नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बनाउँदा पार्टीले विचार पुर्याउनु पर्नेमा जोड दिएका छन् । अहिले पटकपटक पराजित भएका र अवसर पाउँदा पनि केही गर्न नसकेकाहरू फेरि राष्ट्रियसभामा उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेता घिमिरेले यसले कांग्रेसकै साख झन् घट्ने बताए । यसैगरी अहिले महासमितिको बैठक सार्ने कुरालाई पनि गलत भन्दै संसदीय दलको नेतृत्व परिवर्तनको विषयमा पनि देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग गरेका छन् । घिमिरेसँगको कुराकानीको सम्पादित अंश :
नेपालका के पार्टीहरू सबै अस्तव्यस्त अवस्थामा हुन् कि नेपाली कांग्रेसमा मात्रै हो ?
नेपालका राजनीतिक दलहरूको सञ्चालन परिचालनको जुन कार्यशैली छ, त्यो प्रजातान्त्रिक छैन । आम पार्टीका साथीहरू नेपाली कांग्रेसलाई मात्र भन्न खोजिएको होइन, अरू पार्टीका साथीहरूको पनि भावनाअनुसार पार्टी चलेका छैनन् । पार्टीका साथीहरूको भावनाअनुसार पार्टी चल्ने हो भने अहिलेको जस्तो अव्यवस्था सिर्जना हुने थिएन । पार्टीको विधानले गरेको व्यवस्थाअनुसार पार्टी चल्ने हो भने पनि यस्तो अहिलेको जस्तो भद्दा स्थिति बन्ने थिएन । त्यसैले पार्टी नेतृत्व मनोगत चाहनाअनुसार चलिराख्या अवस्था छ । पार्टी अहिले केन्द्रदेखि वडा तहसम्म अव्यवस्थित छ र पार्टीका अधिकांश सदस्यहरू उपेक्षित छन् र सदस्यहरूले अहिले भूमिकाविहीन समय बिताइरहेका छन् । विधानले निर्दिष्ट गरेको जिम्मेवारी निर्वाह गर्ने काममा लगाएका छैनन् ।
खबरदारी गर्छौं भन्ने, पार्टीलाई सही ट्र्याकमा ल्याउँछौ पनि भन्ने अनि पार्टीको कार्यसम्पादन लगायतका ठाउँमा त्यो स्वर किन नसुन्निने अवस्था आउँछ कांग्रेसमा ?
बैठक गरेर आफूलाई मनमा लागेका कुरा भन्ने अनि सञ्चारमाध्यमका अगाडि पनि आफ्ना कुरा राख्ने हामी सबैको सनातन चरित्र जस्तो भएको छ । हामी त जिम्मेवारी (म) मा छैनौं । जिम्मेवारीमा भएका साथीहरूले जुन कुरा हामीले सार्वजनिक रूपबाट बोल्छौं, ती कुराहरूलाई कार्यान्वयन (निर्णय प्रक्रिया)मा लैजान सक्नुपर्छ । नतिजा दिन सक्नुपर्छ । हामीले पूरा गर्न नसक्ने कुराहरू सार्वजनिक नै गर्नु हुँदैन । हाम्रो पार्टीका जिम्मेवार नेताहरूले यो कुराको हेक्का राखेको पटक्कै पाइएन । बाहिर जनताका अगाडि भने गुड्डी हाँकेर हिँड्छन् । नेपाललाई फलानो देशजस्तो राम्रो बनाउँछु पनि भन्छन् । तर ३५ वर्षमा यहाँ केही पनि भएको छैन । लगभग दुई पुस्ताको समय खेर जान लागिसक्यो । २०४६ सालमा जन्मिएको पुस्ता पनि वयस्क भइसक्यो । त्योभन्दा अगाडिदेखि काम गरेको पुस्ता र २०४६ सालमा जन्मिएको पुस्ताको पनि उमेर जान लागिसक्यो । भनेको के हो भने सार्वजनिक रूपबाट गुड्डी हाँक्ने र परिणाम दिन नसक्ने प्रवृत्ति राजनीतिक दलहरूभित्र हुर्किरहेका छन् । यो एकदमै डरलाग्दो प्रबृत्ति हो । यसले राष्ट्रको, आफूले चलाएको संस्था अथवा राजनीतिक दलको हित पटक्कै गर्दैन र वास्तवमा जनताको भविष्यमाथि खेलवाड गर्छ ।
महासमितिको बैठकको मिति फागुनमा सार्ने जुन निर्णय गर्दा जुन तर्क गरिएको छ, त्यसको औचित्य पुष्टि हुन्छ ?
