरण सुनिश्चित गर्ने,’ प्रतिनिधिलाई दिइएको कार्यादेशमा भनिएको छ ।
केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ । प्रतिनिधिले समसामयिक विषयमा समेत पार्टीपंक्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्ताबेज र पार्टीले लिएका मुख्य–मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडानलगायत विषयमा पनि प्रतिनिधिहरूले पार्टीका आमकार्यकर्ता तथा सदस्यहरूलाई जानकारी गराउनुपर्नेछ । अभियानबाट आएका सुझावलाई पार्टीभित्र छलफल गरिने महामन्त्री थापाले जानकारी दिए । त्यस्तै, पार्टीको तर्फबाट जितेका स्थानीय तहका जनप्रतिनिधिसँग संवाद गर्न र समन्वयका लागि हरेक स्थानीय तहमा समन्वय र सहजीकरण गर्ने संयन्त्र गठन गर्ने कांग्रेसले जानकारी गराएको छ ।

२०८२ मंसिरमा हुने पार्टीको १५औं महाधिवेशनको तयारीस्वरूप नै कांग्रेसले अहिले सयदिने सांगठनिक अभियान सुरु गरेको हो । महाधिवेशन निर्धारित समयमै हुने सुनिश्चितताका लागि पनि यो अभियान महत्वपूर्ण हुने र यसले क्रियाशील सदस्यता बढाउन पनि सहयोग पुग्ने कांग्रेस नेताहरूको दाबी छ ।