देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

पुस १ र पञ्चायतका भूतहरू 

देशान्तर

प्रजातन्त्रवादीहरूका लागि सबैभन्दा घृणित र अनिच्छित दिन हो, पुस १, त्यसैले नेपाली कांग्रेसले यो दिनलाई कालो दिनको रूपमा पनि स्मरण गर्दै आएको छ । १९९७ सालदेखिको जनआन्दोलन सफलतामा पुगेको दिन थियो २००७ फागुन ७ । सोही दिन नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भएको हो । प्रजातन्त्र स्थापनापछि निर्वाचन हुन ८ वर्ष लाग्यो । पहिलो निर्वाचनपछि बनेको बीपी कोइराला नेतृत्वको सरकारले काम गर्दै गर्दा तत्कालीन राजा महेन्द्रमा तानाशाहीको मोह पलायो । महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरी फेरि आफ्नो प्रत्यक्ष शासन सुरु गरेर प्रजातन्त्रको हत्या गरे । आज पुस १ गते, २०४६ को जनआन्दोलनबाट संसदीय प्रजातन्त्र र दोस्रो जनआन्दोलन २०६२/०६३ बाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि राजनीतिक स्थायित्व नहु“दा राजा महेन्द्रले जन्माएको पञ्चायतको भूतहरू सल्बलाएर पुनः राजतन्त्रको स्थापनाको माग बढिरहेको छ । 

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था सुरुवात गरेको ६३ वर्ष पूरा भएको छ । नेपाल तरुण दलको कार्यक्रममा सहभागी बीपीलगायतका नेतालाई त्यहींबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही सुन्दरीजल जेलबाटै बीपीले विभिन्न साहित्यिक सिर्जना गरेका थिए । 

पुस १ गतेको घटनापछि बीपीस“गै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

पुस १ प्रजातन्त्रको हत्या भएको दिन हो भने निर्दलीय पञ्चायती व्यवस्थाको जन्म भएको दिन पनि हो । राजा महेन्द्रले मुलुकमा दलीय व्यवस्था अन्त्य गरी पञ्चायती व्यवस्था सुरु गरेका थिए । राजावादीहरूले राजाले मुलुकको शासन व्यवस्था सम्हालेको दिन माने पनि गणतन्त्रवादीहरूले भने सोही दिनबाट नेपालमा राजतन्त्र अन्त्यको बीजारोपण भएको दिनको रूपमा पनि लिने गरेका छन् । राजाले पटकपटक प्रजातन्त्रमाथि प्रहार गरे पनि अन्ततः नेपालबाट राजतन्त्रकै उन्मूलन भयो । 

अहिले मुलुकमा राजतन्त्र छैन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । महेन्द्रपछि उनका दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्र राजा भए । महेन्द्रकै महŒवाकांक्षा ज्ञानेन्द्रले पनि देखाए, जसले राजतन्त्रको समूल अन्त्य गरिदियो । २०६२, ०६३ को जनआन्दोलनले राजतन्त्र नै अन्त्य गरिदियो । सदियौंदेखि चल्दै आएको राजतन्त्र समाप्त भयो । राजतन्त्र अन्त्य भएको पनि २३ वर्ष पुगिसकेको छ । 

अहिले फेरि राजा र राजतन्त्रको नाममा केही व्यक्ति तथा समूहहरू सल्बलाउन थालेका छन् । राजालाई देखाएर विगतमा सत्तामा बसेर देश र जनतालाई लुट्न बानी परेकाहरूले अहिले दलहरूले राम्रो गर्न सकेनन् भन्दै जनतालाई भड्काउने प्रपञ्च पनि रचिरहेका छन् । कोही पार्टीको नाममा, कोही राजाकै नाममा त कोही धर्मको नाममा दलीय व्यवस्था र खासगरी गणतन्त्रविरुद्ध नै जनतामा भ्रम छर्ने दुष्प्रयासमा लागेका छन् । पूर्वपञ्च तथा राजावादीहरूको दल राप्रपा र त्यसलाई समर्थन गर्ने केही समूहले अहिले व्यवस्थाविरुद्ध विषवमन गरिरहका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले पनि बेलाबेलामा सत्तामोह देखाउने गरेका छन् । दरबारबाट निकालिएका उनले दलीय व्यवस्था र गणतन्त्रविरुद्ध अभिव्यक्ति पनि दिने गरेका छन् । हु“दाखा“दाको शासन सत्ता गुमाएका ज्ञानेन्द्रलाई अहिलेको प्रणाली चित्त बुझ्ने कुरै भएन । त्यसैलाई आधार बनाएर केही समूहले रोटी सेक्ने काम गरेका हुन् । 

तर, ख्याल गर्नुपर्ने कुरा के हो भने व्यवस्थाविरोधी आन्दोलन सानो समूहबाटै सुरु हुने हो । विगतमा राणाविरोधी होस् राजाविरोधी आन्दोलन सानो समूहबाटै सुरु भएको थियो । ती आन्दोलनले विस्तारै जनआन्दोलनको स्वरूप ग्रहण गरेका थिए । संयोगले सबै आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको थियो । अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रमुख शक्ति हो, ठूलो दल कांग्रेस नै हो । नेपालमा लोकतान्त्रिक व्यवस्थाको जन्मदाता कांग्रेस नै हो, र यसको संरक्षण गर्ने दायित्व पनि कांग्रेसकै हो । अहिले व्यवस्था विरोधीहरू सल्बलाउन खोजिरहेको परिप्रेक्ष्यमा कांग्रेस थप संवदेनशील बन्नु पर्नेछ ।