महासमितिको बैठक सुरुमा मंसिर १३–१५ भनेर भनिएको थियो । त्यसपछि तयारी नपुगेको भन्दै मंसिर २९ देखि पुस २ गतेसम्म भनियो । त्यो मितिमा पनि नहुने भनेपछि पुस १६ गतेदेखि १९ गतेलाई तोकियो । तर अहिले फेरि कार्यसम्पादन समितिको बैठकबाट महासमितिको बैठक फागुनको ७–१० को नयाँ मिति तोकिएको छ । महासमितिको बैठक सार्नलाई जेसुकै कारण देखाए पनि ती कारणहरू उपयुक्त होइनन् । सबैभन्दा राम्रो कुरा त पहिले तोकिएको मितिमै महासमितिको बैठक गरेको भए त्यसले केही निर्णयहरू लिन्थ्यो । भलै भोलि कार्यान्वयनमा जाला या नजाला । किनभने हामी निर्णय गरिहाल्ने कार्यान्वयन नगर्ने रोगबाट ग्रस्त छौं । हामी दुई वर्षदेखि नीतिविहीनतामा चलिराख्या छौं । नेपाली कांग्रेससँग अहिले स्पष्ट नीति नै छैन । किनभने महाधिवेशनले नीति पास नै गरेन । नेतृत्व चयन गर्यो । नीति पास गरेन । हामीले नीति महाधिवेशनको कुरा गर्यो, तर नीति महाधिवेशन नै बोलाएनौं । यसले गर्दा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको अधिकार त हामीले खोस्ने काम गर्यौं । अर्को महासमितिका मितिहरू पनि सार्दै छौं । त्यसले गर्दा पनि अर्को संशय पैदा भएको छ । हामी नीति तर्जुमा गथ्यौं । अहिले हामीसँग नेपाली कांग्रेसको नीति यो हो भन्ने जवाफ त हुन्थ्यो । अहिले हामीलाई कसैले कांग्रेस कुन नीतिका आधारमा चलेको छ भन्ने प्रश्न गरियो भने निरुत्तरित हुन्छौं । त्यसैले महासमितिको बैठकको मिति सार्नुको कुनै औचित्य देखेको छैन ।
राष्ट्रियसभाको चुनावको कारण र त्यहाँका आकांक्षीहरूका कारण महासमितिको बैठकको सारिएको हो भन्ने कुरा कति सान्दर्भिक हुन्छ ?
राष्ट्रियसभाको उम्मेदवार छान्ने त निश्चित प्रक्रिया छ र त्यसका केही तर्कपूर्ण आधारहरू छन् । तर, विडम्बनापूर्ण कुरा के हो भने अहिले पनि खाइपाइ आएका मान्छेहरू र बारम्बार अवसर पाएका व्यक्तिहरू र कुनै पनि पर्फमेन्स शो गर्न नसकेकाहरू, राम्रो कार्यसम्पादन गर्न नसक्ने व्यक्तिहरूकै नाम आइराख्या छ । हिजो चमत्कार पनि नगरेका, भूमिका प्राप्त गर्दा पनि विगतमा उल्लेखनीय काम गर्न नसकेका, एक प्रकारले टेस्टेड, परीक्षणमा असफल पात्रहरूकै अहिले आएर दावा प्रस्तुत गरिराख्या छन् । कतै न कतै त्यसका पछाडि कुनै शक्तिकेन्द्रको पनि ढाडस छ । अहिले आएका नामहरू, चर्चामा रहेका पात्रहरू र महासमितिको बैठक सार्नुमा तादाम्यता छ भनेर जुन तपाईंले भन्नुभयो नि, महासमितिको बैठक एउटा ठूलो आयोजना हो । राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि सिंगो महासमिति र सिंगो पार्टी लाग्नु पर्दैन । त्यसका लागि एउटा सानो कार्यदल बनाए भैगो नि । पार्टीका केही नेतालाई जिम्मा दिए भैगो नि । सबैबाट सुझाव संकलन गर्दा पनि हुन्छ । र इच्छा राख्ने साथीहरूको नाम सर्टलिस्ट गरेर त्यसमध्ये कसलाई र किन भनेर निष्कर्षमा पुगे भइहाल्यो नि ।
राष्ट्रियसभामा कांग्रेसले हरुवाहरूलाई नै पठाउने हो ?
