देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

देशान्तर

काठमाडौँ,। दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।

बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छन् । त्यसै गरी सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद राशि सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घ बहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहेका छन् ।

पुरस्कृत सबै स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेत र सचिव डा. पोखरेलले नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए । हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कृत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री बस्नेतले धन्यवाद दिँदै भविष्यमा पनि जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा उतार्न लाग्नु पर्ने बताए । स्वास्थ्य सेवा दिवसमा अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा अंगदान शिविरका साथ रक्तदान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।