देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी ठगी प्रकरण : संसद्मा कांग्रेसको अवरोधबारे सभामुखले चार दललाई छलफलमा बोलाए

देशान्तर

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिएका छन् ।

सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्मा रहेका प्रमुख चार दललाई छलफलका लागि बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतालाई छलफलका लागि बोलाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले अघिल्लो बैठकमा अर्को बैठकमा संसदीय समिति गठन गरेरमात्रै आउन भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर सभामुख घिमिरेले छलफलको समय निर्धारण गरेका हुन् ।

अधिकारीका अनुसार  प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।