एउटा स्पष्ट कुरा के हो भने निर्वाचनमा बारम्बार भाग लिएका, अवसर बारम्बार पाएका, संसद् र सरकारमा गएका र सात, आठ पटक चुनाव लडिसक्या व्यक्तिहरूको अब संसद्मा उपस्थितिको कुनै प्रयोजन छैन । अब त्यस्ता व्यक्तिहरूले अवकाश प्राप्त जीवन बिताए हुन्छ । अब त ती व्यक्तिले अरूलाई सल्लाह दिएर बाहिर बस्नुपर्छ । त्यसैले हामीले उम्मेदवार चयनका लागि मापदण्ड बनाउनुपर्छ भनेर हामीले भन्यौं, मलाई लाग्छ मापदण्ड पनि बन्दैन । अवसर जसले पाएको छैन, जसले क्षमता देखाउन सक्छ, जसलाई संसद्को आवश्यकता छ र फलानो व्यक्तिलाई पठाएर पार्टीबाट न्याय भयो भन्ने सन्देश पनि दिन सकिन्छ, त्यस्ता व्यक्तिलाई पो लाने हो त । अहिले चर्चामा रहेका व्यक्तिहरूलाई नै नेपाली कांग्रेसले राष्ट्रियसभाको उम्मेदवार बनाउने हो भने यसले पार्टीलाई अझैं खुइल्याउँछ । परम्परागत बाटोमा पार्टी हिँड्यो भने पार्टीलाई खुइल्याउने काम गर्छ ।
देशान्तरकै केही समयअघिको अंकमा तपाईंले वर्तमान नेतृत्वको भोग पुग्यो भन्नु भएको थियो, अनि पछिल्लो तपाईंहरूको गुटको बैठकले संसदीय दलको नेता फेर्नुपर्छ भन्ने कुराहरू गरेको सार्वजनिक भएको छ, यसको तयारीमा हो ?
