देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उहिले बाजेको पालाको उपदेश तथा धम्काइको काम छैन


विनोद सिजापती

बढदो महँगीको भार खेप्दै गर्दा बूढापाकाहरू भन्ने गर्दथे ‘उहिले बाजेको पालामा अन्न गन्थे डालामा ऐले हाम्रो पालामा रुपैयाँँ गन्छन् डालामा’ उनीहरूलार्ई हामी भन्ने गर्दथ्यौं ‘उहिलेका कुरा खुइलिए ।’

स्थापित राजनैतिककर्मीहरूमध्ये अत्यन्त न्यून संख्याले मात्र विगतमा (सरकारविरुद्ध) गरेको आन्दोलनमा सरिक हँुदा तिनले खेलेको भूमिका बढाइचढाइ गर्छन् । जमघट हुँदाको माहोल होस् अथवा अथवा सार्वजनिक मञ्चमा आसिन हुँदा तिनले जेल पर्दा आफूले भोगेको दुःखको वर्णन गर्न चुक्दैनन् । राजनीतिमा लाग्दा आफू तथा परिवार (आफन्तजन)ले भोगेको कष्टप्रद जीवनीको रामकथा सुनाई हाल्छन् । त्यस कालखण्डमा आफूले भोगेको दुःखकष्टलार्ई ‘योगदान’ को उपाधि दिने प्रचलन छ । सत्तामा हाबी भैरहने चाहना सत्तासीन हुनेले गर्छन् । थोरै समय नै किन नहोस् सत्तासीन हुने चाहना सबैको हुन्छ । कमसेकम सत्तासीन अथवा शक्तिशालीको सामीप्यमा पर्ने छटपटी सबैमा हुन्छ । शक्ति केन्द्रको सामीप्यमा नपरेकाहरूले दुःखेसो पोख्छन् । तिनले पोखेका पीडाको मर्म सत्तासीन हुँदा अथवा सत्ताको राप र तापको सामीप्य हुँदा पाइने सुविधाहरूबाट बञ्चित हुनु पर्दाको अवस्था भन्ने बुझ्न समय लाग्दैन । ‘त्यत्रो योगदान गरेको खै कदर भएको ?’ घरीघरी सुनिने गर्छ । परिवारले गरेको ‘ऐतिहासिक त्याग तपस्या तथा बलिदान’को उचित मूल्यांकन नभएको गुनासो नपोख्ने तिनका सन्तति भेट्न कठिन पर्छ ।

राजाको ‘सबल’ तथा प्रत्यक्ष नेतृत्वमा सञ्चालित ‘निर्विकल्पित पञ्चायत’ प्रणालीको पतन भएको तीन दशक आधा अवधि हुन लागिसकेको छ । बचेखुचेका पञ्चायत विरोधी युवा नेतामध्ये अधिकांशले उमेरको हदले ६५ वर्ष काटिसकेका छन् । पञ्चायतविरुद्ध लड्नुको बदलामा सरकारी सेवा (त्यस कालखण्डको सबैभन्दा बढी रोजगारी दिने निकाय) मा तिनले प्रवेश गरेका भए ‘रिटायर्ड’ भइसकेका हुने थिए । साधारणतया उनीहरू ‘ज्येष्ठ नागरिक’को उपाधिबाट सम्मानित हुने थिए । कतिले त सरकारबाट पेन्सन पाउने थिए । त्यसो त माओवादीले स्कुलबाट युद्धभूमिमा घचेटेका बालबालिकाहरू (बाल लडाकु) समेत हाल वयस्क जीवन बिताउँदै छन् । कमै नागरिकले प्रथम जनआन्दोलनको झझल्को सम्झने गर्छन् । माओवादीले मच्चाएको हत्या, हिंसा, लुटपाट तथा आतंक प्रत्यक्ष प्रभाव परेका व्यक्ति तथा परिवार सदस्यबाहेक अन्यको स्मृतिबाट त्यो १० वर्ष लामो कालरात्रिको सम्झनासमेत विलिन हुँदैछ । त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा भए गरिएका ज्यादती पनि धेरैले बिर्सिसकेका छन् । विगतका घटना अधिकांश नागरिकको स्मरणमा रही रहँदैन । हाबी भएको नेतृत्वले त्यस कालखण्डमा गरेको ‘योगदान’का गाथा अधिकांश नागरिक विशेषगरी युवा पिँढीका निमित्त ‘उहिले बाजेको पालामा’ भएका घटना सरह भैसकेको छ ।

