देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा बल्झियो पुरानै रोग

देशान्तर

लोकराज अधिकारी ।

काठमाडौं । लामो विवाद र आलोचना पछि क्यालेन्डर (तालिका) बनाएरै चल्ने अठोटका साथ निर्णय गरेको नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसमा पुनः पुरानै रोग उजागर भएको छ । सभापति शेरबहादुर देउवाको अनिच्छाका कारण न त अघिल्लो बैठकमा गरिएको निर्णयअनुसार विभाग र भ्रातृ संस्थाहरू गठन भए भने तालिकाअनुसार केन्द्रीय समितिको बैठक नै बस्न सक्यो । महासमितिको बैठक दुई पटक सारेर तोकिएको पुस १६ गते आउन तीन सातामात्र बाँकी रहँदासमेत केन्द्रीय समितिको बैठक नबस्नु र एजेन्डाहरू तय नहुनुले पुनः सर्ने आशंका बढ्दै छ भने राष्ट्रिय राजनीति र जनजीविकाका सबालमा कुनै निर्णय लिन नसकेको भनेर कार्यकर्ता र केन्द्रीय सदस्यहरूले नै चर्को आलोचना गर्न थालेका छन् । तर, नेतृत्व भने यी सबै विषय थाहा नपाएको जस्तो ‘कानमा तेल हालेर’ बसेको अनुभूति सर्वत्र बढेको छ । 

बार्षिक क्यालेन्डरअनुसार पार्टी चल्ने भनेर बनाएको कार्यक्रमअनुसार कांग्रेस हिँडेको भए मंसिर १५ देखि माघ १५ सम्म (अहिले) दुई महिने घरदैलो अभियानमा हुन्थ्यो कांग्रेस । साउनको कार्यतालिकाअनुसार भदौ १५ भित्र सबै विभाग गठन र उक्त विभागलाई पूर्णता दिने भनिएको थियो । तर, ११ विभागको प्रमुख तोक्नेबाहेक अरू काम हुन सकेको छैन ।  भद्रगोल कांग्रेसलाई व्यवस्थित बनाउने र नेतृत्वलाई विधि र नीतिमा बाँध्नका लागि बनाइएको बार्षिक कार्यतालिका अनुसार कांग्रेसको केन्द्रीय समितिको दुई बैठक तोकिएकै समयमा भए पनि अबको अर्को बैठक भने अनिश्चित छ । 

कार्यतालिका अनुसार मंसिर २ गते केन्द्रीय समितिको बैठक सुरु हुनुपर्ने थियो तर यस बीचमा एक पटक पदाधिकारी बैठक बोलाएका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाउन चासो दिएका छैनन् । 

केही तत्काल आइपरेका भवितब्य र प्रकृतिजन्य कारण भए पनि मुख्य कारण नेतृत्वको अनिच्छा र सम्भावित आलोचनाबाट भाग्ने नियत देखिन्छ । बैठकमा सरकारको आलोचना हुने र मन्त्री फेरबदलको दबाब बढ्ने देखेर केन्द्रीय समिति बैठक टार्न खोजेका छन् । 

वर्तमान सरकारमा कांग्रेसका नौ जना मन्त्री सहभागी छन् । तर उनीहरूको कार्यसम्पादनप्रति पार्टीभित्रै असन्तुष्टि छ । देउवाले मन्त्री फेरबदलमात्र हैन सत्ता गठबन्धन परिवर्तनसम्मको दबाब आउने बुझेरै केन्द्रीय समिति बैठकलाई टार्न चाहेका छन् । 

इतरपक्षले वर्तमान सरकारको विकल्प खोज्नु पर्ने बताइरहँदा सहज सत्ता हस्तान्तरणका लागि प्रचण्डलाई फुक्काफाल हिँडन दिने देउवाको चाहना हो । उनी सकेसम्म अबको एक वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग पुग्ने गरी अघि बढ्न चाहेका छन् । 

