नयाँ सरकार निर्माणका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् । संघीय संसदको प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन नसकेपछि शुक्रबार पदमुक्त भएका थिए ।
प्रचण्ड पदमुक्त भएपछि नयाँ सरकार निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार अपरान्ह ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
यसअघि नै प्रचण्डलाई हटाएर नेकपा एमालेलाई प्रधानमन्त्री बनाउने सहमति नेपाली कांग्रेसले गरीसकेकाले शुक्रबार राति सभापति शेरबहादुर देउवासहितका नेताहरु एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै हस्ताक्षर बुझाउन गएका हुन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
प्रतिक्रिया