देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसमा संघीयताको गाईजात्रा

देशान्तर


काठमाडौं । दसबर्से जनयुद्धको उद्घोष गरेर सशस्त्र युद्धको नाममा व्यक्ति हत्या र राज्यको भौतिक संरचना ध्वस्त पारी गरेको राजनीतिक आन्दोलनको एउटा प्रमुख माग थियो– संघीयता । त्यसलाई अझ बल पु¥यायो मधेस आन्दोलनले । माओवादी द्वन्द्वमा दुवै पक्षका गरी झन्डै १८ हजार नेपाली सपूतले ज्यान गुमाएका थिए, त्यसैगरी मधेस आन्दोलनमा पनि धेरैले शहादत प्राप्त गरेको इतिहास साक्षी छ तर संघीयताको लागि गरिएका यी दुवै आन्दोलनका सहिदहरू अहिले मधेस प्रदेशमा धेरै पटक सरकार बन्दा भएको भागबन्डा र सरकारमा सहभागी मन्त्रीहरूको संख्याको कारण उनीहरू जीवितै भएको भए पक्कै यसलाई ‘गाईजात्रा’को संज्ञा दिन्थे भन्ने कुरामा दुईमत नहोला ।

उपत्यकाको प्रख्यात गाईजात्रा निकट भविष्यमै भदौमा मनाइने सबैलाई जानकारी नै छ । यो जात्रा ऐतिहासिक भएपनि व्यंग्य गर्ने पर्वको रूपमा पनि परिचित छ, हो अहिले नेपालमा संघीयता मधेस प्रदेशकै कारण गाईजात्राको उपमा दिन लायक छ । कुनैबेला मधेसलाई ‘स्वायत्त’ प्रदेश माग गर्ने मधेसवादी दलहरूकै कारण यो अवस्था आएको जगजाहेर छ ।


आठ वटा जिल्लाहरू मिलेर बनाइएको मधेस प्रदेशमा दोस्रो पटक प्रदेशसभाको चुनावपछि यो स्थिति आएको हो । हुन त अघिल्लो प्रदेशसभा हुँदा पनि धेरै मन्त्रीदेखि सबैभन्दा भ्रष्टाचार गर्ने प्रदेश भनेर चर्चित बनेको यो प्रदेश अहिले मन्त्री संख्याको कारण नकारात्मक रूपले प्रचारित हुन पुगेको छ । यसभन्दा अगाडि पनि साइकल बाँड्ने नाममा होस् वा सर्प पाल्ने नाममा होस् सधैं विवादित नै थियो । अहिले त १९ मन्त्री बनाएपछि संघीयता बोझ हो भनेर मधेसी राजनीतिक विश्लेषक र जनताहरू नै भन्न थालेका छन् ।