संसदीय दलको नेता फेर्ने कुरा त संसदीय गणितको कुरा आउँछ । महामन्त्रीजीले प्रस्ताव राख्नुभयो । पार्टीका पदाधिकारी र सभापतिका लागि चुनाव लडेका व्यक्तिहरू बसेर गृहकार्य गर्नुभएको हो भन्ने हामीलाई सूचना छैन । हामीले कुराकानी गर्दा अहिले संसदीय दलमा शेरबहादुर दाइको प्रचण्ड बहुमत छ । उहाँको बहुमत घटेको, उहाँका सहयोगीहरूले छोड्दै गएको भन्ने कुरा हामीलाई अहिलेसम्म थाहा छैन । त्यसैले यो विषयमा हामी प्रवेश गरेका छैनौं । म त संसद्मा पनि छैन । संसदीय दलको नेता बनाउने काम प्रतिनिधिसभा सदस्यहरूको काम हो । महामन्त्री गगन थापा प्रतिनिधिसभाको सदस्य पनि हो । शेखर कोइराला, धनराज गुरुङ, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी, दीपक गिरीलगायतका नेताहरू सांसद पनि हुनुहुन्छ । पार्टीको एउटा तहका नेताहरू जो संसद्मा हुनुहुन्छ । उहाँहरूले गृहकार्य गरेर संख्या जुट्नजुट्न लागिसक्यो, कम्तीमा ४० नाघिसक्यो भन्ने हो भने त्यो तर्कपूर्ण देखिएला । अहिले संख्या बढेको छैन भने दलको नेता फेर्ने कुरा गर्नु उपयुक्त हुँदैन । एक पटक हामीले संसदीय दलको चुनाव हारिसक्यौं । भएको संख्या पनि हामीले प्राप्त गरेनौं । जति हो हाम्रो संख्या त्यति किन प्राप्त भएन भन्ने कुराको समीक्षा पनि गरेनौं । किन भोट आएन, कि हाम्रो भोट २५ मात्रै हो कि ? त्यो बेलामा हामीले ३२ को आंकलन गरेका थियौं । अझ त्यसमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि जोडिनु भएको थियो । त्यतिबेला ३४ आएको भए हामीले हाम्रो मत जोगायौं भन्ने हुने थियो ।
तपाईंहरूको गुट पनि अहिले व्यक्तिकेन्द्रित भयो भन्छन् हो ?
हाम्रो अधिकतम प्रयत्न के हो भने १४औं महाधिवेशनको समूहलाई एकै ठाउँमा राखेर अरू साथीहरूलाई पनि थपेर १५औं महाधिवेशनसम्म पुग्ने हाम्रो प्रयास हो । यो प्रयास अहिल पनि रहन्छ । नेताहरूका बीचमा समझदारी बनाएर अगाडि बढ्ने हाम्रो प्रयत्न रहन्छ । किनभने १४औं महाधिवेशनको तीतो अनुभव हामीलाई छ । नेताहरू तितरवितर हुँदा १४औं महाधिवेशनमा सभापतिसहित केन्द्रीय समितिमा साथीहरू पराजित हुनुभयो । हामी नै एक ढिक्का भएर लागेको भए १४औं महाधिवेशनको परिणाम फरक आउने थियो । नेपालको राजनीतिमा कांग्रेसको भूमिका फरक ढंगले सुरु हुन्थ्यो । हामीहरू पराजित हुँदा त्यो कुरा अवरुद्ध भयो । त्यसैले १४औं महाधिवेशनको अनुभवबाट सिकेर सबै नेताहरूलाई एकै ठाउँमा बस्नलाई सुझाव र दबाब दिएर हामी अगाडि बढ्छौं । त्यो पनि कहिलेसम्म भन्ने पनि होला । यसका लागि हामी निश्चित समयसम्म मात्रै यो अभियानमा हुन्छौं । किनभने १४औं महाधिवेशनका बेला भोलि ५ बजेसम्म मनोनयनको समय बाँकी रहँदा अघिल्लो दिनसम्म छलफलमै थियौं । त्यतिबेला हामीले भोगेको कुरालाई यस पटक करेक्सन