राज्य सञ्चालनको जिम्मेवारी बहन गरेका हुन् अथवा प्रत्याशी सबै ताप्काका राजनैतिककर्मीले आत्मासाथ अझै गर्न नसकेको अथवा बुझेर पनि बुझ पचाएको यथार्थ हो देश केवल उनीहरूका लागिमात्र होइन भन्ने । उनीहरूले जे जति असन्तुष्टि सँगालेका छन् त्यसको दा“जोमा अत्यधिक धेरै असन्तोष छन् सर्वसाधारण । राजनैतिक पात्रप्रति वितृष्णा फैलिँदैछ देशमा । समग्रमा भन्ने हो भने सर्वसाधारणले कुन दलको कुन नेता वा कार्यकर्ता भन्ने विषयलाई गौण तुल्याइसकेका छन् । यस अर्थमा तिनले राजनैतिक दललाई चिन्न छोडी सके । बहुसांख्यिक सर्वसाधारणका निमित्त राजनैतिककर्मीहरू सबै एकै ड्यांका मूलातुल्य छन् । राजनीतिक पात्रले आर्जेको इमान्दार नागरिकको हैसियत बाजेको पालाको कुरोमा परिणत भएको छ । बिरलै राजनैतिक पात्रलाई सम्मानको नजरले हेरिने गर्छ । राजनैतिक पात्र इमान्दार हुन सक्छन् भन्ने कथनलार्ई अधिकांश नागरिकले स्वीकार्दैनन् । बहुसंखिकले राजनैतिक पात्रलार्ई संख्याको दृष्टि हेर्न थालेका छन् । सर्वसाधारणको नजरमा राजनीति धन आर्जन गर्ने वैध पेसा साबित भएको छ ।
राजनीतिकप्रतिको विश्वास घट्नुको कारण विगत ३५ वर्ष लामो अवधिमा राजनीतिक पात्रहरूले प्रदर्शन गरेको चरित्र जिम्मेवार छ । देशमा हाबी भएको कुशासन सबैभन्दा बढी जिम्मेवार छ । धमिजा काण्डबाट सुरुवात गरिएको एकपछि अर्को भ्रष्टाचारका काण्डहरूले सर्वसाधारणलार्ई आजित तुल्याइसकेको छ । बिरलै कुनै दिन हुन्छ यस्तो हुन्छ जुन दिन घोटाला नयाँ काण्डको पर्दाफास सञ्चार माध्यमले नगरेका हुन् । प्रायः सबैजसो साना ठूला भ्रष्टाचार प्रकरणमा शीर्षस्थ नेता (हरू) को नाम गासिएको हुन्छ । भ्रष्टाचारीले सजाय पाउला भन्ने जनअपेक्षालाई शीर्षस्थ नेताहरूको म्याराथन बेठीकपश्चात घुम्टो हालेर ढपक्क छोपिने गर्छ । देशमा सुशासन कायम गर्न गठन गरिएका निकायहरू प्रायः सबैलाई पंगु तुल्याइएको छ । संवैधानिक अंगहरूसमेत मूक दर्शकमा परिणत गरिएको छ ।

बहुसांखिक नागरिकको चिन्ताको विषय आजको दिन कसरी काट्ने भएको छ । आउँदा दिन अझ बढी कष्टकर हुने लेखो धेरैले काट्न थालेका छन् । देश अभूतपूर्व रूपमा निराशामय भएको छ । कुनै समय ‘नेपालको धन हरियो वन थियो’ जंगलको क्षेत्रफल बढेको छ । उपयोगी काठको चरम अभाव छ । बर्सेनि निर्माणकार्यका निमित्त काठ आयात गर्नुपर्छ । जीवनयापनका निमित्त ‘उत्तम खेती मध्यम व्यापार’ भन्ने थेगो थियो । खेती योग्य भूमि बाढी पहिरोको प्रकोपमा विनाश हुँदै छन् । कृषि प्रधान देशमा जमिनको उत्पादकत्व घट्ने क्रम तीव्र गतिमा बढ्दै छ ।