विधानसम्मत ६ महिनामा बनाउनुपर्ने विभाग गठनमा कांग्रेस चुकेकै हो । साउनको कार्यतालिका अनुसार भदौ १५ भित्र सबै विभाग गठन र उक्त विभागलाई पूर्णता दिने भनिएको थियो । तर, ११ विभागको प्रमुख तोक्नेबाहेक अन्य काम हुन सकेन । अर्थात् विभाग गठनका विषयमा पनि विधान र क्यालेन्डर दुवै चुकेको छ । 

कांग्रेस विधानअनुसार, कार्यकारी भूमिकामा सभापति छन् । पार्टी विधानले महामन्त्रीभन्दा मुनिका पदलाई महत्वपूर्ण कार्यगत अधिकार दिएको छैन । सभापतिपश्चात् दुई उपसभापति र दुई महामन्त्रीलाई मात्र विधानले अधिकारको व्यवस्थापन गरेको छ । 

त्यसैले पार्टीको सफलता, असफलतामा पाँच पदाधिकारीको भूमिका महत्वपूर्ण हुने गर्दछ । केन्द्रीय सदस्य नैनसिंह महर चाहिँ सभापतिसहित पाँच पदाधिकारीमा व्यक्तिगत स्वार्थ हाबी हुँदा विधान कार्यान्वयन र पार्टी सफलताका एजेन्डा गौण बनिरहेको धारणा राख्छन् । 

“पार्टीको विधानले केन्द्रीय सदस्यदेखि सहमहामन्त्रीलाई सहयोगी भूमिकामा मात्र राखेको छ, कार्यकारी भूमिका दिएको छैन । त्यसमाथिका पदाधिकारीहरू आफैंले ल्याएको कार्यतालिकालाई बेवास्ता गर्ने काम भएको छ,” महर भन्छन्, “सबै व्यक्ति आफैं बलियो हुन लागेका छन् । संस्था बलियो बनाउन प्रयत्न गरेको देखिँदैन, अनि कसरी क्यालेन्डर लागू हुन्छ ?”

वास्तवमा पार्टी बलियो बनाउने हो भने सबैभन्दा धेरै जिम्मेवारी केन्द्रीय समितिको छ । अझ बढी सभापति शेरबहादुर देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिका चाहिन्छ । 

विधानसम्मत अधिकार पाएका यी पदमा आसीनहरूले काम गर्नुपर्ने हो । तर, आफैंले बनाएर केन्द्रीय समितिबाट पारित भएको महत्वपूर्ण एजेन्डाहरू लागू गराउन नसक्नु नेतृत्व असफलता हो । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल अन्तिम निर्णय गर्ने अधिकार पाएका पदाधिकारी र सभापतिमा कार्यतालिका लागू गर्ने विषयमा ‘सिरियसनेस’ नदेखिएको टिप्पणी गर्छन् । 

तदर्थवाद हाबी हुने पार्टी रूपान्तरण गर्न समय लाग्ने भन्दै उनी प्रणाली बसाउन समय लाग्ने रहेछ भन्ने पुष्टि भएको तर्क गर्छन् । 

“कि कार्यतालिका व्यावहारिक भएन कि संरचनामा कार्यतालिकामा सिरियस भएनन्,” पोखरेल भन्छन्, “प्रणाली लागू गर्न खोजिए पनि नसकेको देखिन्छ । कांग्रेसमा प्रणाली बनाउन समय लाग्ने भयो, तदर्थवादमा चल्ने पार्टी एकैपटक रूपान्तरण हुन्छ कार्यशैली परिवर्तन हुन्छ भन्ने हुँदो रहेनछ ।”

उनी अब कार्यतालिका बनाउँदा एकैपटक संरचना परिवर्तन गर्ने हैन कि विस्तारै रूपान्तरणका खाका निर्माण गरेर अघि बढ्नुपर्ने घटनाक्रमले देखाएको टिप्पणी गर्छन् ।