गरेर सुरुदेखि नै नेतृत्वको विषयमा स्पष्ट भएर १५औं महाधिवेशनमा अघि बढ्छौं । अहिलेको हाम्रो जिम्मेवारी भनेको पार्टीलाई नै एक ढिक्का बनाउने हो । अहिले दिनप्रतिदिन चुनौती बढ्दै गएको छ । चुनौती झन् थपिनेवाला छन् घट्ने अवस्था छैन । २०७४ को चुनावमा कम्युनिस्ट पार्टी मिल्दा हामीले नतिजा व्यहोरका थियौं । त्यो हाम्रो स्मृतिपटमा अझै पनि बाँकी छ । कम्युनिस्ट पार्टीहरू मिल्नेबित्तिकै यहाँ केही न केही गाह्रो स्थिति सिर्जना भइहाल्छ । मिल्ने सम्भावना अहिले पनि छ । यसैगरी नयाँ पार्टीको जबर्जस्त उभार पनि देखिन्छ । पुराना पार्टीहरूले केही गरेनन् हामी गर्छौं भनेर आएका छन् । उनीहरूलाई भन्ने अधिकार पनि छ । लोकतन्त्रमा नयाँ पार्टी खोल्नु प्रतिस्पर्धामा आउनु सुखद नै कुरा हो । अब राजालाई ल्याउनुपर्छ भन्नेहरूको पनि तागत बढेको देखिन्छ । सडकमा उनीहरूको शक्ति क्षय भएको देखिँदैन । राजतन्त्र पुनस्र्थापना असान्दर्भिक भयो भनेर कसैले भन्छ भने सडकमा आएको आवाजलाई हामीले नजरअन्दाज गरेको हुन्छ । उहाँहरूको ठाउँबाट उभिएर हेर्दा त्यो विचार समूहमा पनि तर्क छ । तर, हामीले हेर्दा त्यसलाई तर्कविहीन देख्छौं । हामीले त समुन्नत प्रणाली ल्याएका छौं, दुनियाँले पत्याएको र सबैले विश्वास गरेको प्रणाली हो । योभन्दा उत्कृष्ट अर्को राजनीतिक प्रणाली नै छैन । खाली कतै लोकतान्त्रिक शासन प्रणालीमा राजाको उपस्थिति हुन्छ, कतै हुँदैन । राजतन्त्ररहित लोकतान्त्रिक गणतन्त्रमा हामी अहिले छौं । हिजो हामीले राजासहितको अभ्यास गरेका थियौं, त्यसले हामीलाई पुगेन । त्यसैले हाम्रो धरातलबाट उभिएर हेर्दा सबै कुराहरू तर्कपूर्ण देखिदैनन् । उहाँहरूको ठाउँबाट उहाँहरूले तर्कपूर्ण कुरा गरिरहनु भएको छ । त्यसैले च्यालेन्ज यति धेरै बढेको छ कि, पार्टीलाई एक ढिक्का बनाएर पार्टीलाई आन्तरिक व्यवस्थापन गरेर, संसद्लाई प्रभावकारी बनाउन पनि जरुरी छ । संसद्मा नेपाली कांग्रेसको उपस्थिति प्रभावकारी छैन । समाजमा हाम्रो उपस्थिति प्रभावकारी छैन । हाम्रा वारेमा सार्वजनिक रूपमा कार्यकर्ताहरूले प्रतिवाद गर्नका लागि अल्छी गरेका छन् । पार्टीका साथीहरूको जाँगर मरेको छ । सरकार बनाउनलाई दिनरात मेहनत गर्यो, जो सरकारमा जान्छ, सरकार उसको मात्र व्यक्तिगत हुन्छ । उनीहरूले राजनीतिक जागिर पाएको, आफ्नै बुद्धि र चलाखीले कार्यकर्ताको रगत पसिना र जिन्दगी छ भन्ने बिर्सिएका छन् । यी जम्मै कुराहरूलाई हेर्दा अहिलेको अवस्थामा पार्टीलाई नै एक ढिक्का बनाउन जरुरी छ । पार्टीको कार्यशैली परिवर्तन गर्नुपर्यो, अवस्थालाई हटाउनुपर्यो, भ्रातृ संस्थाहरू विधानविपरीत अजंगका भएका छन् । परिणाम केही निस्किँदैन ।
यो सरकार बनेको एक वर्ष पुग्दैछ, यसको समीक्षा कसरी गर्नुभयो ?
