देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तिमी कृष्ण नै बन!


छोरी तिमी राधा हैन कृष्ण बन

छोरी तिमी राधा हैन कृष्ण नै बन

राधा कम छिन कृष्ण भन्दा त्यसैले हैन

राधा त प्रेम पुजारी

कृष्ण भन्दा पहिला आउँछ उसको नाम

कृष्ण पो छन् बरु धेरै बदनाम

तर राधा हैन तिमी कृष्ण नै बन

छोरीले कृष्ण बन्न नपाउने भन्ने छ र ?

हो, राधा धेरै आज्ञाकारी र ज्ञानी,

कृष्ण त नटखट, बदमास

अहँ छोरी तिमीले सबैको आज्ञा मान्नु पर्छ भन्ने छैन

तिमी पनि बरु नटखट नै बन

छोरी सधैँ ज्ञानी हुनु पर्छ भन्ने छ र ?

हो, राधा धेरै सुन्दर सुशील

कृष्ण त काले, धोकेबाज

अहँ छोरी तिमी सुशील राम्री बन्नु पर्छ भन्ने छैन

कृष्ण जस्तै जुझारु कुशल योद्धा बन

सुन्दरताको ठेक्का छोरीले मात्र लिनु पर्छ भन्ने छ र ?

त्यसैले छोरी तिमी राधा हैन कृष्ण नै बन

संसारमा अन्याय मेटाउने

अन्यायी भए आफ्नालाई पनि नछाड्ने

आफ्नो कौशल, ज्ञान, बुद्धिले

महायुद्ध पनि जिताउने

कुनै छेकबार परिधि छैन तिमीलाई

तिमी विशाल विश्वरूप बन

जे जे इच्छा छ तिमीलाई त्यो सबै बन

कलियुगको देव अवतार, दुखीहरूको सारथि

तिमी कृष्ण नै बन!