देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संबिधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

देशान्तर

काठमाडौं । आज असोज ३ गते अर्थात संविधान दिवस । आज संबिधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संविधान दिवस तथा राष्ट्रिय दिवस– २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु सहभागी भएका छन् ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

संविधान दिवसको अवसरमा आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा एक कार्यक्रम आयोजना गरेका छन् । साथै नारायणहिटी दरबार अगाडिको सडकमा आज साँझ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ । यी कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए ।
संबिधान दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन ।

उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका छन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एकजुट हुन प्रेरणा दिने अपेक्षा गरेका छन् ।

संबिधान दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।

ओलीले संविधानलाई सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूको संरक्षण गर्ने दस्तावेजको रूपमा परिभाषित गरेको बताएका छन् ।

जनताले लामो समयसम्म भोगेको निरङ्कुशताबाट मुक्त भएको कुरा स्मरण गर्दै भविष्यमा स्वतन्त्रताको संरक्षण आवश्यक रहेको उल्लेख उल्लेख गरेका छन् । यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

उनले संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा सङ्घर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण समेत गरेका छन्। यसैगरी नेपालको संविधान दिवसका अवसरमा अमेरिकाले नेपाल सरकार र नेपाली जनताप्रति शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई अधिक महत्व दिएको जनाएको छ ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।