एकै लाइनमा । सरकार असफल भयो । प्रचण्डजीको नेतृत्वमा चलेको सरकार सफल छैन । कांग्रेसले सरकारमा आफ्नो उपस्थिति राम्ररी देखाउन सकेको छैन । र कुन मन्त्रीले के गरे भन्ने बहस सुरु गर्ने हो भने कसैले केही पनि गरेन भन्ने ठाउँमा जनता पुगेका छन् । हामीले पनि जनताकै बोली बोल्नुपर्छ । जनतालाई सिकाउनेभन्दा पनि उसले दैनिक जीवनमा जे कुरा भोगिराख्या छ, त्यही बोल्ने हो । कृषि प्रधान देश भन्या छ, न यहाँ सिँचाइ छ, न मल छ, न बिउ छ, न बस्तुको बजार, बिमा र उपकरण केही पनि पाएको छैन । अहिले भारतले कृषिमा ठूलो विकास गरिरहेको छ । चीन, अमेरिका, ब्राजिलको पछिपछि भारत दौडिराखेको छ । ठ्याक्कै नेपालको सीमापारि हेर्यो हरियाली छ भने यता वारि बैराग लाग्ने अवस्था छ । कहिलेकाहीँ धान लगायो भने वर्षैभरि बाँझै हुन्छ र गौचरणमा परिणत हुन्छ । यस्तो हुनुको दोष राज्यको नीति विहीनता हो । यहाँ किसानलाई पटक्कै संरक्षण छैन ।
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जतिसक्दो चाँडो प्रचण्ड नेतृत्वको सरकारलाई बिदा गरौं भन्नु भएको छ, कांग्रेसको धारणा अब यतातर्फ हो ?
त्यो पनि मलाई थाहा छैन । नेपाली जनताको तर्फबाट बोल्दा कुनै सरकारले परिवर्तन भएर बदलिएर, फेरिएर अहिलेको समकालीन राजनीतिक नेतृत्व छ नि त्यसले कुनै चमत्कार गर्दैन । अर्को सरकार पनि अहिलेकै सरकारको फोटोकपी हुन्छ ।
व्यवस्था त उत्कृष्ट यही हो, विकल्प के त ?
अघि मलाई सम्झाउनु भएको थियो नि, अहिलेका नेतृत्वका भोग पुग्यो भन्ने हो त्यही हो । यो राजनीतिक नेतृत्वले संघर्ष गर्यो, जेल गयो, त्याग र योगदान गर्यो, राजनीतिलाई डोर्यायो, सही राजनीतिक प्रणाली स्थापना गर्यो, त्यसैले अहिलेको अग्रज पुस्ताको भोग पुग्यो । अब उहाँहरूले संरक्षण गर्ने, सल्लाह दिने भूमिका निर्वाह गर्नुपर्छ । त्यसैले अब पुस्ता र पात्र परिवर्तन गर्न जरुरी छ । त्यसैले अहिलेका सबै राजनीतिक दलका शीर्ष भनिएका नेताहरूको विकल्प खोज्नतर्फ लाग्नुपर्छ र त्यसका लागि पुस्तान्तरण गर्नुपर्छ । राष्ट्र बनाउनका लागि कार्यसूची भएको दल या नेता चाहिन्छ । बीपी कोइरालाले राजासँगको संवादमा १५ वर्षमा मैले सबै नेपालीहरूलाई मेरो परिवार सरह आर्थिक जीवनस्तरको दृष्टिबाट बनाउँछु भन्नु भएको थियो । प्रजातान्त्रिक शासन प्रणालीका माध्यमबाट देशलाई प्रतिष्ठित, सुरक्षित र जनतलाई सुखी बनाउने बीपीको सपना थियो । त्यो कुरा उहाँले पूरा गर्न पाउनु भएन । अहिले नेपाली कांग्रेस पार्टी बीपीकै विचारमा हिँडेको हो भने, त्यो सपनालाई सार्थक बनाउनको निम्ति कार्ययोजना बनाएर हिँडेको भए (२०४८ मा सुरु गरेको भए) कम्तीमा मलेसियाको अवस्थामा पुगिसक्थ्यो । तर अहिले त देशको अवस्था झन् दयनीय बन्दै गएको छ । त्यसैले संकल्प भएको कार्यसूची भएको दलभन्दा पनि दललाई हाँक्न सक्ने ब्यक्तिको आवश्यकता नेपाली राजनीतिमा आवश्यक छ । नत्र मुलुक अगाडि बढ्ने सम्भावना देखिँदैन ।
प्रतिक्रिया