देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुशायरामा गुञ्जिए  लोकेश, सविता र परिविक्रम, ‘कोहिनूर’ ल्याए कुशलले 

देशान्तर

 काठमाडौं । आदिगजलकार मोतीराम भट्टको १५९औँ जन्म जयन्तीको अवसरमा नेपाल गजल प्रतिष्ठानले ‘गजल मुशायरा’को पाँचौँ शृङ्खला सम्पन्न गरेको छ । भदौ १५ गते शनिवार राष्ट्रिय नाचघर जमलमा आयोजित मुशायरामा लोकेश सङ्घात, सविता बराल र परिविक्रम प्रस्तुत भए । निकै चोटिला र प्रभावशाली शेरहरू वाचन गरिरहँदा उपस्थितमा निकै उत्साह देखिन्थ्यो । 

 रिसाएर जाऊ तिमी जाने बेला

पुनः  मुस्कुराए हृदय घात हुन्छ । 

 गजलकार लोकेश सङ्घातले यो शेर बोलिरहँदा हल तालीमय बनेको थियो । केही छिनमा शृङ्गारमय शेरमा सविता बराल यसरी गुन्जिइन् : 

  सराबी गुलाबी दुवै ओठ टोकी 

 तिमी मुस्कुराऊ लजाएर हुन्न । 

 यस्ता दर्जनौँ शेरहरू सुनिए हलमा । खचाखच भरिएको हलमा तीन जना स्रष्टाले आफ्ना पाँच/पाँच वटा तथा अन्य तीन जनाका एक/एक वटा गजल वाचन गरे । कार्यक्रममा विश्वव्यापी गजल प्रतियोगिता, २०८० का विजेता कुशल नाथ योगीको गजल कृति ‘कोहिनूर’ सार्वजनिकसमेत गरियो । प्रा.डा. देवी नेपालले ‘कोहिनूर’माथि टिप्पणी गर्दै योगी नयाँ पुस्ताका कुशल र अब्बल गजलकार रहेका बताए । प्रमुख अतिथि प्रसिद्ध गीतकार एवं गजलकार करुण थापाले अब नेपाली गजलले सही बाटो पहिल्याउन थालेको र नयाँ पुस्ताले नेपाली गजललाई उचाइ दिनेमा आफू विश्वस्त रहेको धारणा राखे । सोही अवसरमा नेपाल गजल प्रतिष्ठानले  गरेको विश्वव्यापी गजल प्रतियोगिता, २०८१को नतिजासमेत सार्वजनिक गरिएको थियो ! रेशम अधिकारी प्रथम भएको सो प्रतियोगितामा अधिकारीसहित नारायण सिटौला ‘इरादा’, मिलनकुमार ढुङ्गाना, चित्र थापा, विपिन नेपालका गजल उत्कृष्ट पाँचमा परेका थिए !

‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर-बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ । आगामी दिनमा नेपाली गजललाई लेखनमा परिष्कारसहित गायनमा समेत तीव्रता दिइने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।   उक्त कार्यक्रमलाई आइविना अस्ट्रेलिया, ग्लोबल आइएमई बैङ्क, सूर्य लाइफ इन्स्योरेन्स, सूर्य नेपाल र सीवाईसीले प्रायोजन गरेका थिए भने इन्टरनेट पार्टनर भायनेट र मिडिया पार्टनर युनिभर्सल टेलिभिजन थिए । नेपाली गजलको विकास र विस्तारका लागि मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने, सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर–बहार र मोती पाठशाला मार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ ।