देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नदेखिने हातका अदृश्य लट्टाई


घिउकुमारी, साबुदाना, आलस,
रामतोरिया र काँचको धूलो
हालेर पकाएको माजा
तीन सय गजाको धागो बेरेर
त्यो लट्टाईबाट बहिनीले धागो छाडेकी
अर्को लट्टाईबाट भाइले धागो बेरेको
मेरो मुठ्ठीमा पाकेको माजा धागोको बीचमा
यसरी लगाएको माजाको धागो सुकाएको
घर छेउको तीन देवलबाट चंगा उडाएर
कति हप्तादेखिको यो धमाली
कुष्माण्ड नवमीको दिनको लागि
त्यो दिन
भगवान् विष्णुले बास गर्ने अमला वृक्षमा
त्यो रुखमा पूजा गर्ने दिन
बूढानीलकण्ठमा मेला लाग्ने

डिल्लीबजारको तल्लो ओरालोमा
भक्तेको पसलमा किनेको
एक खात चंगा
बाबाचा, दाह्रीवाल, लखनउ, थरथरीका
माजा लगाएको धागो भरिएको लट्टाई
ज्ञानेश्वरदेखि बोकेर हिँड्दा
त्यो खुसी कति कति ? अवर्णनीय
कट्टुको खल्तीमा
एक दुइटा सुका र पचन्नी
चार छ गोटा बीचमा प्वाल परेको चार पैसा
गोलो टन्न बज्ने
गल्तीभित्रै बज्ने हिँड्दै जाँदा
अर्को खल्तीमा ग्वाँक
झोलामा चिउरा, भुटेको भटमास
एउटा दौँतरी साथी सँगै हिँडिरहेको
स्वर्णिम यात्रामा

अहिलेको नारायणगोपाल चोक काटेपछि
सबै खेत फराकिलो फाँट, जता हेरे पनि
धान काटे पछिको ठुटाहरू, ओसिलो नसुकेको माटो
बीचबीचमा फाट्टफुट्ट काँचो माटोका घरहरू
तर धेरै धानका कुनिउँहरू
हिँड्दै जाँदा न कुनै गाडी, न प्याँ प्याँ पिँपीँ
दाहिने तिर मैले निकै बेर घोरिएर हेरेको पानी घट्ट
गहुँ पिनेर पिठो निकालिरहेको
बूढानीलकण्ठ मन्दिरको पूर्व सानो बजारका लहरै घरहरू
हामीले त्यहाँ पुगेर पानी पिएको

सम्पूर्ण आकाश नीलो असीम क्यान्भास जस्तो
यदा–कदा केही सेतो बादलका टुक्राहरू
पलपलमा बदलिरहेको सुन्दर पेन्टिङको झिलिमिली
रगीबिरंगी चंगाहरूले ढाकिएको
धागो तानिएका जति सनसनाएर माथि गएका
लखनउ चंगा त सन्केको आवाज निकालिरहेका
धागो छोडिएका घुम खाँदै अझ परपर तल गएका
कति पुच्छरवालाले पनि ठाउँ खोजिरहेका
पासा खेलमा जस्तो पोट बाह्रा, चरी पन्जा, सत्र जस्तो दाउ पार्न जति तल्लीन
या कुस्ती खेलमा एकले अर्कोलाई पछार्न जस्तै
लडाउने खोजिरहेकाहरू
दाउ खोजिरहेका माथिल्लो पेच पार्न
कहिले तल, कहिले माथि, कहिले उत्तर, कहिले दक्षिण
लट्टाई हातमा हुनेहरूले चंगालाई घुमाइरहेका
एकले अर्कोलाई झुक्याउन
कहिले कराउने– ‘दारीवालले धागो छोड्न सकेन रे मे’ भनेर
कहिले– ‘भाग्यो, भाग्यो’ भन्दै
यस क्रममा–
कहिले पत्तो पाएर कहिले पत्तो नपाएर
चंगा लडिसकेको
जति नजिकको साथी त्यति ठूलो आवाज
– ‘ए ! धागो छोड, परिसक्यो, हाम्रो तल्लो पेच’
फेरि आवाज – ‘ल, चंगा चेट भयो, तैँले उडाउनै जानिनस्’
धागो लुट्नेको दौडधुप
चगा लुट्नेको दौडधुप
नजिक उडिरहेका चंगाहरूको
अर्को प्रतिस्पर्धा
काटिएको चंगालाई ठाकठुक लिने
काटिएको चंगावालाको प्रतिशोधको आवेग– ‘त्यो दारीवालमा हाल कका, फेरि उडाएर साटो फेर्छु ।’
खै, कता गए ती दिन ?
नेपाली कागजका चंगाहरूको
आफ्नै तागतमा रमाएको, रिसाएको
स्वर्ग–मत्र्यको – आफ्नै भाका, आफ्नै धर्मको

अहिले –
चपली हाइटमा उडेको चंगा
सानेपामा देखिएको धागो
उडाउने को ?
उडिरहेका यी
झम्सीखेलमा देखिएको दाउपेचको धागो
चपली हाइटको उचाइमा फेरि देखिन्छ
चंगा उडेको बूढानीलकण्ठमा
चंगा उडाउने हावा
कहिले उत्तरबाट आउँछ
कहिले दक्षिणबाट
चंगा उडिरहेका छन्
पारी टनेलबाट आएका धमिराहरू
मेरो घरको खाँबो र दलिनहरू खाँदेछन्

नदेखिने हातहरूका अदृश्य लट्टाईहरू
ती लट्टाईबाट उडाइएका चंगाहरू
काटिएका, उडेका, लडिरहेका, फेरि काटिएका
यो क्रमसँग अनुबन्धित मेरो नियति
तीन करोडको जीवन चंगा
मेरो देशको आकाश चंगा
कहिलेसम्म उडिरहने हुन् यसरी
मैले आफैंले नेपाली कागजको चंगा उडाउने यी फाँटहरूमा