निर्वाहमुखी कृषिलार्ई व्यावसायिक तुल्याउने मृग त्रिशानामा नतमस्तक छन्, राजनैतिक नेतृत्वको भजन मण्डली योजनाविद्हरू । ऊर्जाशील लगानीकर्ता उधोगधन्दातर्फ उदासीन छन् । तिनको आकर्षण सकेसम्म छोटो अवधिमा बढीभन्दा बढी मुनाफा आर्जन हुने क्षेत्र पर्छ । व्यापारिक क्षेत्रले उन्नति गरेको छ । वर्तमान कालखण्डमा ‘उत्तम व्यापार मध्यम कृषि’ भएको छ । उधोगधन्दामा गरिने लगानीको प्रतिफल प्राप्त हुन समय लाग्छ । औद्योगिकीकरण प्रयास उल्टो दिशाउन्मुख हुँदैछ । प्रत्येक वर्ष नयाँ उधोग खोलिनेभन्दा बन्द हुनेको संख्या बढ्ने क्रममा छ । व्यापारिक लगानीको प्रतिफल तात्कालिक मिल्छ । विद्यमान भ्रष्टाचारमय अवस्थामा जति सक्यो चाँडो प्रतिफल प्राप्त गर्नु व्यवसायीको हितकर छ । व्यापार क्षेत्रतर्फ बढ्दो लगानीले देशमा बढ्दै गरेको कहालिलाग्दो बेरोजगारी समस्याको चुनौतीलार्ई भने सम्बोधन गर्न सक्दैन ।

फैलिएको नैराश्यपूर्ण वातावरणले निकास खोज्दैछ । जनमानसमा निराशा फैलिएपछि नै स्वतःस्फुर्त आन्दोलनले उथलपुथल निम्त्याउनेछ । गौरा समारोहमा सहभागी हुन पुगेका प्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीविरुद्धको नाराबाजीलार्ई राष्ट्र उन्मुख हुन थालेको संकेत मान्न सकिन्छ । सांस्कृतिक समारोहका अतिथिविरुद्ध घटेको यस घटनालार्ई जतिसुकै अप्रिय भए पनि यस काण्डले दिएको सन्देश ‘लाउड एन्ड क्लियर’ छ । दुवै नेताले स्मरण गरेको आभास पाइँदैन । विगतमा उनीहरू स्वयंले पनि यस्तै अवसरमा नाराबाजी गरेका थिए ।

नाराबाजी गर्नेविरुद्ध भावी प्रधानमन्त्री एवं नेपाली कांगे्रस सभापतिको रवैया ठ्याकै पञ्चायती मन्त्रीको शैलीको थियो । फरक त्यत्ति हो यस पटक उनी नाराबाजी गर्नेलार्ई धम्क्याउने भए ऊ बेला तिनको भूमिका होहल्ला मच्चाउनेको हुने गर्दथ्यो । सरकारले जुन धरपकडको नीति अख्तियार गर्दैछ त्यो त ‘जमिन्दार सफाय आन्दोलन’ साम्य तुल्याउन पञ्चायती सरकारले अख्तियार गरेको नीतिको वर्तमान स्वरूप नै हो । पञ्चायतकालमा अख्तियार गरेको दमनकारी नीतिको परिणाम हो शेरबहादुर देउवा तथा खड्गप्रसाद ओलीलार्ई पाँचौं तथा चौथो पटक प्रधानमन्त्री हुने अवसर मिल्नाको ।

उपदेश दिने धम्क्याउने जमाना गइसके । तिनको औचित्य इतिहासको कुनै कालखण्डमा आवश्यक थियो होला । वर्तमान कालखण्डका निमित्त त पटक्कै होइन । वर्तमान कालखण्डको माग त सर्वसाधारणलार्ई सुशासनको अनुभूति दिने हो । राजपक्ष तथा शेख हसिनाले भोगेको नियति नै भोग्ने चाहना हो भने त भीरबाट खस्न लागेको गाईलार्ई राम राम भन्ने नै हो । धूर्त नेतृत्वले सक्कली शरणार्थी हुनु पर्दाको अवस्थाका निमित्त शरण प्राप्त हुने गन्तव्यको खोजी अवश्य पनि गरिसकेको हुनुपर्छ ।