देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि सोह्र श्राद्ध आरम्भ

देशान्तर

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने यो क्षेत्रका विज्ञको मत छ । धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।