देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेमप्रभासको ‘साँझमा सेल्फी’ सार्वजनिक

देशान्तर


काठमाडौं । कवि हेमप्रभासको नयाँ कवितासंग्रह ‘साँझमा सेल्फी’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रसिद्ध कवि श्रवण मुकारुङ, प्रसिद्ध कवि तथा गीतकार डा. नवराज लम्साल, प्रसिद्ध अभिनेता सरोज खनाललगायतले कवितासंग्रहको सामूहिक विमोचन गरेका हुन् ।
हेम प्रभास नेपाली कविता साहित्यको क्षेत्रमा एक उल्लेखनीय नाम हो । विगत दुई दशकदेखि कविता लेखनमा क्रियाशील उनको ‘पहाड बोकेर पहाडतिर’ ‘सहर पसेको मान्छे’ ‘गीतैगीतको गाउँ’ कवितासंग्रह र ‘उल्झन’ उपन्यास यसअघि नै प्रकाशित छन् ।
कविता लेखन, वाचन र प्रशिक्षणमा सक्रिय उनी अनेकौँ राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

उनको संग्रहबारे प्रसिद्ध कवि तथा गीतकार रमेश क्षितिजले लेखेका छन्– प्रकृति, प्रेम र मानवीय संवेदनाका विभिन्न आयामहरू कवि हेमप्रभासको शिल्प र कारिगरीबाट जीवन्त, कलात्मक र हृदयस्पर्शी कविता भएर जन्मिएका छन् । उनका कविता जति कोमल छन् उति नै परिपक्व र गम्भीर पनि छन् । कविताको भाषा कलात्मक, शिष्ट र मोहक छ । काव्यिक छ । चर्को स्वरमा बाझेको जस्तो होइन, बरु युगल जोडीले प्रेमालाप गरेजस्तो । मन पर्ने मानिसले कानेखुसी गरेजस्तो । मलाई अत्यन्त प्रसन्नताको अनुभूति भयो, अहिलेको समयमा यति शक्तिशाली र गम्भीर अर्थ/भाव बोकेका कविताहरू लेखिँदै छन् ! ‘साँझमा सेल्फी’ कवि हेमको मात्र होइन, यो त हामी सबैको र वर्तमानको अनुहार स्पष्ट देखिने सेल्फी हो । उक्त पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।